‘राज्यलाई खबरदारी गर्न साहित्य जरुरी छ’

कवि महेश मानव

कवि महेश मानव रोल्पाको स्यूरी हुँदै अहिले दाङको देउखुरी क्षेत्रलाई कर्मथलो बनाएर काम गर्दै हुनुहुन्छ । नेपालमा चलेको १० वर्षे युद्धको क्रममा छापामार भएर लड्नु भएका महेश मानव देशमा शान्ति स्थापना सँगै विदेश जानुपर्ने बाध्यता आयो । विदेशमा बस्दै गर्दा उहाँले लेखेका कविताहरु नेपाली साहित्यिक क्षेत्रमा चर्चित छन् । गजल, मुक्तक हुँदै कविता विधालाई समाएर साहित्य कर्ममा लागिरहनु भएको छ । उदाहरण समूह, नेपालले आयोजना गरेको कम्ब्याट कवितामा समेत सहभागी हुनु भएका कवि महेश मानवसँग  नवीन अभिलाषीले गर्नुभएको साहित्यिक कुराकानीको सारसंक्षेप :

आजभोलि के मा ब्यस्त हुनुहुन्छ ? दिनहरु कसरी वितिरहेको छ ?

DG Mobile Dang

आजभोलि नयाँ केही छैन । उहीँ पुरानो व्यवसायलाई निरन्तरता दिने र कसरी राम्रो बनाउन सकिन्छ भनेर त्यसमै केन्द्रित भएर काम गरिरहेको छु, र दैनिकीहरु पनि यसरी नै वितिरहेको छ ।

आफ्नो व्यवसाय र साहित्यको क्षेत्रलाई संगसंगै कसरी अगाडि बढाईरहनु भएको छ ?

व्यवसायमा म त्यति पुरानो र अनुभवी हैन त्यसैले पुरानो व्यावसाय गरिरहेका साथीहरूसँग भेटघाट छलफल अन्तरक्रिया गर्ने आफ्नो कम्पनीमा उत्पादन हुने सामानहरुको बारेमा जानकारी दिने गरिरहेको छु । र साहित्यमा पनि म पुरानो हैन त्यसैले मेरो वरिपरि हुने साहित्य कार्यक्रममा साहित्यिक गतिविधिहरुमा सहभागी हुने साथीहरूको रचना सुन्ने कहिलेकाही आफ्नो पनि सुनाउने र केही किताबहरु पढ्ने गरेर आफ्नो आफ्नो व्यवसाय र साहित्यिक यात्रालाई अगाडी बढाईरहेको छु ।

साहित्यमा तपाई कुन विधामा बढि रमाउनुहुन्छ ?

म आफुले लेख्न सुरुवात गरेको बिधा सबैभन्दा पहिले गजल थियो । यद्यपी त्यो गजल भएको थिएन । त्यसपछि बिचमा मुक्तक पनि लेखेँ । अहिले गद्य कविता लेख्न सुरु गरेको छु । म आफु बढी रमाउने र पढ्ने विद्या भनेको कविता उपन्यास र कथा हो । यो तिनवता बिधाका पुस्तक पढ्ने बेलाको महसुस आनन्द भिन्नै प्रकारको हुन्छ । यसको मतलब यो हैन कि अरु विधाका पुस्तक राम्रो छैनन् ।

कविता लेखनमा आफुलाई कुन स्तरको मापन गरिरहनु भएको छ अहिलेसम्म ?

यो प्रश्न खत्रा आयो त । सबैभन्दा अफ्ठेरो लाग्ने भनेकै आफैले आफैलाई मापन गर्ने हो । मेरो सन्दर्भमा, कविता लेखनको क्षेत्रमा मेरो स्तर भन्नु पर्दा साधारण एउटा विद्यार्थी हुँ । बिद्यार्थीको रुपमा कवितामा प्रयोग हुने बिम्ब, प्रतिक, बिचार, कलालाई समायोजन गरेर कसरी राम्रो कविता लेख्न सकिन्छ भनेर बामे सर्दै गरेको मान्छे मात्र हुँ म । मेरो कविताको क्षेत्रमा कुनै स्तर छैन । निरन्तर लाग्दै गए भने साधन गर्दै गए भने त्यो भोलिले भन्ने छ ।

सिर्जना गर्ने मान्छे तपाई । नेपाली समग्र साहित्य बारे कत्तिको चासो राख्दै आउनु भएको छ ?

