‘क्यान्टोनमेन्ट’ उठेपछि सुनसान दहवन

रोल्पा (होलेरी), फागुन २  । वृहत शान्ति सम्झौता पछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का लडाकुहरु बसेको पाँचौ डिभिजन दहवन रोल्पामा अहिले नेपाली सेनाको खड्गदल गण सुरक्षा गुल्म बसेको छ ।

DG Mobile Dang

गुल्मको गेट अगाडी केहि घरहरु छन्, सबै भन्दा पुरानो घर हो सुखना घर्तिको । दहवनको काँडाहरुको जंगल फाँडेर माओबादी लडाकु बसेपछि ८÷१० वटा घरहरु थपिए । त्यहि बस्तीमा घर्तिको एउटा सानो पसल छ । ‘हामी माओबादी नबस्दै पहिले देखि नै बसेका हौँ ।’ घर्तिले भनिन् ।

५५ वर्षीय घर्तिलाई अहिले सपना जस्तो लाग्छ । ‘पहिले जस्तो मान्छे आउँदैनन्, दिनभरी नै सुनसान हुन्छ, कहिलेकाही आउने मान्छेहरु पनि धेरै बेर बस्दैनन्, आर्मीले भित्र पस्न दिदैन ।’ हातले ब्यारेक देखाउँदै घर्तिले भनिन्, ‘यहाँ सबै काँडाको वन थियो, माओबादीले बस्ने बनायो ।’

२०६४ सालमा क्यान्टोनमेन्ट बसेपछि दहवनमा मान्छेहरुको उपस्थिती बाक्लो बन्यो । पाँचौ डिभिजनको मुख्यालय दहवनमा २ हजार ९ सय लडाकु बस्थे । मानवअधिकारकर्मी, पत्रकारहरु र अनमिनको टोलीको कारण दहवनमा विकास हुँदै गरेको झल्को दिन्थ्यो । जंगलबाट क्यान्टोनमेन्टमा बस्न आएका लडाकुहरु हेर्नेहरुको भिड कहिल्यै कमी भएन ।

तर सेना समायोजनपछि माओबादीका केहि लडाकु घर फर्किए, केहि सेनामा समायोजन भए । त्यसपछि सुनसान बसेको दहवन रोल्पाको चमक घटेको छ । चहलपहल धेरै कम भएको छ ।

क्यान्टोनमेन्ट रहँदा निर्माण भएका केहि संरचनाहरुको सुरक्षाका लागि नेपाली सेना त बसेको छ तर अवस्था फेरिएको छ ।

‘तत्कालिन क्यान्टोनमेन्टका डिभिजन कमाण्डर सुकबहादुर रोका (शरद) अहिले उपराष्ट्रपतिको सचिवालयका कार्यरत हुनुहुन्छ ।’ स्थानीय पत्रकार एलवि मगरले भन्नुभयो, ‘क्यान्टोनमेन्ट उठेपछि अहिले दहवन सुनसान छ, ब्यापार पनि बढि हुन्थ्यो, पुराना संरचनाहरु पनि जीर्ण बन्दै गएका छन् ।’

लडाकुको रुपमा दहवनको क्यान्टोनमेन्टमा करिव ३ वर्ष बसेका नवीन लोचन मगर अहिले पत्रकार छन् । क्यान्टोनमेन्टको तालिम विभागमा काम गरेका नवीनले करिव ७÷८ वर्षपछि त्यहि भुगोलमा उभिएर बन्दुक र कलमको तुलना गरे । ‘त्यति बेला बन्दुक पनि निश्चित अवधीको लागि गहु्रगो थियो, तर अहिले कलम नै गह्रुँगो भएको छ ।’

पुर्वलडाकु नवीन लोचन मगरले राजनीतिक दर्शनले अगाडी बढेका मानिसहरु क्रमश विलासीपनमा लिप्न बन्न थालेको बताए । ‘एउटा दर्शनका कारण मर्न तयार हुने मान्छे अब छैनन्, नाताबादमा हराए । कमाउन तिर लागे ।’

नवीन क्यान्टोनमेन्टमा बस्दा आफुले तालिम गरेको मैदान, हतियार राख्ने घरहरु हेरे । ‘पहिले भन्दा धेरै जीर्ण भैसके छ ।’ उनले भने ।

सेना बसेको ७÷८ वर्ष भयो । नयाँ संरचना बनेका छैनन् । माओबादी लडाकुले निर्माण गरेका संरचनामा सेना बसेको छ । बाँकी संरचनाहरु जीर्ण बन्दै गएका छन् । अनमिनका कर्मचारीहरु बसेका संरचनाहरु पनि जीर्ण छन् । धेरै जसो संरचना प्रयोगविहिन अवस्थामा छन् ।

बंकरहरु पुरिन थालेका छन्, सुरक्षा घरबाट टीनका पाताहरु निस्किएका छन् भने ढुंगा माटोले बनेका घरहरुमा वर्षौदेखि बन्द छन् । सेनाले पर्याप्त संरक्षण गर्न सकेको छैन । ५० देखि ६० को संख्यामा नेपाली सेना बसेको छ । जनशक्तिको कमीका कारणले संरक्षणमा समस्या परेको गुल्मका एक अधिकारीले बताए ।

स्थानीय सरकारले युद्ध पर्यटनको रुपमा विकास गर्ने सोँच त बनाएको छ, तर योजनाहरु छैनन् । ‘नेपाली सेनाले दहवन छोडेपछि के हुने ?’ स्थानीय जानकार तथा पत्रकार खेम बुढाले प्रश्न गर्छन् । पाँचौ डिभिजन दहवन अन्र्तगत रहेको उघाबाट नेपाली सेनाले हात झिकेको बताउँदै बुढाले यहाँबाट पनि सेना निस्कियो भने युद्धको इतिहास हराउँदै जाने बताए ।

‘लडाकु बस्नका लागि बनाएका संरचना पनि हराउँदै गएका छन् । राज्यले संरचनाको संरक्षण गरेर भावि पुस्तालाई देखाउन सक्ने वाताबरण बनाउन पर्ने हो ।’ बुढा भन्छन्, ‘लडाकु बसेपछि मुहार फेरिएको दहवन अहिले फेरी पुरानै अवस्थामा गएको छ ।’

युद्ध पर्यटनको चर्चा लामो समय देखि हुँदै आएको छ । तर पर्याप्त योजना बनिसकेका छैनन् । पहिले जस्तै मान्छेहरु आईदिए हुन्थ्यो भन्ने लाग्छ दहवनकी सुखना घर्तिलाई । ‘पहिले मान्छे आउँदा डर लाग्थ्यो, अहिले मान्छेहरु आए हुन्थ्यो जस्तो हुन्छ ।’ उनले भनिन् ।

पर्यटनको क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा मगरले बताए । ‘प्राकृतिक, धार्मिक पर्यटकीय स्थलहरुको साथसाथै युद्ध पर्यटनको विकासका लागि हामीले काम गर्ने योजना बनाएका छौँ ।’