कच्चा पदार्थ नपाउँदा घोराहीको कागजको झोला बनाउने उद्योग बन्द

जीतसागर जी.एम.

दाङ, ९ जेठ । घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको शान्ति पेपर ब्याग उद्योग करिब १५ दिन अघिबाट बन्द छ । लकडाउनले भारतको नयाँदिल्लीबाट ल्याउनुपर्ने कच्चा पदार्थ ल्याउन नसकेपछि उद्योग बन्द भएको हो । कागजको झोलाको माग बढ्दै गएको अवस्थमा कच्चा पदार्थ नपाउँदा उद्योग बन्द गर्नु परेको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले बताए । ‘उद्योग बन्द गरिसकेको छु, कच्चा पदार्थ नपाएपछि कसरी चलाउनु र ? उद्योग’ उनले भने–‘उद्योग बन्द भएपनि उद्योगमा रोजगारी पाएका श्रमिकलाई मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छु् ।’

DG Mobile Dang

२०७४ भदौ १ गतेबाट उत्पादन सुरु गरेको उद्योगका भोला जिल्लाका सहरहरू घोराही, तुलसीपुर, नारायणपुरलगायत स्थान तथा जिल्ला बाहिर पोखरा, धनगढी, मोरङ, वीरगन्ज, जनकपुरसम्म पठाउने जाने गरेका थिए । ‘मागअनुसार हामीले उत्पादन गरेर बाहिरी जिल्लासम्म पठाउने गरेका छौं’ उनले भने–‘दैनिक २ हजार ५ सयसम्म झोला उत्पादन गर्ने क्षमता रहेको छ, तर कोरोनाको महामारीले उद्योग अहिले धरासयी बनेको छ । ’

कागजबाट उत्पादन भएको झोलाको मूल्य साइज अनुसार ७ रुपैयाँदेखि १० रुपैयाँसम्म पर्ने गरेको छ । झोलामा ३ देखि ५ सम्म केजीसम्म बोक्न सकिनेछ । झोलामा कम्पनीहरूले आफ्नो नाम राखेर छाप्न सक्ने उनले बताए । ‘कागजकोे झोला बजारमा आएपछि प्लाष्टिकका झोला विस्थापित हुन्छन् भन्ने अपेक्षा थियो, तर अहिले आफै विस्थापित हुने अवस्थामा पुगेँ’ उनले भने–‘ यस्तै अवस्था अब कहिले सम्म रहने हो ? जसले गर्दा उद्योग धराशयमा पुग्नेदेखि श्रमिकको रोजिरोटी गुम्ने अवस्था छ ।’

सुरुका दिनमा हातले उत्पादन सुरु गरेका उनले अहिले मेसिनबाट उत्पादन गर्ने सुरु गरेका थिए । यसका लागि उनले करिब २८ लाखसमेत लगानी गरेका थिए । ‘मेसिनबाट झोला उत्पादन गर्ने थालेपछि सहजता भएको छ’ उनले भने–‘सुरुका दिनमा धेरै चुनौतीहरू थिए, अहिले फेरि कोरोनालाई अर्को चुनौति थप्यो ।’ सुरुमा सार्थीहरूसँगै मिलेर सञ्चालनमा ल्याए पनि अहिले उनी एक्लै उद्योग सञ्चालन गर्दै आएका छन् ।

‘सार्थीहरूले छोड्दै जानुभयो अहिले एक्लै सञ्चालन गदै आएको छु’ उनले भने–‘सुरुका दिनमा कतिपय स्थानमा सामान पठाए पनि हालसम्म पनि रकम पाउन सकेका छैनन् । ‘ऋण लिएर सुरु गरेको उद्योगमा काम गरेको रकम नपाउदा थप समस्या परेको थियो, झनै अहिले उद्योग नै बन्द हुने स्थितिमा पुग्यो’ उनले भने–‘सरकारले हामीजस्ता साना उद्योगीको पनि कुरा सुनिदियोस्, ताकि फेरि हामीले अझै धेरै जनालाई रोजगार दिन सकियोस्, विदेशीने युवालाई स्वदेशमै रोक्न सकियोस् ।’

उनले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका छन् । आफूसँगै उनले अहिले ८ जनालाई रोजगारसमेत प्रदान गरेका छन् । प्लास्टिकको विकल्पमा यसको प्रयोग गर्नुपर्छ भनेर आफू कागजको झोला उद्योगतर्फ आकर्षण भएको उनले बताए । ‘प्लास्टिकको अत्याधिक प्रयोगले वातावरण प्रदूषणसमेत भएको छ’ ठकुरीले भने –‘यसको विकल्पमा कागजको झोला प्रयोग गर्न सकिन्छ भनेर हामीले कागजको झोला बनाउने उद्योग स्थापना गरेका हौँ ।’

प्लास्टिकको झोलाभन्दा रकममा केही महँगो भए पनि वातावरणको हिसावले राम्रो उपयुक्त रहेको उनको भनाइ छ । आफ्नो स्थानमा नै केही नया काम गर्नुपर्छ भनेर यसतर्फ लागेको उनले बताए । ‘यस क्षेत्रमा कागजबाट झोला उत्पादन गर्ने उद्योग पहिलो उद्योग हो’ ठकुरीले भने–‘आफू भारतमा बस्दा कागजको झोला निर्माण गरेको देखेको र नेपालमा पनि यस प्रकारको काम गर्न सकिन्छ’

उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ भने भारतबाट ल्याउने गरेका छन् । भारतबाट कच्चा पदार्थ ल्याउनु पर्दा समस्या भएको उनले बताए । ‘माग गरिएपनि समयमा कच्चा पदार्थ आउँदैन’ठकुरीले भने–‘कच्चा पदार्थ आउन ढिला हुँदा अर्डर आएको समयमा प्रदान गर्न सकिदैँन, अहिले झनै लकडाउनले समस्या बनायो ।’