गरिवले पढ्ने विद्यालय

फोटो फिचर सहित

दाङ, पुस । गाउँ र जंगलको विचमा छ विद्यालय । सामान्य पर्खालले घेरीएको विद्यालय र प्राङगणमा विद्यार्थीहरु खेल्दै थिए । पुरानो मोडेलको पहेँलो रँगको स्कुल बस प्राङगण मै छ । विद्यालयका ८ वटा भवनहरु मध्य ५ वटा भवन जिर्ण अबस्थामा छन् । वर्षौ पहिले निर्माण गरिएका पुराना शैलीका ती भवन भित्र बसेर अध्ययन गर्छन् बालबालिकाहरु ।

Buddha International Hospital

Advertise with us

घोराहीको उपमहानगरपालिका वडा नं. १३ सेवार बनगाउँमा पर्ने बराहक्षेत्र माध्यामिक विद्यालय अभाव झेलिरहेको छ । त्यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई देश विदेशले चिनिसक्यो तर विद्यालयलाई आफ्नै गाउँ र वडाले सम्म चिन्न सकेन । ‘१५ लाख ऋण छ, गरिव छन् विद्यार्थीहरु, महंगो शुल्क तिर्न सक्दैनन्, सरकारबाट अनुदान पाउन सकिएन, त्यहाँसम्म पुहँच छैन ।’ प्रधानाध्यापक बाल्मी केसीले भन्नुभयो, ‘विद्यालय चलाउन गाह्रो भयो ।’

२०१७ सालमा स्थापना भएको यो विद्यालय २०३८ सालदेखि औपचारिक रुपमा सञ्चालित छ । विद्यालय स्थापना भएको ५८ वर्षसम्म प्रावि, निमावि हुँदै मावि त बन्यो तर विद्यालयको समग्र विकास भने हुन सकेन । त्यसका पछाडी नेपालको राजनीतिक खिचातानी देखि अभिभावकहरुको भावना प्रमुख कारण हुन भन्नु हुन्छ प्रधानाध्यापक केसी ।

युद्धपछि आरालो

नेपालमा चलेको १० वर्षे युद्धले प्रत्येक विषयहरु छोईए । त्यसबाट मावि बनगाउँ पनि जोगिन सकेन । ‘मावि बनगाउँ युद्ध भन्दा अगाडी राम्रो थियो । तत्कालिन अबस्थामा विद्यार्थीको संख्याको अनुपातमा भवनहरु राम्रै थिए, शिक्षकहरु उत्साहित थिए भने शिक्षाको लहरले गाउँशहर प्रभावित थियो ।’ केसीले भन्नु हुन्छ ।

तर युद्धका क्रममा अन्य विद्यालय र विद्यार्थी जस्तै मावि सेवार बनगाउँ र त्यहाको विद्यार्थीहरु प्रभावित भए भनेँ शिक्षण सिकाई क्रियाकलापहरु कमजोर भए । बनको नजिकै रहेको बनगाउँ विद्यालयमा युद्धकै जगजगीका कारण विद्यालयको शिक्षण सिकाई र विकास प्रभावित भयो । १० वर्षे युद्धले करिब १५ वर्ष विद्यालयको भौतिक विकासमा कुनै पनि काम हुन सकेन । त्यो सुन्य १५ वर्षले अहिले विद्यालय ऋणमा चलेको छ ।

‘कुनै समय थियो यो विद्यालयमा एक हजार भन्दा बढि विद्यार्थीहरु अध्ययन गर्थे, अहिलेका सांसद अमरबहादुर डाँगी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष देविबहादुर डिसी, हेमन्त पाण्डेयहरु प्रधानाध्यापक हुनुभएको विद्यालय हो यो ।’ प्रअ केसीले सुनाउनुभयो, ‘म आउँदा ३ सय पनि थिएनन् विद्यार्थीहरु, अहिले ५ सय २८ जना विद्यार्थीहरु छन् । अभिभावकहरुको मन जित्ने कोसिस गर्दै छौँ ।’

छेउका विद्यार्थी बार्डिङले ओसार्छन्

अँग्रेजी शिक्षाका नाममा अभिभावकहरु सरकारी विद्यालयको नाम सुन्दैमा नाक चाउरी पार्छन् । यहि समस्याबाट गुज्रिएको मावि सेवार बनगाउँका शिक्षकहरु घरघरमा पुगेर अभिभावकलाई विद्यार्थी भर्नाको लागि अनुरोध समेत गरे । तर त्यहि विद्यालय छेउका बालबालिका घोराही आउछन् बोडिङमा अध्ययन गर्न ।

