प्रदेश ५ ले ल्यायो कोरोना विशेष कार्यक्रम

कोभिड विशेष कृषि कार्यक्रमदेखि कोरोना अस्पतालको क्षमता बढाउनेसम्मका

दाङ, जेठ १ । प्रदेश ५ सरकारले कोरोना विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले कोभिड विशेष कृषि कार्यक्रमदेखि कोरोना अस्पतालको क्षमता बढाउनेसम्मका निर्णय गरेको छ ।

बैठकले कोभिड–१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने र यसका लागि ५१ करोड १४ लाख रुपैंया छुट्याउने निर्णय गरेको छ । यो कार्यक्रमको रकम साउन मसान्तसम्म खर्च हुने बैठकले निर्णय गरेको छ । प्रदेश ५ मा कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाख रुपैंया, गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने बेमौसमी आलु उत्पादन कार्यक्रमका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

Buddha International Hospital

कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेका किसानहरुका लागि प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने उक्त कार्यक्रमबाट ५ सय किसान लाभान्वित हुने केसीले जानकारी दिनुभयो । त्यस्तै दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम जिल्लामा व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्ने र यो कार्यक्रमबाट ७ हजार कृषक लाभान्वित हुनेछन् । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको कृषकलाई मल र बीउका लागि प्रतिरोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च गर्ने बैठकले निर्णय गरेको छ ।

Advertise with us

कोभिड–१९ का कारण विदेशबाट फर्केका युवाहरुका लागि र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । प्रदेशका १ सय ९ वटै पालिकामा सञ्चालन गर्ने कार्यक्रमका लागि मल विषादी, स–साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माणका लागि प्रतिकिसान २० हजारका दरले सहयोग गर्ने भन्दै बैठकले १० हजार ९ सय युवाहरुलाई यस कार्यक्रमबाट लाभान्वित गराउने निर्णय गरेको छ ।

२ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने गरी ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड खर्च गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया खर्च गर्ने निर्णय गरिएको छ । यस कार्यक्रममा दूध उत्पादनको विगत आठ महिनाको बिक्री तथ्याङ्क हेरी लकडाउनको ४० दिनको प्रतिलिटर १० रुपैंयाका दरले अनुदान दिइने छ ।

प्रदेशका सबै जिल्लामा बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया खर्च गर्ने निर्णय बैठकले गरेको छ । साथै बैठकले प्रदेश स्वास्थ्य नीति–२०७७ र स्वास्थ्य नियमावली स्विकृत गरेको छ । रोल्पामा बम विष्फोटनमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने, जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने, बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने, बुटवलमा २ सय बेड थप्ने, भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा बिरामी पठाउने निर्णय गरेको छ ।

बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने, त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो ।

Advertise with us