‘पहिले बोल्न पाईएन, अहिले कसैले सुन्दैन’

घोराहीको भिंग्रेली भिलेज रिसोर्टको एक सभाहलमा विहिबार विहान महिलाहरु खचाखच भरिए । राजनीति, शिक्षा, मानवअधिकार तथा विभिन्न विषयगत क्षेत्रमा काम गर्दै आएका महिलाहरुदेखि सामान्य गृहणी र विद्यार्थीहरु समेत सहभागी थिए । जिल्लाका गन्यमान्य पुरुष ब्यक्तिहरु कार्यक्रम हलको पुछारमा बसे ।

उदाहरण समूह, नेपालले आयोजना गरेको ‘रुपान्तरणका लागि निरन्तर समानान्तर स्वरहरु’ सुरुभयो । महिला मानव अधिकारकर्मी तथा पत्रकार लक्ष्मी आचार्य, महिल शसक्तिकरणका लागि लामो समयदेखि काम गर्दै आउनु भएको विमला योगी र हिंसापीडित महिलाहरुको क्षेत्रमा काम गर्ने रचना सुवेदी स्टेजमा पुग्नुभयो, भने माईक्रोफोन मिलाउँदै सुन्दर गौतमले सहजीकरण सुरु गर्नुभयो ।

DG Mobile Dang

चार वर्ष लामो स्थायी शिक्षण पेसा छोडेर राजनीतिमा प्रवेश गर्नुभएकी विमला योगीका लागि त्यो क्षेत्रमा काम गर्न त्यति सहज थिएन । सुन्दर गौतमको पहिलो प्रश्नको जवाफ दिदै कार्यक्रममा योगीले नेपाल महिला सामुदायीक सेवा केन्द्र स्थापना गरेको २६ वर्षमा ३ अर्व रुपैँया महिलाहरुको पुँजी संकलन भएको सुनाउँदा हल भरी रहेका महिलाहरुले ताली बजाए ।

महिलाहरुले केहि गर्न सक्दैनन् भन्ने सोँचका साथ समाजले महिलाहरुलाई नपत्याएको अवस्थामा एउटा संस्थाको पहलमा महिलाहरुले पुँजी संकलन मात्र हैन लगानी गरेर आर्थिक रुपमा बलियो बन्न सक्छन् भन्ने उहाँको धारणा थियो । ४ वटा सहकारी र ख वर्गको एउटा वित्तिय संस्था मार्फत आफुहरुले तमाम महिलाहरुको सामाजिक तथा आर्थिक विकासका लागि काम गरेपनि सामाजिक रुपमा आशातित रुपमा परिवर्तन हुन भनेको नसकेको उहाँको भनाई छ ।

समाजको स्वरुपमा परिवर्तन नआएसम्म महिलाहरुको अर्थपुर्ण परिवर्तनमा समस्या आईरहने अधिकारकर्मी तथा पत्रकार लक्ष्मी आचार्यले बताउनुभयो । ‘समाज निर्माणको जुन स्वरुप छन्, त्यसमा समस्या छ ।’ उहाँले भन्नुभयो, ‘यो स्वरुप, त्यो संरचना नभत्किदासम्म महिलाको विकासमा बाधा उत्पन्न हुन्छ ।’

महिला मानव अधिकार रक्षक सञ्जालको केन्द्रिय सचिव तथा पत्रकार आचार्यले राजनीतिक संघर्षका कारण अहिले राज्यका विभिन्न संरचनाहरुमा महिलाहरुको सहभागीता भएपनि त्यसको अर्थपुर्ण उपलब्धी अहिलेसम्म देखा नपरेको भन्दै स्वामित्व पुरुषसत्तामै रहेको उहाँले बताउनुहुन्छ । घरदेखि सडकसम्म महिलाहरु असुरक्षित हुनु भनेको समाज कमजोर रहेको चर्चा गर्दै उहाँले समाजमा समता कायमका लागि महिलाको मुद्धामा बोल्नु, लेख्नु र आवाजलाई निरन्तर रुपमा उठाउनु जरुरी रहेको बताउनुभयो ।