‘विद्यार्थीहरुको संख्या घट्यो, ३ सय भन्दा कम नै भयो, हामी घरघरमा पुगेर विद्यार्थीहरु भर्ना गर्नुस् भन्दा पनि अभिभावकहरुले मन गर्नुभएन । त्यसपछि हामीले विद्यालय विगारेछौँ भन्ने महसुस भयो ।’ प्रधानाध्यापक केसीले भन्नुभयो, ‘त्यसपछि हामीले अग्रेजी शिक्षा सुरु ग¥यौँ ।’

शैक्षिक २०७४ साल देखि विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्म अग्रेजी शिक्षा लागु भएको छ । सन्तानलाई अग्रेजी शिक्षा दिने अभिभावकहरुको योजनालाई पुरा गर्ने गरि विद्यालयले सिमित स्रोत साधनको विचबाट अग्रेजीहरु शिक्षा सुरु गरेको छ । अहिले कक्षा ६ सम्म अँग्रेजी भाषामा अध्यापन हुन्छ । ‘हामीले सक्दो राम्रो गर्ने कोसिस गरेका छौँ, अहिले विद्यार्थीहरुको संख्या समेत बढेको छ । यो राम्रो संकेत हो ।’

२ घण्टा हिडेर विद्यालय

निजी विद्यालयको शुल्क तिर्न सक्ने अभिभावकहरुले आफ्ना सन्तानहरु बोडिङमा पठाउछन् । तर गरिव विपन्न बालबालिकाहरु भने लामो बाटो हिडेर विद्यालय पढ्न आउछन् । विद्यालयले विभिन्न शिर्षकमा बाध्यात्मक रुपमा लिदै आएको शुल्क तिर्न समेत धौ धौ पर्छ उनीहरुलाई ।

मौलाकोट, बुढाकोट, लाहापेबाट विद्यार्थीहरु दैनिक घण्टौ हिडेर विद्यालय झर्छन् र हिडेरै घर फर्किन्छन् । यस्तै लेटार जनकपुरबाट समेत विपन्न वर्गका विद्यार्थीहरु आउछन् । ‘यो विद्यालयमा धेरै जसो गरिव विद्यार्थीहरु छन्, कहिलेकाही अभिभावकहरुलाई पनि लिएर आउ भन्छौँ हामीहरुले तर घरमा काम गर्नुपर्छ, काम नगरे खाने कुरा हुँदैन भन्छन्’ प्रअ केसीले भन्नुभयो, ‘दलित, जनजाति समुदायका बालबालिकाहरुले अध्ययन गर्ने भएकाले हामीले उनीहरुलाई छात्रबृद्धिको समेत व्यवस्था गरेका छौँ ।’

टाढाका विद्यार्थीहरुको सहजता र शैक्षिक सुधारका लागि विद्यालयले छात्रबास समेत सञ्चालन गर्दै आएको छ । दुई वर्ष देखि सञ्चालन गरिएको छात्रावासका कारण शिक्षामा सुधार आएको विद्यालयले बताउँछ । अहिले विद्यालयले सञ्चालन गरेको छात्रावासमा ३० जना विद्यार्थीहरु छन् ।

महायज्ञ र योजना

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ–२०७५ को तयारी गरेको छ । प्राविधिक तथा उच्च शिक्षाकालागि भौतिक पुर्वाधार निर्माण गर्न विद्यालयले महायज्ञ सञ्चालन गर्न थालेको प्रअ केसीले जानकारी दिनुभयो ।

यहि माघ ३ गते देखि १० गते सम्म सञ्चालन हुने महायज्ञका लागि प्रचारप्रचार तथा व्यवस्थापनको कार्यलाई तिव्रता दिएको छ । महायज्ञलाई सफल बनाउन मुल समिति अन्तर्गत रहेका ६४ वटा विभिन्न उपसमितिहरु समेत सक्रिय भएर लागेको र मुल आयोजक समितिको संयोजकमा समाजसेजी विमला योगी रहनु भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि हुन थालेको महायज्ञलाई सवैले सहयोग गर्न आग्रह गर्नुभयो । विद्यालयले ५ करोड रुपैयासम्म आर्थिक सहयोग संकलन हुने अपेक्षा समेत गरेको छ ।