अपरिचित टेलिफोन नम्बर

डा. संगीता स्वेच्छा

रातको एघार बजे प्रतिघण्टा पचास माइलको गतिमा आइरहेको हुरीले रूखहरू ढाल्नेछन्, फूलहरू सबै मार्नेछन् भन्ने महसुस भइरहेको थियो ।

लिली घर पछाडि गराजतिरबाट लुकेर विस्तारै ढोका उघार्दै घरमा पस्छिन् । उनकी आमा सजना पनि विस्तारै भर्‍याङ ओर्लेर तल झर्छिन् । १५ वर्षकी छोरी यसरी राति ११ बजे त्यो पनि हावाहुरी चलेको बेला लुकीछिपी घरभित्र पस्नुलाई उनले राम्रो त अवस्यै मानेकी छैनन् ।

DG Mobile Dang

‘लिली, कहाँ गएर आएकी ?’

लिलीबाट कुनै जवाफ आएन ।

‘फोन देऊ मलाई । यसैले हो तिमीलाई बिगारेको ।’

सजनाले लिलीको हातको फोन जोडले तानिन् अनि रीसले अलि फड्फडाइन् । लिली केही नबोली कुद्दै भर्‍याङ चढेर आफ्नो कोठामा पसिन् ।

लिलीलाई समातेर दुई चड्कन हानुजस्तो नलागेको होइन, तर सजना मौन छिन् । उनलाई भएकी एक्ली छोरी घर छोडेर जालिन् भन्ने चिन्ता हुने गर्छ । लिलीको उमेर पनि त्यस्तै छ । फेरी हलक्क बढेकी उनी मात्र १५ वर्षकी भएपनि पुरै जवान देखिन्छिन् । मान्छेहरुले झट्ट हेर्दा उनको उमेर १८ वर्षभन्दा कम आँक्दैनन् ।

पाँच फिट आठ इन्च अग्ली लिलीलाई गहुँगोरो वर्ण, ठुल्ठूला नीला आँखा र चिटिक्क परेको नाकले निकै सुन्दर पारेको छ । उनको रूप, मीठो बोली र सरल बानी ब्यवहारबाट केटा सहपाठीहरु प्रभावित नहुने कुरै भएन ।

बेलायत जस्तो ठाउँमा यो उमेरमा ब्वाईफ्रेण्ड हुनु कुनै नौलो कुरा त थिएन तर लिलीकी नेपाली आमा अझै वि्रटिश बन्न सकेकी थिइनन् ।

सजना १६ वर्षदेखि बेलायतमा छिन् । १७ वर्ष अगाडि नेपाल घुम्न गएका ब्राएनसँग विवाह गरी बेलायत आएकी उनी कागजी रूपमा त ब्रिटिश नै हुन् तर मानसिक तवरमा अझै नेपाली नै छिन् । उनको हिसाबले १५ वर्षकी छोरीको ब्वाईफ्रेण्ड हुनु खासै उचित थिएन ।

लिलीको कोठाको ढोका बन्द थियो । बाहिरको हुरीले त सजनाको मन विचलित बनाएकै थियो, त्यसमाथि छोरीको मौनताले पोल्न थाल्यो ।

धेरै दिनदेखि सजनाले छोरीको मोबाइल र ल्यापटप खोतल्ने सोच बनाएकी थिइन् तर लिलीले न ल्यापटप कहिल्यै घरमा छोडिन् न त मोबाइल फोन नै । छोरी बिगि्रएली भन्ने डरले सजनालाई सताइरहन्छ । समय मिलाएर छोरीलाई सम्झाउन पाए उनी आफूलाई धन्य ठान्थिन् । तर, समयले त्यस्तो वातावरण नै बनाइसकेको थिएन ।

लिलीको कोठामा बत्ती बलेको बल्यै थियो । उनी भने लुगा पनि नफेरि जिन्स लगाएरै पलङ्गमा पल्टिसकिछन् ।

‘छोरी, सुतिसक्यौ ?’ सजनाले हल्कासँग कपालमा स्पर्श गर्दै सोधिन् ।

लिली मस्त निदाइरहिन् ।

बाहिर अझ तीव्र बनिरहेको हुरीमा कुकुरहरुको एकतमासको भुकाई मिसिएको थियो । सजनाको मनमा अनेक कुरा खेल्न थाल्छन् । कहिल्यै बत्ती नजाने बेलायतमा १७ वर्षमा पहिलोपल्ट बत्ती निभ्यो ।

