प्रतिष्ठानमा मनोमानी

Advertise with us

 

Buddha International Hospital

दाङ, माघ  । पत्रकार तथा गायक प्रेमविवश घर्ति मोटरसाईकल दुर्घटना पछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका जिल्लाका पत्रकार दुव्र्यवहार र अपमानित भएर फर्किए ।

Advertise with us

माघ १ गते बेलुका सवा ५ बजे दुर्घटनामा परेर हातमा गम्भीर चोट लागेका पत्रकार घर्तिको साडे ८ बजेसम्म प्रतिष्ठानमा उपचार भएन । घाईते घर्तिलाई सान्त्वना दिन पुगेका नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वली सहित आधा दर्जन पत्रकारलाई आकस्मिक कक्षमा कार्यरत कर्मचारीले बाहिर निस्किन ठाडो आदेश दिदै दुव्र्यवहार गरेको सचिव वलीले बताउनुभयो ।

एक्स–रेको रिपोर्ट आएको एक घण्टापछि ‘अन कल’ मार्फत आकस्मिक कक्षमा देखिएका अर्थोपेडिक डा. सागर पन्थीले घटना गम्भीर भएका कारण तत्काल ठुलो शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । ‘साना केश’मा विरामीलाई बाहिर पठाउँदै आएको प्रतिष्ठानको सेवामा विरामीले विस्वास नगरेपछि बाहिरको अस्पतालमा रिफर मागे । तर रिफर दिन नसक्ने बताएका डा. पन्थीले रिपोर्टमा एलएएमए लेखेर दिनुभभयो । जस्को अर्थ विरामी भागेको भन्ने हुने प्रतिष्ठानका चिकित्सकहरुले नै बताए ।

यस्तै पाठेघर जाँचका लागि घोराहीकी २४ वर्षीया एक युवती प्रतिष्ठान पुग्नु भयो । भिडियो एक्स–रे पनि गराईयो । डा. पुजा थापाले हस्ताक्षर गरेको रिपोर्टमा पाठेघरमा गम्भीर समस्या देखाइयो । रिपोर्टसँगै पुनः एक पटक भिडियो एक्स–रे गर्न सुझाव दिएपछि ति युवतीले फेरी अर्को पटक भिडियो एक्स–रे गराउनुभयो । सोही दिन मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराहीमा भिडियो एक्स–रे गर्दा भने सामान्य अबस्था देखियो ।

यस्तै अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने थियो । राप्ती उपक्षेत्रीय अस्पतालले एक वर्षपहिले सञ्चालनमा ल्याएको फार्मेसी अहिले तहस नहसको अबस्थामा छ । अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भईसकेपछि फार्मेसीमा अहिले मिनरल वाटर र सिटामोलसम्म पाईदैन । उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य बिभागबाट रु. २० लाख बजेट उपलब्ध गराएको फार्मेसी बन्द प्राय छ भने साझा औषधी पसलबाट विरामीले काम चलाईरहेका छन् ।

निजी क्षेत्रबाट स्थापना भएर तत्कालिन उपक्षेत्रीय अस्पतालमा हस्तान्तरण भएको पोषण पुर्नःस्थापना गृहका १० उपचाररत १० जना कुपोषित बालबालिकाहरु निकालेर डाक्टरको आवाज गृह बनाईएको छ । पोषण पुर्नस्थापना गृहको नाममा प्रतिष्ठानले रित्तो बेडहरु देखाउने गरेको छ, जहाँ अहिलेसम्म कुनै बालबालिकाहरु भर्ना हुन आएका छैनन् । तत्कालिन अस्पताल विकास समिति र नेपाल सरकारबाट करारमा नियुक्त भएका ८० जना कर्मचारीहरु अहिले पनि आन्दोलनरत छन् । स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुको संख्यामा समेत कमि आएको तथ्यांकले देखाएको छ । दैनिक १२ देखि १५ वटा प्रसुती हुने अस्पतालमा अहिले दैनिक ३ देखि ७ वटा प्रसुती हुने गरेको छ ।

माथिका घटनाहरु प्रतिनिधि हुन् । अस्पताल प्रति विरामी सर्वसाधारणको विस्वास कम भएको छ भने निशुल्क पाउनुपर्ने सुविधाबाट बञ्चित भएका छन् । अस्पतालमा भैरहेको विवादका कारण पछिल्लो पटक नियुक्त कर्मचारीलाई काम गर्ने उत्साह समेत देखिदैन ।

