लमहीमा निशुल्क स्वास्थ्य शिविरले जेष्ठ नागरिक खुसी

दिवाकर पोख्रेल

देउखुरी, फागुन  २ । दाङको लमही नगरपालिका वडा नं. ५ रातोडाँडा निवासी सावित्री सुवेदी उमेरले ९५ बर्ष हुनुभयो । उहाँलाई अहिले मधुमेहको समस्या छ । लमही र आसपासमा विशेषज्ञ सहितको स्वास्थ्य सुविधा पनि नपाउने र टाढा जान आउनपनि समस्या हुनेभएपछि समस्या च्याँपेर बस्नुभएकी उहाँले रातोडाँडामै विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गर्न जानुभयो ।

DG Mobile Dang

‘घरमैै स्वास्थ्य सुविधा पाएपछि समय र पैसाको बचत पनि भयो, हामी जेष्ठनागरिकलाई टाढा धेरै समस्या हुन्छ, गाउँघरमै चेकजाँच गर्न पाउँदा राम्रो भयो ।’ सुवेदीले भन्नुभयो । यस्तै लमही ५ कान्छी रोडका ८७ बर्षिय टिकाराम खनाललाई मुटुको समस्या छ, धेरैपटक उपचारको लागि बुटवल नेपालगंजका अस्पतालमा पनि जानुभयो । बुढ्यौलीले गर्दा टाढा उपचार गर्न जाँदा उहाँलाई झनै समस्या हुने गर्दछ । ‘दम पनि छ धेरै हिडुल गर्न सक्दैन, पहिले मुटुको समस्या देखाएको थियो, नजीकै डाक्टर सहितको सुविधा पाएपछि आएको हुँ, घरअंगाडी नै सेवा पाउँदा आनन्द लाग्यो ।’ खनालले भन्नुभयो ।

सुवेदी र खनाल मात्र होइन लमहीमा संचालन भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा देउखुरीका अधिकाश ठाउँबाट उपचारको लागि बिरामीहरु आएका छन् । लमही देउखुरीको केन्द्र भएपनि स्वास्थ्य सुविधाको हिसावले विशेषज्ञ सहितको स्वास्थ्य सेवा लमहीमा अहिले पनि छैन । समय समयमा आयोजना गरिने निशुल्क स्वास्थ्य शिविर जेष्ठ नागरिकको लागि बरदान सरह हुने गरेको छ । ‘ठूला ठूला अस्पतालमा पाइने सुविधा स्थानीय स्तरमै पाउनु ज्यादै सकरात्मक पक्ष हो, यसबाट जेष्ठ नागरिकले राम्रो फाइदा लिनुभएको छ ।’ स्थानीय बुद्धिजिवी जागेश्वर घिमिरेले भन्नुभयो ।

प्रदेश नं. ५ को दोस्रो स्थापना दिवशको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र लमही सामुदायिक डायलाइसि सेन्टरको प्राविधिक सहयोग देउखुरी बहुमुखी क्याम्पस र रोटरी क्लव अफ लमहीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा मुटु, छाती तथा दम, मृर्गाला, मधुमेह सम्बन्धि रोगहरुको निशुल्क परिक्षण तथा उपचार गरिएको हो । निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रदेश ५ का साँसद रेवतीरमण शर्माले मानिसको शरिर स्वस्थ्य भए मात्रै अन्य क्षेत्रको विकास गर्न सक्ने भएकाले शरिर स्वस्थ्य राख्नको लागि सबैलाई आग्रह गर्नुभयो । ‘स्वास्थ्य जस्तो संवेदनशिल चिजमा हामी आफैले बेवास्ता गरेका हुन्छौ,अन्तिम अवस्थामा मात्रै अस्पतालमा पुग्ने परिपाटीको अन्त्य गरेर नियमित स्वास्थ्य चेकजाँच गर्न आवश्यक छ ।’ साँसद शर्माले भन्नुभयो ।

सरकारले स्वास्थ्य क्षेत्रलाई सरल र सहज बनाउन लागि परेको जानकारी दिदै उहाँले रकमको अभावमा कसैले ज्यान गुमाउन नपर्ने गरि सरकारले स्वास्थ्य सुविधा विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका निर्देशक डा. समिर गौतमले शरिर स्वस्थ्य राख्नको लागि मुख्य गरी धुम्रपान मध्यपान त्याग्न, नियमित चेकजाँच गर्न र शारिरिग अभ्यास गर्न आवश्यक रहेको बताउनुभयो । ‘खानपिन र जीवन शैली सुधार गर्दा धेरै रोगबाट बच्न सकिन्छ, त्यसको लागि क्षणभरको मस्ती भन्दा लामो जीवन हेर्न आवश्यक छ ।’ डा. गौतमले भन्नुभयो ।