दाङलाई राजधानी बनाउन मुख्यमन्त्री सक्रिय

८७ जना सांसद रहेको प्रदेश–५ मा दुईतिहाइ समर्थनका लागि ५८ जनाको समर्थन चाहिन्छ ।

दाङ, फागुन २४ । प्रदेश–५ को राजधानी सार्न मुख्यमन्त्री शंकर पोखरेलबाटै चलखेल सुरु भएको छ । अस्थायी राजधानी बुटवल रहेको र स्थायी राजधानी दाङ लैजान मुख्यमन्त्री पोखरेलले चलखेल गरेपछि फेरी एकपटक राजधानी विषयबारे चर्चा सुरु भएको छ । दाङलाई दुईतिहाइको बहुमत बनाउन नेकपाका प्रदेश–५ इन्चार्जसमेत रहेका शंकर पोखरेल मन्त्रीको ‘तुरुप’ फाल्ने प्रयासमा छन् ।

निर्वाचनमा गरेको वाचालाई पूरा गराउन पोखरेल दाङलाई राजधानी बनाउन लागिपरेका छन् । अस्थायी राजधानी रहेको बुटवलबाट राजधानी सार्ने प्रयास उनले सुरुआतमै गरेका थिए । हुँदै नभएको कानुनमाथि टेकेर राजधानी र नामकरणका लागि विशेष सिफारिस समिति बनाउनु, समितिको म्याद पटकपटक थप गर्नु, समितिमा सबैलाई भागबन्डा लगाउनु र जिल्लामा गएको टोलीले गर्ने सर्वेक्षण पत्रको संख्या दाङ क्षेत्रमा बढी लैजाने भूमिका पोखरेलकै रहेको थियो ।

प्रदेश सरकारले गत साता स्थापनाको दोस्रो वर्षमा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो गरेपछि उनी भित्रभित्रै राजधानीको क्याम्पियनमा समेत लागेका छन् । रूपन्देही वा दाङ कहाँ राजधानी हुने विषय पेचिलो बन्दै गर्दा कपिलबस्तु पनि उत्तम हुन सक्ने समितिले निचोड निकालेको थियो । हालसम्म समितिको प्रतिवेदन सार्वजनिक नभइरहेको अवस्थामा समितिकै सदस्य विष्णु पन्थीले कपिलबस्तु राजधानी प्रस्ताव गरिएको भन्दै प्रचार गरे । किनकी उनी कपिलबस्तुका सांसद हुन् ।

DG Mobile Dang

प्रदेश सरकार गठन भएपछि अर्थमन्त्री बन्ने चर्चा पन्थीको चलेको थियो । तर, मुख्यमन्त्री शंकर पोखरेलले अर्थ मन्त्रालय आफ्नै माताहातमा राखेपछि उनी जिल्ल परे । हाल उनी मुख्यमन्त्री शंकर पोखरेलसँगै जिल्ला दौडको कार्यक्रममा सहभागी छन् । शक्तिको वरपर दौडेर मन्त्री पद पाउने भएपछि कपिलबस्तुको जनमत शंकर पोखरेललाई सुम्पिने ध्यानमा पन्थी लागेका छन् ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले अर्घाखाँचीका चेतनारायण आचार्यलाई पनि मन्त्री पद दिने र त्यहाँको मत दाङको पक्षमा पार्ने चलखेलसमेत गर्न खोजेको स्रोतले बताएको छ । यस्तै प्युठानका हरि रिजाललाई पनि मन्त्री बनाउने प्रयास पोखरेलले गरेका छन् । त्यति मात्र नभई प्युठानको मतसमेत दाङको पक्षमा पार्न पोखरेलले लबिङ गरिरहेको स्रोतको भनाइ छ । हाल कायम रहेका मन्त्रालयहरू टुक्राएर मन्त्री पद दिने र दाङ राजधानी बनाउने लबिङ पोखरेलको छ ।

यता सामाजिक विकास मन्त्री सुदर्शन बराल भने बारम्बार दाङ नै राजधानी हुने बताउँदै आएका छन् । गुल्मीका सुदर्शन बराल तत्कालीन माओवादी कोटाबाट मन्त्री बनेका हुन् । नेकपाका नेता वर्षमान पुनकै कारण सामाजिक विकास मन्त्री बनेका सुदर्शन पुनकै आग्रहमा दाङ राजधानी भन्दै लबिङ गरेका हुन् । सँगसँगै उनले साना दलहरूलाई पनि लोभको हतियार प्रयोग गर्ने तयारीमा रहेको मुख्यमन्त्री निकट स्रोत बताउँछ । सद्भावना पार्टीका ५ सांसद, जनमोर्चा र राजपाका एक÷एक सांसदलाई पनि कार्यक्रम र योजना दिएर आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् ।

राजधानी सार्ने चलखेल सुरु भएपछि यस क्षेत्रका नागरिक समाजले मन्त्रालयलाई सामान पोका पार्न नदिने र संघर्ष नै गर्ने चेतवानी दिएका छन् । भूकम्पले थलिएका भवनमा जोखिम मोलेर संघसंस्था बसेको र भवन प्रदेशलाई दिएको भन्दै उनीहरूले राजधानी अन्यत्र सार्ने प्रयास नगर्नसमेत चेतावनी दिँदै आएका छन् ।

रूपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल रूपन्देही सामाजिक, आर्थिक, पूर्वाधार सबै हिसाबले सम्पन्न भएको भन्दै राजधानी सार्न नदिने बताए । रूपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले मुख्यमन्त्री पोखरेलले पूर्वाधार अभाव देखाउँदै राजधानी सार्न चलखेल गरेको बताए ।

रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले मन्त्रालय र सरकारका लागि आपूmहरू भवन त्याग गरेर बसेको भन्दै राजधानीको बारेमा नेताहरूले साथ दिए आन्दोलनको नेतृत्व संघले गर्ने बताए । संघका पूर्वअध्यक्ष एजाज आलमले साविक लुम्बिनी अञ्चलका नेताहरूले बुटवलमा स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव संसद्मा प्रस्तुत छिटो गर्न र त्यसको नेतृत्व लिन आग्रह गरे । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यातायातको सुगम्ताका दृष्टिकोणले रूपन्देही राजधानीका लागि उपयुक्त भएको बताए ।

८७ जना सांसद रहेको प्रदेश–५ मा दुईतिहाइ समर्थनका लागि ५८ जनाको समर्थन चाहिन्छ । प्रदेश–५ मा नेकपाका ६१, कांग्रेसका १९, संघीय समाजवादी फोरम ५, राजपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना सांसद छन् । जिल्लागत विवरण अनुसार नवलपरासी पश्चिममा पाँच, रुपन्देहीमा १९ , कपिलवस्तुमा १२, पाल्पामा सात, गुल्मीमा पाँच, अर्घाखाँचीमा चार, प्युठानमा तीन, रोल्पामा दुई, रुकुम पूर्वमा तीन, दाङमा १०, बाँकेमा नौ र बर्दियामा आठ जना सांसदले प्रदेश सभामा प्रतिनिधित्व गर्छन् ।