लक डाउनमा बाहिर निस्केकालाई झापड र लाठी हान्ने प्रहरीलाई कारबाही हुने

कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले मंगलबारदेखि देशभरि साताव्यापी लक डाउन सुरू गरेको छ।

मानिसहरू घरमै बसुन् र संक्रमण फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरे पनि कति मानिस खाँचो परेर त कति काम नपरी बाहिर निस्केका छन्।

DG Mobile Dang

त्यसरी बाहिर निस्केका मानिसहरूलाई प्रहरीले भने ठाउँठाउँमा दुर्व्यवहार गरिरहेको छ। कतिलाई लाठी बर्साएको छ कतिलाई झापड हानेको छ भने कहीँ उठबस गराएको छ।

लकडाउनमा नागरिक बाहिर ननिस्किऊन भनेर प्रहरी तथा सशस्त्र प्रहरी खटाइएका छन्।

ट्राफिक प्रहरीले लकडाउन अवज्ञा गर्नेहरूका सवारीसाधन नियन्त्रणमा  चालकलाई हिँड्दै घर फर्काएका छन्।

बुधबार बिहानदेखि नै सुनसरी खनारको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। उक्त भिडिओमा प्रहरीले गरेको व्यवहारलाई कतिपयले गाली गरेका छन् भने केहीले तारिफ।

उक्त भिडिओमा दुई प्रहरीले साइकल चलाएर आइरहेका एक युवालाई लाठीले हानेको देखिन्छ।

इटहरी प्रहरी कार्यालयबाट खटिएका दुई हवल्दारले साइकल चालकलाई चार पटकसम्म लाठी हानेर फिर्ता पठाइदिएका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताए।

‘मेरै मातहतका प्रहरीहरू हुन्, विभागीय कारबाहीका लागि तानिसकेका छौं,’ डिएसपी भण्डारीले सेतोपाटीसँग भने,’उनीहरूलाई सोध्दाचाहिँ पटक-पटक फर्काउँदा पनि फेरि आएपछि लाठी हानेको बताएका छन्।’

उता भैरहवामा प्रहरीले स्थानीयलाई लक डाउन तोडेको भन्दै  मुर्गा बनाएको छ।  देवकोटा चोकदेखि पश्चिमतर्फको सडक किनारमा साइकलमा आएका १२ जनालाई मुर्गा बनाइएको हो। सडकको जेब्राक्रममा साइकल ठड्याएर उनीहरूलाई घोप्टो पारेर मुर्गा बनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने कसैलाई पनि मुर्गा बनाउनेजस्तो सजाय नदिइएको दाबी गरेको छ।

‘हामीले कसैलाई पनि मुर्गा बनाउने, पिट्नेजस्ता काम नगर्न निर्देशन दिएका छौं। प्रहरीले मुर्गा बनाएको होला भन्नेमा मलाई विश्वास लाग्दैन,’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग खत्रीले सेतोपाटीसँग भने।

उनले कुनै प्रहरीले त्यस्तो गरेको भए आफूहरूले थप बुझ्ने बताए।

त्यस्तै दाङमा एक जनालाई प्रहरीले लक डाउनको अवज्ञा गर्नेलाई उठबस गर्न लगाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराईले उठबस गराउने प्रहरीलाई पनि कारबाही गर्ने बताएका छन्।

सुर्खेतमा लक डाउन उल्लंघन गरेको भन्दै प्रहरीले केही व्यक्तिलाई १० मिनेटसम्म बीच सडकमा बस्न लगाएको थियो।

यता भक्तपुरको मध्यपुर ठिमी बाहाखा: बजारमा लक डाउनमा बाहिर निस्केको भन्दै सशस्त्र प्रहरीले बीच सडकमा तीन जनालाई घोप्टो पारेर लाठी हानेको छ।

सेतोपाटीबाट