दाङमा खेत मै सुके उखु

दैनिक बिक्री गर्दा पनि सबै सकिन चार महिना लाग्ने उक्त ठाउँको उखु अहिलेसम्म १० प्रतिशत मात्र बिक्री भएको छ ।

दाङ, वैशाख ३० । दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको छ । गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको उहाँले बताउनु्भयो ।

उहाँले रोल्पाबाट गैरागाउँमा आएर पाँच वर्षदेखि सालाभेना गेमी उखु फार्मबाट जुस बिक्री गर्दै आउनु भएको छ । ‘आफ्नै फार्मबाट जुस बनाएर बिक्री गरेको थिएँ, जिल्लाका अन्य बजारबाट पनि जुसका लागि उखु लिन व्यापारीहरु आउँथे तर अहिले व्यापारै छैन’, बुढाले भन्नुभयो । यस वर्ष उखु सुक्ने बेला भइसक्यो तर बिक्री भएको छैन । चिनी मिलमा पठाउँदा एक किलोको रु पाँचका दरले पु¥याइदिनुपर्ने भएकाले झनै घाटा हुने उहाँको गुनासो छ । ‘अब लकडाउन खुला होला र बिक्री गर्न पाइएला भनेको संक्रमण बढिराछ, यस वर्ष जग्गाको भाडा पनि कसरी तिर्ने भन्ने पो चिन्ता भयो’, बुढाले भन्नुभयो ।

Buddha International Hospital

वार्षिक रु ६० हजार बिघाको दरले आठ बिघा जमीन भाडामा लिएर उहाँले खेती गर्दै आउनु भएको छ । गत वर्ष महिनामा दैनिक रु आठदेखि दश हजारसम्मको रस बिक्री गरेका बुढाको अहिले दिनमा मुश्किलले रु एक हजार मात्रै कारोवार हुने गरेको छ ।

Advertise with us

डम्मरजस्तै रुकुमबाट गैरागाउँमा आएर उखुखेती गर्दै आएका मनराज बाँठाको पनि अवस्था उस्तै छ । विसं २०७२ देखि उखुखेती गरेर बस्नुभउका बाँठाको ६ बिघा जमीनमा उखु बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीले खेतमै सुक्न थालेको छ । उहाँ पनि प्रतिबिघा वार्षिक रु ६० हजार जमीनको भाडा तिदैं आएका छन् । घोराही, नारायणपुर, तुलसीपुर, लमही र भालुबाङका जुस सेन्टरका व्यापारी उहाँका ग्राहक भए पनि बन्दाबन्दीले उखु नै बिक्री नभएको बाँठाको भनाइ छ ।

दैनिक बिक्री गर्दा पनि सबै सकिन चार महिना लाग्ने उक्त ठाउँको उखु अहिलेसम्म १० प्रतिशत मात्र बिक्री भएको छ । ‘बिक्रीको सिजनमा दैनिक १० हजारको बिक्री हुन्थ्यो तर अहिले जग्गाको भाडा कसरी तिर्ने हो थाहा छैन’, बाँठाले भन्नुभयो । लकडाउनकै समयमा पनि दिनमा १५ /२० जना रस खानका लागि आउने गरेको उहाँले बताउनुभयो ।

घोराही बजारको नजीकै भएका कारण जुस पिउनका लागि साँझ र बिहान भीडभाड हुने गैरागाउँ अहिले सुनसान देखिन्छ । सात किसानले ५० बिघामा लगाएको उखु फागुन महिनादेखि बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीका कारण खेतमै सुक्न थालेको छ । किसानले उखु बिक्री नहुँदा भाडा तिर्न समस्या भएकाले स्थानीय सरकारसँग सहुलियत दिन माग गरेका छन् ।

Advertise with us