कर्मचारीमा विभेदको दृष्टिकोण

गत असोज १२ गते राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भयो । चालु आर्थिक वर्षको दशै पेश्की सहित ६ महिनाको तवल नबुझेका ८० भन्दा बढि कर्मचारीहरु आन्दोलन मै छन् । प्रतिष्ठानले ईलेक्ट्रिसियन हेमराज गौतम र अहेव ठगुराम भण्डारीलाई बर्खास्त गरेको पत्र काटेको छ भने पोषण गृहका ८ जना कर्मचारीहरुलाई समेत निकाल्ने तय गरेको छ ।

उता प्रतिष्ठानले मनोमानी रुपमा नयाँ कर्मचारीहरु भर्ना गरिसकेको छ । जुन अबैधानिक बाटोबाट गरिएको कर्मचारीहरुको भोलीको अबस्था समेत टुंगो छैन । कर्मचारी भर्ना गर्नु अगाडी शिक्षक तथा कर्मचारी सेवा सर्त सम्बन्धी नियमावली २०७४ परिमार्जन सहित पारित गर्नुपर्छ । तर प्रतिष्ठानले मनोमानी रुपमा एक सय ११ जना कर्मचारीहरु भर्ना गरिसकेको छ ।

२०७४ माघ २२ गते बसेको सिनेट बैठकमा शिक्षक तथा कर्मचारी सेवा सर्त सम्बन्धी नियमावली परिमार्जनसहित पास गर्ने अधिकार प्रतिष्ठानका सहकुलपतिलाई दिइएको थियो । पछिल्लो पटक बसेको सिनेट बैठकबाट नियमावली पारित गर्नुपर्ने भएपनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन गर्ने अर्को सिनेट बैठकबाट पारित गर्ने बताउनु भएको थियो । तर यता कर्मचारीहरु भने धमाधम भर्ना भईसकेका छन् । जसमध्य डाक्टर, प्राध्यापकसम्म छन् ।

स्रोतका अनुसार केहि कर्मचारीहरु विज्ञापन नै प्रकाशन नगरी एकलौटी रुपमा नियुक्त गरेको पाईएको छ । विज्ञापन खोल्नुपर्ने र प्रक्रियागत रुपमा कर्मचारी भर्ना गर्नुपर्ने भएपनि केहि कर्मचारीहरु भने विना विज्ञापन नै नियुक्त भएका छन् ।

अख्तियारको दुरुपयोग

प्रतिष्ठानको उपकुलपति डा. संगीता भण्डारीले पटक पटक अख्तियारको दुरुपयोग गरेको देखिएको छ । २०७५ वैशाख २४ गते पत्राचार गर्दै मन्त्रालयले प्रतिष्ठानलाई भर्ना रोक्न निर्देशन दिएको थियो । तर कर्मचारी भर्ना रोकिएन ।

मन्त्रालयको चिकित्सा सेवा महाशाखाले कर्मचारी तथा प्राध्यापक भर्ना सम्बन्धी विज्ञापनको काम अर्को आदेश नभएसम्म तत्काल रोक्न पत्राचार गरिएको थियो । तर भर्ना नरोकिएपछि गत असोज १९ गते अर्को पत्र पठाएर उपकुलपतिलाई स्पष्टिकरण सोधेको छ । विज्ञापनको प्रक्रिया पुनः अगाडी बढाईएको र केहिलाई नियुक्ती समेत दिईसकेको भन्ने जानकारीको आधारमा कुन विधि ऐननियम बमोजिम प्रक्रिया अगाडी बढाईएको भन्ने सन्दर्भमा ३ दिनभित्र मन्त्रालयमा जानकारी गराउन बरिष्ठ जनस्वास्थ्य अधिकृत बसन्त अधिकारीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरीएको छ ।

शिक्षक तथा कर्मचारी सेवा सर्त तथा सुविधा नियमावली २०७४ गत माघ २२ गते स्वीकृत भैसकेको छ । तर सो नियमावली पारित गर्नका लागि प्रतिष्ठानले नियमावली स्वीकृत भएको ४ दिन पछि मात्रै माघ २६ गते सचिवलाई नियमावली परिमार्जन गर्न ५ सदस्यीय समिति गठनभएको पत्राचार गरेको छ । बाहिर देखाउनका लागि मात्रै हो ।