निकै नमिठो समय थियो यो सजनाको लागि । उनले थोरै उज्यालोको आशामा छामछुम गर्दै लिलीको मोबाइललाई थिचिन् । अपरिचित नम्बरबाट १५ मिनेटभित्र २० मिसकल देख्दा उनी झस्किइन् । सजनाले लिलीलाई झक्झकाएर केरकार गर्ने अनि अहिल्यै सब कुराको चिरफार गरेर स्वास लिने ठानिन् । तर, राति १२ बजे छोरीलाई उठाउनु उचित हुँदैन भन्ने ठानेर आफैं अन्योलमा परिन् ।

उनले एकटक लाएर लिलीको निदाएको अनुहार हेर्दै सोचिरहिन्- के आमालाई छोरीबारे जान्ने अधिकार छैन ? के म उसकी आमा होइन ?

सबैले लिलीको लाम्चो अनुहार आमाको जस्तै छ भन्छन्, तर सजनालाई आफू सुन्दर छु भने कहिल्यै लागेन । लिलीले अग्लो कद र नीला आँखाहरू बुवाबाट पाएकी थिइन् ।

यत्तिकैमा बत्ती पनि आयो । छेउकै ऐनामा सजनाले आफूलाई नियालिन् ।

आफ्नो जीवन उदेकलाग्दो लाग्छ सजनालाई । उमेरले चालीस कटिसकेकी सजनाको बढ्दो उमेरसँग आत्मबल भने बढेको छैन । आफ्नै छोरीलाई एक-दुई प्रश्न गर्न पनि उनी हिचकिचाउँछिन् ।

‘तिमी डरपोक हौ । तिमी जन्म र कर्म दिने आमा भएपनि कर्त्व्यमा तिमी पछाडि नै छौ ।’

ऐनाको आफ्नै प्रतिविम्वले बोलेझैं लागेर सजना झस्किइन् । त्यसै पनि उनलाई बेला-बेला डर लागिरहन्छ- असफल पत्नी झैं असफल आमा नकहलाऊ… ।

सजनाले लामो स्वास फेरिन् अनि लिलीको मोबाइलमा आएको अपरिचित नम्बरमा डायल गरिन् । उनलाई छोरीलाई राति उठाएर फोन गर्न लगाउनुभन्दा आफै पत्ता लगाउनु ठीक हुने लागेको थियो, तर पुरै घन्टी बज्दा पनि फोन उठेन ।

०००

हुरीले उडाएका आफ्ना गुँड र हराएका वन्धुबान्धव खोज्दै चराहरु चिरबिर-चिरबिर गर्न थाले । राति केही नभएजस्तो गरी घाम चाँडै झुल्किएर कोठाहरू उज्याला देखिए ।

हातमा चियाको कप लिएर सजना सोचिरहिन्- बगैंचामा कति फूलहरू मरे होलान्, एक-दुई वटा रूख पनि ढले होलान् ।

लिली अझै उठेकी थिइनन् । सजनालाई बाहिर हुरीले गरेको बिनाशभन्दा छोरीको बढी चिन्ता छ । उनलाई छोरी उठेपछि घर पछाडिबाट लुकेर आउनुको कारण र मोबाइलमा आएका अनगिन्ति नम्बरबारे जान्नु छ ।

०००

‘ट्रिङ….ट्रिङ….’

कलबेल बज्छ । एकाबिहानको कलबेलले लिली पनि ब्युँझन्छिन् । सजना फटाफट ढोका खोल्न पुग्छिन् । बाहिर ३-४ जना पुलिस देखेर झस्किइन् ।

लिलीले केही गल्ति गरिन् कि… ? ड्रग्सको लतमा त लागिनन्… ? कतै केटाहरूले राति…..।

सजनाको मनमा अनेक आशंका उब्जिए ।

‘यस प्लीज…’ ढोका खोलेर पुलिसतिर हेर्दै उनले सोधिन् ।

‘तपाईंको घर अगाडि एक्सिडेन्ट भएको छ । गाडि चालक मृत अवस्थामा छ । यहीबारे बुझ्नु थियो ।’

‘ह…हजुर ? कति डरलाग्दो घटना !’ आत्तिएको स्वरमा सजनाले भनिन् । उनका आँखाहरू फड्फडाएर आए ।

‘तपाईं चिन्नुहुन्छ कि ? बाहिर आएर हेर्नुहुन्छ ?’

