नारायणपुरमा तीन खानेपानी आयोजना

Advertise with us

दाङ, माघ । नारायणपुर क्षेत्रका सात हजार बढि घरधुरी लाभान्वित हुने गरी खानेपानीका विभिन्न आयोजना सुरु भएका छन् । एउटा आयोजना अन्तिम चरणमा पुगेको छ भने दुई वटा आयोजनाको निर्माण कार्य सुरु भएको नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बताएको छ ।

Buddha International Hospital

Advertise with us

समितिले अहिलेपनि १ हजार ६ सय घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्दै आएको छ । ‘२०५८ देखि सञ्चालन भएको नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ठुला आयोजनाहरु २०७० साल देखि मात्रै सञ्चालन गर्न थालेको हो । सहलगानी आयोजना अहिले अन्तिम चरणमा पुगेको छ ।’ समितिका अध्यक्ष कुलप्रसाद रजौरेले भन्नुभयो, ‘अहिले थप दुई वटा क्रमागत आयोजना अन्र्तगत सुरु भएका छन् । अहिले नारायणपुर क्षेत्रका करिब १ हजार ६ सय घरधुरीमा खानेपानी पु¥याएका छौँ ।’

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतको सहलगानीमा निर्माण भएको नारायणपुर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाबाट ३ हजार २९ घरधुरी र १४ हजार ८५ जनसंख्या लाभान्वित हुने अध्यक्ष रजौरेले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नं. ८, ९, १०, ११ र १२ का विभिन्न टोल तथा गाउँमा खानेपानी पु¥याउने उदेश्यले निर्माण गरेको आयोजनाको लागि १५ करोड, १४ लाख, १९ हजार २ सय ३२ रुपैया खर्च भएको छ ।

आयोजना अन्र्तगत ४ लाख ५० हजार लिटरको एउटा ओभरहेड ट्यांकी २ लाख लिटरको एउटा अण्डरग्राउण्ड ट्यांकी, फिल्टर मेसिन, कम्पाउण्ड पर्खाल र भवन निर्माण भएको छ । यस्तै ४ वटा डिपबोरिङ र ६३ किलोमिटर पाईपलाईन विस्तार भएको समितिले बताएको छ ।

समितिका अनुसार अहिले क्रमागत आयोजना अन्र्तगत दुई वटा आयोजना सुरु भएको छन् । ३ हजार पाँच सय घरधुरीलाई पानी खुवाउने योजना सहित २०७० साल देखि नै सुरु भएको आयोजना पाँच वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ, यो आयोजनाको काम अहिले जारी अबस्थामा रहेको समिति अध्यक्ष सचिव सन्तोष केसीले जानकारी दिनुभयो । १५ करोड २० लाख २८ हजार २ सय ७७ रुपैयाको लागतमा सुरु भएको आयोजनाको अहिले सम्म ४ लाख ५० हजार लिटर क्षमताको एउटा ओभरहेड एउटा ट्याँकी निर्माण भएको छ भने ३५ लाख रुपैयाको लागतमा कम्पाउण्ड समेत निर्माण भएको समितिले बताएको छ ।

ठेकेदार मार्फत सुरु भएको आयोजनाका लागि उपभोक्ताहरुले एक प्रतिशत मात्र योगदान गर्नुपर्ने रहेको उहाको भनाई छ । यस्तै नारायणपुर खानेपानी मर्पाडाँडा आयोजना पनि गत आर्थिक वर्ष देखि सुरु भएको समितिले बताएको छ । ८ सय ५० घरधुरी लाभान्वित हुने आयोजना निर्माण सम्पन्नका लागि ८ करोड बजेटको आंकलन गरिएको छ । ३ वर्ष भित्र सम्पन्न हुने आयोजनाको अहिले सम्म कम्पाउण्ड निर्माणका लागि १० लाख खर्च भएको छ भने १९ लाख ६५ हजार २ सय रुपैयाको खर्चमा एउटा डिपबोरिङ निर्माण भएको समितिका अध्यक्ष रजौरेले बताउनुभयो ।

नारायणपुर खानेपानी तथा सरसफाई समितिले सोमबार एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर आयोजनाको बारेमा छलफल समेत गरिएको छ । समितिका अध्यक्ष कुलप्रसाद रजौरेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गौतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।