ठेक्कापट्टामा सेवा

लामो संघर्ष र मेहनत गरेर सञ्चालनमा ल्याएको डाईलासिस सेवा प्रतिष्ठानले ठेक्कामा दिएको छ । काठमाण्डौको विरंग हेल्थ केयरलाई डाईलासिस सेवा ठेक्कामा दिएको हो । कतिमा ठेक्कामा दिएको हो भन्ने बारेमा खुलेको छैन । दुई वटा डाईलासिस मेसिनबाट एक सातामा १० जना विरामीले निशुल्क उपचार लिँदै आएका थिए । तर अब ठेक्कामा लिएपछि मोटो रकम तिरेर विरामीले सेवा लिनुपर्ने बाध्यता रहेको छ । साथै दाङको घोराहीबाट निशुल्क रुपमा डाईलासिस उपचार सेवा लिने दङालीको सपना तुहिएको छ ।

यस्तै अस्पतालको फोहोर व्यवस्थापन समेत ठेक्कामा दिईएको छ । यसको साथै ईलेक्ट्रिसियन र प्लम्वर समेत बाह्य स्रोतको प्रयोग भैरहेको पाईएको छ । एक जना नेपाल विद्युत प्राधिकरणका स्थायी कर्मचारी समेत रहेको स्रोत बताउछ । नेपाल सरकारको स्थायी कर्मचारीले दुई स्थानबाट नियमित तलव खाने गरी काम गर्न नपाउने व्यवस्था छ । तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य स्रोतको प्रयोग गर्ने नाममा सरकारकै स्थायी कर्मचारीलाई काममा लगाएर तलव दिईरहेको छ ।

लक्ष्मी बैंकसँग ‘कनेक्सन’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने अस्पतालको मोडल कस्तो हुने भन्ने जानकारी दिनका लागि घोराहीको माला ईन होटलमा केहि महिला पहिले भव्य कार्यक्रमको आयोजना गरीएको थियो । खानपान सहितको उक्त कार्यक्रमको सम्पुर्ण आर्थिक सहयोग लक्ष्मी बैंक घोराही शाखाले गरेको थियो ।

अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पुर्ण ‘विलिङ सिस्टम’को जिम्मेवारी लक्ष्मी बैंकले पाएको छ । प्रतिष्ठानको आर्थिक गतिविधिहरु चुस्तदुरुस्त र व्यवस्थित बनाउनका लागि बैंकलाई जिम्मेवारी दिएको प्रतिष्ठानले बताएको छ । अहिले प्रतिष्ठानको ‘क्यास काउन्टरमा लक्ष्मी बैंकका कर्मचारीहरुले सेवा दिईएका छन् । ‘लक्ष्मी बैंकले ठुलो कार्यक्रमको लागि आर्थिक सहयोग गर्नु र अहिले काउन्टरको जिम्मेवारी बैंकलाई दिनु भित्र चलखेलको विषय रहेको छ ।’ स्रोतले बताएको छ ।

आन्दोलनरत कर्मचारीहरुले तलव खान नपाउनुको पछाडी लक्ष्मी बैंक समेत जोडिएको छ । ८० जना कर्मचारीहरुको लागि केन्द्रबाट निकासा आईसकेको, कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले समेत कर्मचारीहरुको तलव भरपाईको सुचि प्राप्त भए रकम निकासा गर्ने बताएको छ । तर प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले एक मुष्ट रकम लक्ष्मी बैंकमा पठाउनुपर्ने बताउँदै आएको स्रोतले बताएको छ । कोलेनिकाले एक मुष्ट रकम कुनै अर्को बैंकमा पठाउन नसक्ने बताएपछि ८० जना कर्मचारीहरुले दशै पेश्की सहितको तलव पाउन सकेका छैनन् ।

एकलौटी तोडियो ताला

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी समेत गरे । तर त्यो ताला प्रतिष्ठानका सहायक निर्देशक बसन्त लामिछानेको नेतृत्वमा प्रहरीले ताला फोडेको छ ।

विहिबार देखि कर्मचारी संघर्ष समितिले प्रतिष्ठानको प्राङगणमा कालो ब्यानर टाँगेर धर्ना दिएका छन् । आकस्मिक र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवा बन्द छन् । बन्दका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तवल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन् । प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणी विहिन कर्मचारीहरुको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हेमराज गौतमले जानकारी दिनुभयो ।

प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेको भन्दै अध्यक्ष गौतमले बाध्य भएर आफूहरु आन्दोलित भएको बताउनुभयो । साथै विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधि, सर्जिल सामान, ल्याव र एक्सरेको सामान, कार्यालय सामानको समेत व्यापारीलाई भुक्तानी नगरेको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो ।