तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

दीपक बोहरा
लमही, ५ माघ (रासस) ः दाङ तुलसीपुर कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका छन् । कारागारमा रहेका कुल ४११ कैदीबन्दीमध्ये १४१ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका निमित्त जेलर जोखिम वलीले जानकारी दिनुभयो ।

Buddha International Hospital
Advertise with us

त्यस्तै कुल कैदीबन्दीमध्ये ९५ कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये ८६ पुरुष र सात महिला कैदीबन्दी छन् भने एक पुरुष र एक महिला थुनुवामा रहेका छन् ।

यसैगरी लागुऔषधका ६० जना रहेका छन् । तीमध्ये ५५ पुरुष कैदी छन् भने दुई कैदी र तीन थुनुवा गरी पाँच महिला छन् । त्यस्तै अपहरणका १९, चोरीका १८, बहुविवाह, जिउ मास्ने, डाँका÷चोरीका १५÷१५ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनका अनुसार, ज्यान मार्ने उद्योगका छ, ठगीका पाँच, सवारी ज्यानका पाँच, गौवधका तीन, अप्राकृतिक मैथुनका दुई, आललागीका तीन, वन पैदावारका तीन, सार्वजनिक अपराधका दुई, अङ्गभङ्गका एक र अन्य दुई जना कैदीबन्दी कारागारमा रहेका छन् ।

पाँच बालबालिका आश्रित

कारागारमा पाँच बालबालिका आश्रित छन् । तीमध्ये चार बालिका र एक बालक छन् । उनीहरु सबै पाँच वर्षमुनिका रहेको निमित्त जेलर वलीले बताउनुभयो । उहाँले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका दुई अभिभावकका बालिका, बहुविवाहका दुई अभिभावकका बालिका र एक अभिभावकका बालक कारागारमा आश्रित रहेको उहाँले जानकारी दिनुभयो ।

सात विदेशी कैदी

कारागारमा सात विदेशी कैदी रहेका छन् । तीमध्ये अधिकांश भारतका छन् । जबर्जस्ती करणीका तीन, लागुऔषधका दुई, अपहरणका एक, जिउमास्ने उद्योगका एक कैदी गरी सात विदेशी कैदी रहेको निमित्त जेलर वलीले जानकारी दिनुभयो । खुला सिमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको उहाँको भनाइ छ ।

कारागारमा समस्या छैन

कारागारको नयाँ भवन निर्माण भएपछि यहाँ ठूलो तथा विकराल समस्या नरहेको निमित्त जेलर वलीले बताउनुभयो । उहाँका अनुसार विसं २०३६ मा स्थापना भएको पुरानो भवनमा १०० र विसं २०७४ मा सञ्चालनमा आएको नयाँ भवनमा २०० जनाको क्षमता रहेको छ । तर अहिले ४११ कैदीबन्दी रहेको भए पनि त्यति समस्या नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार पुरानो भवनमा १३७ पुरुष र ३२ महिला गरी कुल १६९ कैदीबन्दी रहेका छन् । त्यस्तै नयाँ भवनमा २४२ पुरुष कैदीबन्दी रहेका छन् ।

महिला चिकित्सक नहुँदा समस्या

कारागारमा महिलाको स्वास्थ्य जाँचका लागि महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन् । “पुरुषका लागि चिकित्सक हुनुहुन्छ, तर महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ”, एक महिला कैदीले भनिन्् ।

त्यस्तै पुरानो कारागारमा शौचालय नभएको, कैदीबन्दीले बनाएका मुडा, ढाँकाको टोपी, पर्स, सिरकडसनालगायतले मूल्य नपाएको गुनासो गरेका छन् । कैदीबन्दीले अफ्नो दैनिक पारिश्रमिक पनि बढाउनुपर्ने माग गरेका छन् । उनीहरुको अहिले पारिश्रमिक दैनिक रु ६० रहेको र उक्त पारिश्रमिकले एक छाक खान नपुग्ने बताउनुभयो । “दैनिक रु ६० पारिश्रमिकको रुपमा सरकारले छुट्याएको थियो”, उनीहरु भन्छन्, “उक्त पैसाले हामीलाई बिहान रु ३० र साँझ रु ३० ले खाना खानुपर्छ, तपार्इं आफँै भन्नुस्, रु ३० को खाना कस्तो हुन्छ ।”

कारागारभित्र पनि धेरै कैदी पढ्न इच्छुक भए पनि त्यसको व्यवस्था नभएको र वकिलको सहज पहुँच नहुनेजस्ता समस्या रहेको उनीहरुको भनाइ छ ।
–––

Advertise with us