शुक्रबारदेखि दाङमा दादुरा–रुबेला खोप अभियान

अहिले ८८.६ प्रतिशत बालबालिका खोपको पहुँचमा

दाङ, फागुन १४ । यही १६ गते शुक्रबारबाट संचालन गर्न लागिएको दादुरा–रुबेला खोप अभियान प्रभावकारी बनाउन दाङको घोराहीमा अन्तरक्रिया गरिएको छ । दाङमा दुई चरणमा दादुरा रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने तयारी भईरहेको छ । यसको तयारी, अवस्था र अभियान प्रभावकारी बनाउन खोप अभियान समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग बुधबार अन्तरक्रिया एवम् छलफल गरिएको हो ।

खोप अभियान समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको विशिष्ट आतिथ्यमा भएको छलफल कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले दादुरा रुवेलाको खोप अभियानबारे जानकारी गराउँदै जिल्लागत अवस्थाको विषयमा पनि तथ्यांक प्रस्तुत गर्नुभएको थियो । जिल्लामा दादुरा रुवेला खोप अभियानसँगै पोलियो विरुद्धको खोप अभियान पनि सँगसँगै लैजाने गरी अभियानको रुप रेखा तयार पारिएको उहाँले जानकारी गराउनुभयो ।

पहिलो चरणमा यही फागनु १६ गतेबाट २४ गतेसम्म अभियान खोप अभियान संचालन गरिँदैछ भने दोश्रो चरणमा फागुन २९ गतेदेखि चैत्र ७ गतेसम्म खोप अभियान संचालन गरिँदैछ । पहिलो चरणमा जिल्लाको तुलसीपुर उपमहानगर, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र बंगलाचुली गाउँपालिकामा खोप अभियान संचालन गरिनेछ भने दोश्रो चरणमा घोराही उपमहानगर, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप अभियान संचालन हुन लागेको स्वास्थ्य कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

DG Mobile Dang

दुई चरण हुन लागेको खोप अभियानमा दादुरा रुवेला विरुद्ध दाङमा ६१ हजार ६ सय ६६ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । यस्तै, पोलियो विरुद्धको खोप ७३ हजार ४ सय ८३ जना बालबालिकालाई लगाउने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ । जिल्लाभर ५ सय १ खोप केन्द्रबाट १ हजार १६ जना स्वास्थ्य स्वयम्सेविका, ५ सय ३३ जना खोप कार्यकर्ताको सहयोगमा अभियान शुरु गर्न लागिएको हो । बालमृत्युदर घटाउन, उत्पादनशक्ति प्रभावकारी बनाउन, सक्षम तथा स्वस्थ नागरिक बनाउने लक्ष्यका साथ नेपाल सरकारले खोप अभियानका लागि वार्षिक रुपमा अर्वौ रुपैयाँ खर्च गरिरहेको छ । २०३४ सालबाट बिसीजी विरुद्धको खोप अभियानको थालनी गरिएकोमा हाल बिसीजी, डिटीटी खोप अभियान सफल भएको र अहिले दादुरा रुवेला विरुद्धको खोप अभियान सकारात्मक अवस्थामा पुगेको तथ्यांकले देखाएको छ ।

नेपालमा सन् २०२३ सम्ममा दादुरा रुवेला र पोलियो निवारण गर्ने लक्ष्यका साथ अभियान संचालन भईरहेको छ । दाङको अवस्था हेर्दा अहिले ८८.६ प्रतिशत बालबालिका खोपको पहुँचमा रहेको देखिएको छ । राष्ट्रिय खोप अभियान केन्द्रले ९५ प्रतिशत बालबालिका खोपको पहुँचमा पुग्नु पर्ने लक्ष्य निर्धारण गरेको हुँदा सो लक्ष्य नजिक पुग्न अहिले खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लामा रहेका १० वटै पालिकाहरुमार्फत सरोकार सबै निकायसँगको सहकार्यमा खोप कार्यक्रम संचालन गर्न लागिएको बताइएको छ । दादुरा रुवेला विरुद्धको खोप बच्चा जन्मेको ९ महिनादेखि ५ वर्षमानिका बालबालिकालाई लगाईन्छ भने पोलियो खोप बच्चा जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई दिईन्छ ।

दादुरा रुवेला मिजस्ल भाइरसबाट अति नै छिटो सर्ने अति संक्रमित रोग हो । यसको उपचार नहुने भएकाले रोकथामको सबैभन्दा उत्तम विकल्प नियमित खोप नै मानिन्छ । प्रमुख पौडेलका अनुसार लक्षित बालबालिकाहरुलाई खोप लगाउन उल्लेखित जनशक्ति प्रयाप्त नरहेकाले स्थानीय तहसँग रहेका आवश्यक जनशक्तिको व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । दादुरा रुवेला बालबालिको मृत्यु गराउने प्रमुख कारक मानिने भएको हुँदा राष्ट्रिय खोप कार्यक्रममार्फत तोकिएको सबै खोप केन्द्रहरु समतामूलक रुपमा सबैको पहुँचमा हुने गरी बालबालिका र गर्भवती महिलाका लागि खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा घोराही उपमहानगपालिकाका नगरप्रमुख नरुलाल चौधरीले खोप अभियान सफल बनाउन उपमहानगर र वडा कार्यालयहरुको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुबीच आवश्यक समन्वय गरी खोप अभियानको लगत लिने र छुटेकाहरुलाई खोपको पहुँचमा ल्याउन विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो । उनले खोप नपाएरै कोही पनि वञ्चित हुनु पर्ने अवस्था हाउन नदिन सबै सतर्क भएर अभियान सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाको नाका क्षेत्रहरुमा रहेका नागरिकहरुको खोप केन्द्रसम्मको पहुँच अभिवृद्धिका लागि सम्बन्धित पालिका, वडाहरुले पहल बढाउँदै लैजाने र संचारमाध्यमहरुबाट प्रचारप्रसार प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । सङघीय सरकारले ३० लाख बालवालिकालाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्ने र दाङसहित तराईका १९ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको हुँदा आफ्ना बालबालिकाहरुलाई खोप केन्द्रमा गएर नियमित खोप लगाउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।