सडकमा सल्यानी सुन्तला

राम्रो सुन्तला आउँदैन दाङमा, सस्तोमा कमसल सुन्तला छ्यापछ्याप्ती

दाङ, पुस  । यतिबेला दाङको बजारमा सल्यानी सुन्तलाले छोपेको छ । चौक चौकमा सुन्तलाको व्यापार छ । चौक नै पहेँलो हुने गरी सल्यानको सुन्तला दाङमा विक्रि वितरण भैरहेको छ । देश देखि विदेशसम्म प्रसिद्धि प्राप्त गरेको सल्यानको सुन्तला हिउँद मौसममा सबैको प्रिय मानिन्छ ।

Buddha International Hospital

Advertise with us

मंसिर देखि नै सल्यानको सुन्तलाको बजार सुरु हुन्छ । यो बजार माघसम्म पुग्छ । दाङमा मंसिर, पुस र माघ महिनामा सल्यानको सुन्तला मात्रै भित्रिने गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघ अन्र्तगत रहेको घोराही फलफूल व्यवसायी समितिका अध्यक्ष भगत विकले बताउनुभयो । ‘मंसिर देखि माघसम्म त सल्यानको मात्रै सुन्तला भित्रिन्छ ।

बाहिरबाट सुन्तला आउनै पाउँदैन ।’ विकले भन्नुभयो, ‘हिउँदको चिसो मौसम नै सल्यानको सुन्तलाको मौसम हो ।’ अन्य मौसममा भारतीय बजारबाट सुन्तलाहरु भित्रिने गरेको पाईन्छ ।

दाङको घोराहीमा मात्रै एक सिजनमा २० हजार टन सुन्तला खपत हुने गरेको समितिले बताउछ । यो वर्षपनि त्यहि मा त्रामा सुन्तला खपत हुने अबस्था रहेको समितिका अध्यक्ष विकले बताउनुभयो । ‘चानचुन एक सिजनमा २० हजार टन सुन्तला घोराहीमा मात्रै खपत भैरहेको छ ।’ विकले भन्नुभयो, ‘यो वर्षपनि सल्यानको सुन्तला प्रसस्त मात्रामा भित्रिएको छ । यो वर्ष पनि २० टन भन्दा माथि नै खपत हुन सक्छ ।’

दाङमा कमसल सुन्तला

सल्यानको सबै भन्दा बढि सुन्तला उत्पादन हुने क्षेत्र बागचौर गाउँपालिकाको वडा नं. ८ र ९ हो । यी दुई वटा वडाको सबै यतिबेला सुन्तलाले पहेँलपुर छ । ३० रोपनी जग्गामा सुन्तला उत्पादन गर्दै आउनु भएका प्रकाश डाँगीले यो सिजनमा मात्रै १० लाख बढिको सुन्तला विक्रि गर्नुभयो ।

‘त्यहाँ उत्पादन हुने सुन्तला दाङमा आउँदैन । त्यहाँको सुन्तला धनगढी कैलाली हुँदै सिधै काठमाण्डौ जान्छ ।’ कृषक डाँगीले भन्नुभयो, ‘दाङमा आउने सुन्तला भनेको साना साना सुन्तला हो । थारमारे, सिद्धेश्वरी, फलाबाङ तिरको सुन्तला दाङमा आउछ । त्यो आकारमा सानो हुन्छ ।’ यी सुन्तला दाङमा एक सयको तीन किलोसम्म विक्रि हुँदै आएको छ । घोराहीको सहिद गेट, तुलसीपुर चौक, ट्राफिक चौक, बालमन्दीर लगाएतका विभिन्न चौकहरुमा पाईने सुन्तलाहरु सल्यानी भएपनि त्यो कमसल भएको व्यवसायीहरु बताउछन् ।

सल्यानको गुणस्तरिय सुन्तलाको होलसेल मुल्य (मंगलबार) प्रतिकेजी ५० देखि ६५ सम्म छ । तर सल्यानका कृषकहरुको अनुसार गुणस्तरिय सुन्तला काठमाण्डौको बजारमा प्रतिकेजी एक सय २० भन्दा माथि रहेको छ ।

व्यापारमा महिला आकर्षण

सुन्तलाको सिजन महिलाहरुको लागि व्यापारको अबसर बनेको छ । घोराहीका चौक चौकहरुमा महिलाहरुले डोको, नाङ्लोमा सुन्तला लिएर बसेका छन् । सानो लगानीले दिनभरको व्यापारबाट सानो भएपनि आम्दानी हुने मिरा रोकाले बताउनुभयो ।

१७ दिन देखि सुरु गरेको सुन्तलाको व्यवसाय दुई हजार ५ सय बाट सुरु गर्नुभएको थियो । जसबाट दैनिक २ देखि ५ सय रुपैया सम्म नाफा गर्न सकिने उहाले बताउनुभयो । ‘सबैतिर सुन्तला छ, खासै नाफा त केहि छैन । तर घरमा खाली बस्नु भन्दा दुई चार रुपैँया कमाई हुन्छ ।’ रोकाले भन्नुभयो ।

सुन्तला खाँदा के फाईदा ?

स्वादका लागि मात्र नभई सुन्तला स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक मानिन्छ । सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुने र सुन्तलाको फल मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ ।

सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँने चिकित्सकहरु बताउछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । साथै यसले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरै–थोरै गरेर दिइयो भने बिरामीको शरीरमा चाहिने पानी लगायत अन्य तत्वको आपूर्ति हुन्छ ।

गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ ।

भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन सीले रुघाखोकी आदिबाट बँचाउछ । दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ ।