युवादेखि वृद्धासम्म पाठेघरको समस्या

Advertise with us

 

Buddha International Hospital

दाङ, पुस  । लक्ष्मीपुर स्यालापानीकी वेली विष्ट आफ्नो विहे हुँदा कपाल बाट्न जान्नु भएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी वेली ६२ वर्षको उमेरसम्म आईपुग्दा रोग पालेर बस्नु परेको छ ।

Advertise with us

१७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नु भएकी उहाले जम्माजम्मी ४ सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाले थाहा पाउनु भएन । ‘१७ वर्षमा पहिलो छोरी जन्मिएको हो, लगातार ३ छोरी एउटा छोरो भयो ।’ वेलीले भन्नुभयो, ‘अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरिरमा रोग पनि हुर्किदै गएको रैछ ।’

घोराही उपमहानगरपालिका वडा नं. ४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आउनु भएकी बेली धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान गुमेपछि आफैले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु ? त्यहि लाजका कारण पाठेघरको समस्या झन विकराल हुँदै गएपछि जाँच गर्न आएको बताउनुभयो । ‘एक पटक स्वास्थ्य चौकीमा गएँ, घोराहीको ठुलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ’ बेलीले सुनाउनुभयो, ‘पाठेघर खस्ने गथ्र्यो, लाज लाग्यो, सेतोपानी मात्र बग्छ भनेर रोग लुकाएँ ।’

सिस्नेखोलाकी सुनिता रोका पाठेघरको समस्या बोकेर शिविरमा आउनुभयो । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानको आमा भैसक्नु भएको छ । ‘महिनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको ।’ सुनिताले भन्नुभयो, ‘डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भन्नुभएको छ ।’ पाठेघरको संक्रमण भएपछि औषधीहरु लिएर सुनिता घर फर्किनु भएको छ ।

विवाह गरेर सन्तानको आमा भैसकेका युवतीहरु देखि उमेरले वृद्धावस्थामा पुगेका महिलाहरु पाठेघरको समस्याबाट पीडित रहेको डा. पुष्पा डाँगीले बताउनुभयो । २ सय ८७ जना विरामीहरुको स्वास्थ्य जाँच गरिएको शिविरमा १ सय ३ जना महिलाहरुको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन संघका प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।

‘नेपाल परिवार नियोजन संघले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरै जसो महिलाहरु पाठेघरको समस्या लिएर आउनु हुन्छ ।’ प्रबन्धक खनालले भन्नुभयो, ‘पाठेघरको समस्या नभएको त महिलाहरु नै छैन भने पनि हुन्छ गाउँमा ।’ समस्या हुनु ठुलो कुरा नभएपनि समस्या लुकाएर बस्नु सबै भन्दा खतरनाक विषय भएको खनालले बताउनुभयो । ‘सानो समस्या हुँदा लाज मान्ने र विकराल बनेपछि उपचार नै सम्भव नहुने समस्या छ ।’

सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा सन्तान उत्पादन प्रक्रियामा भाग लिने, जन्मान्तर नहुने र धेरै बच्चा जन्माउने महिलाहरुमा पाठेघरको समस्या देखिने डा. डाँगीले बताउनुभयो । शिविरमा आँखाका ९० जना विरामी, दाँतका ४५ जना, यौनरोग सम्बन्धी २२ र स्तनका २ जना विरामीहरुको स्वास्थ्य जाँच गरिएको परिवार नियोजन संघले बताएको छ ।

शिविरमा आँखाका विरामीको संख्या पनि धेरै रहेको संघले जानकारी दिएको छ । शिविरमा दुई जनाले परिवार नियोजनको अस्थायी साधन समेत प्रयोग गरेका छन् । शिविरमै दुई जना महिलाहरुले पाँच वर्षे परिवार नियोजनको अस्थायी साधनको प्रयोग गरेको संघले बताएको छ ।

लमही आँखा अस्पताल, डिनोभा डेन्टल केयर घोराही र माउण्ड भ्यू बोर्डिङ स्कुलको प्राविधिक सहयोग भएको शिविरमा वडाबासीहरुको स्वास्थ्य अबस्था बुझ्न र निशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको वडाध्यक्ष भिमबहादुर सार्किले बताउनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाको मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य निर्मला रेग्मीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।