सोनापुर सिमेन्टका टिप्पर : छुट्टै सडक नबनाउने, कालोपत्रे सडक खोज्दै हिड्ने ?

नवीन अभिलाषी

दाङ, जेठ ९ । दाङको सोनापुर सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ लिएर चल्ने टिप्परका कारण घोराही क्षेत्र आसपासका जनताहरु आजित बनेका छन् । उद्योगका लागि क्षमता भन्दा बढि कच्चा पदार्थ लिएर जथाभावि रुपमा सडक प्रयोग गर्ने गरेका कारण सर्वसाधारणहरु समस्या परेका हुन् । केहि दिन अगाडी घोराही उपमहानगरपालिका वडा नं. १३ बडहराका स्थानीयहरुले घर अगाडीको कच्ची सडक बन्द गरेपछि स्थानीय प्रशासनको सहमतीमा नयाँ बजार लखनपार्क दामोदर चौकको सडक प्रयोग गर्न थालिएको थियो ।

DG Mobile Dang

तर शुक्रबार घोराहीका स्थानीयबासीहरुले ट्रिप्पर सञ्चालन हुन नदिने भन्दै आवागमनमा रोक लगाए । घोराही उपमहानगरपालिका वडा नं. १३ बडहराको सडक पाँच वर्ष भित्र कालोपत्र्रे गरिदिने सहमती सहितको सर्तमा सिमेन्ट उद्योगले टिप्परहरु सञ्चालन गरेको थियो । तर ८ वर्षसम्म पनि सडक पिच नगरे पछि स्थानीयहरु त्यो बाटो प्रयोग गर्न दिएका छैनन् । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन सहितको छलफलबाट समेत सहमती नभएपछि घोराही उपमहानगरपालिका १४ र १५ को विच बजारको सडक प्रयोग गर्न थालेपछि उता पनि स्थानीयबासीहरु विरोधमा उत्रिएका हुन् ।

यो सडक पनि २०७१ सालमा टिप्पर सहितका ठुला साधनहरु सञ्चालन नहुने गरी त्यस अनुसारको क्षमताको सडक निर्माण गरिएको संगम टोल विकास संस्थाका अध्यक्ष गुरुप्रसाद कँडेलले जानकारी दिनुभयो । ‘ठुला क्षमताको सवारी साधनहर सञ्चालन गर्ने, टिप्परहरु चल्न नदिने भनेर २०७१ सालमा नै सहमती छ ।’ कँडेलले भन्नुभयो, ‘त्यसअनुसार सरकारको र उपभोक्ताको लगानीमा निर्माण गरेको सडक हो ।’ तर क्षमता भन्दा बढि टिप्परहरु चल्न थालेपछि सडक आसपासका घरहरु चर्किने, सडक जिर्ण हुने, रातभर ध्वनी प्रदुषण र दिनभर धुलो प्रदुषण हुने गरेको अध्यक्ष कँडेलले बताउनुभयो ।

टिप्पर व्यवसायी बेन्जु केसीले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नै दोषी भएको भन्दै जुन सुकै सडकको प्रयोगमा रोक लगाउने गरिएको बताउनुभयो । ‘सरकारले व्यवसाय गर भन्ने, तर व्यवसाय गर्न थाल्यो, विरोध गर्ने, अवरोध गर्ने ? यस्तो पनि हुन्छ ?’ व्यवसायी केसीले भन्नुभयो, ‘हामीले राज्यलाई कर तिरेका छौँ, तर सुविधा पाउनबाट हामीलाई बञ्चित गरिएको छ ।’

घोराही उपमहानगरपालिका वडा नंं १५ वडा सदस्य दिलिप डिसीले सोनापुर सिमेन्ट उद्योगले छिल्लीकोटको सडक प्रयोग गर्नुपर्ने भएपनि विच बजारका कालोपत्रे सडकहरु खोज्दै हिडेको बताउनुभयो । ‘सोनापुर सिमेन्टले छिल्लीकोटको बाटो बनाएर टिप्पर चलाउने सर्त छ, तर बडहराको सडक वर्षौसम्म प्रयोग गर्ने, त्यहाँ विरोध गरेपछि बजार आउने होकी आफ्नो सडक नाउने हो ?’ डिसीले प्रश्न गर्नुभयो । घोराहीका स्थानीय बासीहरुले दुई घण्टासम्म अवरुद्ध गरेका टिप्परहरु अवका दिनदेखि सञ्चालन नगर्ने सहमतीमा छोडीएको छ ।

लखनपार्कमा रोकिएका २९ वटा टिप्परहरु छोडीएको वडा प्रहरी कार्यालयका प्रमुख दिनेश रिमालले बताउनुभयो । वडा नं. १५ का सदस्य दिलिप डिसी, वडा नंं १४ का सदस्य लक्षुमन बुढा, प्रहरी निरिक्षक दिनेश रिमाल र स्थानीय टोल विकास संस्थाका प्रमुखहरुले अवका दिनदेखि बजारका भित्रि सडकहरु प्रयोग गर्न नपाईने भन्दै रोकिएका टिप्परहरु छोडीएको हो ।