आधा दशक लामो समयदेखि हिंसा पीडित महिलाहरुको नेतृत्वमा रहेर काम गर्दै आउनु भएको रचना सुवेदीले अहिले सक्षम महिला सामुदायीक संस्था मार्फत घरविहिन दिदिबहिनीहरुको सहारा बन्दै आउनु भएको छ । आफु एक दिन सडकमा बस्नुपरेको स्मरण गर्दै सुवेदीले अरु दिदिबहिनी जुनसुकै कारणले घरबारविहिन भएर बस्नु नपरोस् भनेर यो क्षेत्रमा काम गरेको बताउनुभयो ।

शिक्षण पेसाबाट सामाजिक क्षेत्रमा काम गर्दा उत्पन्न बाधा र चुनौतीको बारेमा रचना सुवेदीले बोल्दै गर्दा हलभरीका मान्छहरु स्तब्ध रहे । उहाँले घोराही उपमहानगरपालिका वडा नंं १३ सेवारमा सक्षम महिला सामुदायीक संस्थाको संरचना निर्माण गरेर हिंसापीडित महिलाहरुको लागि काम गर्दै आउनु भएको छ भने न्यायका लागि न्यायलयसम्म पुगेर वकालत समेत गरिरहनु भएको छ ।

दोस्रो सेसनमा चार जना कविहरुले नारी मुद्धाका विषयमा कविताहरु सुनाउनु भएको थियो । कविहरु शारदा शर्मा, सन्ध्या रेग्मी, संगीत मगर र आशा वलीले कविताहरु बाचन गर्नुभएको थियो । महिला आन्दोलन, नारी हुनुका पीडाहरु, समाजले नपत्याएका विषय, अपांग महिलाका कथाहरु समेटिएका कविताहरु सुनाउनुभएको थियो ।

म त्यो युवती हो !

जो सङ अझै देखिने गरि बैसका रङ्गहरु फुलेका छैनन

नमेटिने गरि भाग्यका रेखाहरु केरिएका छैनन

अझ भनौ !

खुसी खुसी बाँच्नको

लागि एउटा जिबनका लय भेटिएका छैनन् ।

हरेकदिन गुनासो सहित प्रश्नको

ज्वार उब्जिन्छ मनमा

घुइया भाउमा पनि नबिक्ने रुप दिएर

आधाउधी मान्छेको स्वरुप दिएर

के भग्वान ले साच्चै न्याय गरे त मलाइ ?

हिंड्नको लागि एउटा खुट्टा पनि नदिएर !

कार्यक्रममा कवि आशा वलीले प्रस्तुत गर्नुभएको कवितामा आफ्नै अपांग फुपुको कथा थियो । दुई खट्टाहरुमा समस्या हुँदा सजिलै हिडडुल गर्न नसक्ने आफ्नै फुपुले सिलाई कटाई व्यवसायबाट आफ्नो जीवन निर्वाह गरेपनि आफुले आफैलाई हेर्ने कमजोर सोँचको विषयमा कविता प्रस्तुत गर्नुभयो । यस्तै कार्यक्रममा सन्ध्या रेग्मीले अहिलेको परिवेशमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको आफ्नो कवितामा उल्लेख गर्नुभयो । उहाँको कविताको अंशमा उल्लेख गरिएको ‘पहिले बोल्न पाईएन, अहिले कसैले सुन्दैन’ जस्ता बाक्यांशले धेरैको मन छोयो ।

सारा समाज एकातिर छोडेर

सातजन्मको बाचा एकातिर राखेर

कसरी त्यो दिल मेरो नाम गर्न सक्छौ ?

कसरी बहिरो बन्न सक्छौ

अबोध छोरीको चित्कारमा ?

कसरी कुल्चिन सक्छौ आफ्नै‌

जिवन संगिनीको वर्षौको आस्था माथी ?

कवि संगीत मगरले सनाउनु भएको भिन्नता शिर्षकको यो कविताले समाज, प्रेम र महिना उत्पीडनको भाव बोलेको थियो । कविहरुले आफ्ना कवितामा पुरातन समाज प्रतिको विद्रोह, न्यायको अपिल र समताका लागि आह्वान गरेका थिए । कार्यक्रमको सहजीकरण उदाहरण समूह, नेपालका अभियान्ता अनुपमा खत्रीले गर्नुभएको थियो ।