एउटा पधेरोमा दुई सय ७० घरधुरी निर्भर

सुजल श्रेष्ठ

Buddha International Hospital

प्युठान, माघ । मल्लरानी गाउँपालिका–२ चुँजा निवासी लालीदेवी घर्ति ७३ वर्ष पुग्नुभयो । विहे गरेर गाउँमा आएदेखि हालसम्म घर्तिले गाउँको ठुलधारा पधेराबाटै खानेपानी बोक्दै आइरहनुभएको छ । बुढेसकाल लागिसक्दासम्म गाउँमा खानेपानीको राम्रो व्यवस्था नहुँदा स्थानीय दुई सय ७० घरपरिवारले दैनिक खानेपानी समस्या भोग्दै आएका छन् ।

Advertise with us

अहिलेसम्म पानीको सुविधा भएन, घर्तिले भन्नुभयो, पिउने पानी र कपडा धुनका लागि पधेरो नै आउनुपर्छ । करिव एक घण्टा पैदल हिड्नुपर्ने पधेरामा गाउँका सवै मान्छे जाने हुँदा समयमै पालो नपाउने अर्को समस्या रहेको उहाँले सुनाउनुभयो । विहान साँझ पधेरामा निकै भीड हुने उहाँले बताउनुभयो ।

स्थानीय रुपा नेपालीलाई दैनिक पधेराबाट ६ गाग्री पानी बोकेर घर पु¥याउनुपर्छ । विहान साँझ मात्र नभएर दिउँसोमा पनि पानीका लागि दौडिनुपर्ने उहाँको भनाई छ । विहान चार बजेदेखि नै पधेरामा लाईन हुन्छ, उहाँले भन्नुभयो, पधेरा पुग्ने बाटो पनि अप्ठ्यारो छ ।

स्थानीयले विभिन्न चुनावका बेला नेताले घरघरमा पानीको धारा ल्याइदिने भन्दै झुटो आश्वासन दिएको गुनासो गर्छन् । चुनावमा गाउँ पुग्ने जो कोहि नेतालाई खानेपानीकै समस्या समाधान गर्न आग्रह गरेका थियौं, स्थानीय याम बहादुर केसीले भन्नुभयो, स्थानीयको समस्या जस्ताको तस्तै छ । गाउँको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो । स्थानीय सरकार देखि केन्द्र सरकारसम्म फाइल पेस ग¥यौ, उहाँले भन्नुभयो, अहिलेसम्म सम्वोधन हुन सकेको छैन ।

गाउँमा पानी अभावकै कारण स्थानीय माध्यमिक विद्यालयमा समेत समस्या रहेको शिक्षक ज्ञानहरी रिजालले बताउनुभयो । विद्यालयमा एउटा सानो धारा छ, उहाँले भन्नुभयो, विद्यार्थी पाँच सय बढी छन् कसरी पु¥याउने ? रिजाले पानीको अभावमा विद्यालयमा शौचालयको प्रयोग, सरसफाई र भौतिक पुर्वाधार निर्माणमा समेत समस्या हुने गरेको जानकारी दिनुभयो ।

गाउँमा सवैका घरघरमा शौचालय बनेका छन् । पानी अभावले शौचालय प्रयोगमा आउन नसक्दा पुनः गाउँमा दिसा देखिन थालेको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो, शिक्षक रिजालले भन्नुभयो, फेरी पुरानै अवस्था देखिन थालेको छ । शौचालय प्रयोगका लागि पधेरोबाट घण्टौ समय विताएर पानी ल्याउनुपर्ने भएकाले स्थानीयले शौचालयको प्रयोग कमगर्न थालेको उहाँको भनाई छ ।

हाल प्रयोग गरिरहेको पधेरोको पानीलाई व्यवस्थित गरेर लिफ्ट गर्न सके समस्या समाधान हुने स्थानीय नेता नारायण भट्टराईले बताउनुभयो । पाइपलाइनबाट आएको भुल्के मुहानको पानीलाई मर्मत अनि पधेरोको पानी लिफ्ट गर्नुपर्छ, उहाँले भन्नुभयो, मोटरबाटो खन्दा पधेरो पनि पुरिएको छ ।