‘म चिन्छु होला र… ? सडकमा त थुप्रै गाडिहरू गुड्छन् ।’ यति भनेर पुलिसलाई मद्दत गर्ने हेतुले चप्पल मै फटाफट बाहिर निस्किइन् । लिली आमाको अगाडि कुदिन् ।

‘घटना राति बाह्र बजेको हो । राति नै उद्धार गर्न सकेको भए बाँच्थ्यो होला,’ अग्लो चाहिँ पुलिसले भन्यो ।

लिलीले परैबाट गाडि चिनिहालिन् । उनी रातिको तुफानकै वेगमा कुदिन् । सजना पनि पछ्याउँदै कुदिन् । लिली गाडिभित्र हेर्दै भक्कानो फुटाएर रून थालिसकेकी थिइन् ।

छोरीको रूवाई, चिच्याहट सुनेर, आँसु देखेर कुन आमाको मन दुख्दैन होला । सजनाको मन पनि एक्कासि दुख्यो ।

शायद लिलीको ब्वाईफ्रेण्ड हो । मनको शंका कतै साँचो त होइन ? तर, सजना कसैको लागि पनि यस्तो घटनाको कल्पना गर्न सक्दिनन् । अवश्य उनी छोरीको बारेमा चिन्तित थिइन् ।

उता लिलीको आर्तनादले मृतकसँगको घनिष्ठता प्रकट गर्दै थियो । सजनाले डराउँदै जब गाडिभित्र चियाइन्, उनको पनि हंशले ठाउँ छाड्यो ।

०००

क्रोयडनको अस्पतालमा सजनाको होस खुल्यो । उनी कसरी अस्पतालमा पुगिन्, याद गर्न थाल्छिन् । त्यती नै बेला उनको आँखा बेडमा छाडिएको खाममा पर्छ । त्यसभित्र राखिएको नोट पढ्दा उनलाई सपना हो कि विपना, छुट्याउन गाह्रो पर्छ । नोट पढ्दै जाँदा उनी काम्न थाल्छिन् ।

‘आमा तपाईंलाई होस आइसकेको छ । मलाई विस्वास छ, तपाईं चाँडै ठीक हुनुहुनेछ । तर, अब मलाई नखोज्नु होला । म आफ्नी आमालाई माया गर्छु तर मेरो बुवाको मृत्युको कारण चाहेर वा नचाहेर पनि तपाईंसँगै जोडिन आउँछ । मैले मेरो बुवाको उद्दार गर्न सकिनँ । मलाई फोन गर्दागर्दै बुवा यो संसारबाट विदा हुनुभयो । हिजो मेरो मोबाइल नलुटिएको भए आज मेरो बुवा जिवितै हुनुहुन्थ्यो । शंकाले लंका जल्छ भन्नुहुन्थ्यो नि आमा….शायद त्यही भयो ।’

कति सजिलै लिलीले एउटा नोट लेखेर आफ्नी आमालाई त्यागिदिइन् !

पाँच वर्षको उमेरदेखि एकल आमा भएर एक्लै हुर्काएर १५ वर्षकी बनाइन्, तर लिलीको फोन खोसेर राख्नु उनको गल्ति भयो । लिलीले ड्याडी अथवा ब्राएन भनेर नम्बर सेभ गरेकी भएपनि त हुन्थ्यो नि Û

उनले ब्रायनसँग छ वर्ष बिताएकी थिइन् । ब्रायनको लागुऔषध दुर्व्यसन र जेल यात्राले उनीहरुको दाम्पत्य जीवन अस्तव्यस्त बनाएको थियो । पारपाचुकेमा सम्बन्ध टुटाएर सजनाले छोरीलाई पनि सकेसम्म ब्रायनबाट टाढै राखेकी थिइन् । उनको मनमा ब्रायनको माया भने अझै मरेको थिएन ।

पछि ब्रायनले इटलीमा अर्को दुई विवाह गरेको यदाकदा सुनेपनि खासै जानकारी थिएन सजनालाई । छोरीसँग ब्रायनले गरेको भेटघाट बारे त उनी बिल्कुलै अनभिज्ञ थिइन् । अब त ब्रायनको मृत्युसँगै उनको अतित मरेको छ, छोरीले घर छोडेकाले वर्तमान पनि अन्यौलमा परेको छ ।

– बेलायत