अलि अलि चासो त राखि नै हालिन्छ । तर मैले राख्ने चासोले समग्र नेपाली साहित्य क्षेत्रको सकारात्मक र नकारात्मक कुरालाई उजागर गर्न नसकौँला किन भने मेरो अध्यन मेरो चेतनाको दायरा र फैलावट मेरो दृष्टिले नदेख्ला किन भने मेरो अध्यान जति छ, त्यति चासो राख्ने कोसिस गर्छु ।

पछिल्लो साहित्यको माहोल कस्तो छ ? खासगरी दाङ जिल्ला र बाहिरको विचमा तुलना गर्दा ?

देशै भर पछिल्लो साहित्यिक माहोल एक दमै राम्रो छ । विभिन्न नामा ठुला ठुला साहित्यिक फेस्टिबल भईरहेका छन् । त्यो कार्यक्रम मार्फत लेखकहरुले चाहेको अथवा परिकल्पना गरेको समाज कस्तो ? उनिहरुले सोचेको राज्य व्यवस्था कस्तो भनेर थोरै भएपनि बहसहरुमा उजागर हुदै आएका छन् । तथापि यो कार्यक्रम पर्याप्त छैन । खासगरी दाङ जिल्ला र बाहिरको साहित्य माहोल केही न केही रुपमा फरक छ । आआफ्नो सन्दर्भ समाज भुगोल अनुसार त्यहाँका साहित्यकार साथीहरूले नयाँ नयाँ शैलिमा कार्यक्रम चलाई रहेको देख्न सकिन्छ । त्यो राज्यलाई खबरदारी गर्ने देखि विभिन्न कुनामा छरेर रहेका स्रस्ताहरुलाई जमघट गर्नेदेखि विभिन्न कालखण्डमा लेखिएका रचना सुन्ने सुनाउने आदी देख्न सकिन्छ । राज्यलाई खबरदारीका लागि साहित्य जरुरी पनि छ ।

तपाईले कहिलेदेखि सिर्जनामा लाग्नुभयो ?

सिर्जनामा मेरो यात्रा त्यति लामो छैन । भर्खरै भर्खरै हो म सिर्जना गर्न लागेको । पहिले पहिले पनि पुस्तकहरु पढ्ने गर्थें । विषेश गरेर म बिदेश बस्ने बेलादेखि सृजना गर्न लागेको हो । नेपाली मन र विदेशको माहोलका कारण मैले साहित्यको यात्रा गर्नका लागि बाताबरण निर्माण भयो । हुन सक्छ, म बाध्यताले विदेश बसे पनि नेपालीपनका कारण म साहित्यमा लाग्न सकेँ ।

नेपालमा बस्दा र बाहिर बस्दा साहित्यमा काम गर्न कहाँ सहज हुदो रहेछ र किन ?

सृजना गर्न सजिलो त विदेशमा नेपालमा जहाँ बसेर पनि गर्न सकिन्छ फरक यति हो । बिदेशमा कामो टाइम टेबुल हुन्छ र एकहोरो काम हुन्छ नेपालमा कामको टाइम टेबल हुदैन । धेरैकाम एउटै मान्छेले गर्नुपर्छ । बिना रुटिनको यसले केही सकस पर्छ । यो मेरो ब्यक्तिगत कुरा अरुमा मेल नखान पनि सक्छ ।

भोलिका दिनहरुमा साहित्यीक क्षेत्रमा आफुलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?

हा हा हा खासै यसरी नै अगाडी बडाउछु भन्ने त छैन तै पनि समय मिलेसम्म विविध किसिमका साहित्यिक कार्यक्रममा सहभागी हुँदै आफ्नो रचनाहरुलाई परिष्कृत गर्दै अगाडी बड्ने योजना छु ।

नयाँ पुस्तालाई जिल्लादेखि समग्र नेपालभर स्थापित हुनको लागि सामाजिक संजाल खासगरी फेसबुकले कसरी सहयोग गरिरहेको छ ?

फेसबुकले नयाँ पुस्ता र पुराना पस्ता बिच एउटा पुलको काम गरेको छ । विशेष गरेर साहित्य लेखन क्षेत्रमा नयाँ रुचि राख्ने म जस्तो साथीहरूलाई केही सहयोग अनिबारे गरेको छ । छलफल अन्तरकृयादेखि सल्लाह सुझाव दिन लिन जान्नु पर्छ ।

तपाईले आफ्नो सिर्जनामा कस्ता विषयहरु उठान गर्दै आउनु भएको छ र किन ?

मेरो सृजनामा विशेष गरेर प्रेमील कुराहरु बढी समेटिएको छ । यसको मतलब यो हैन की सामाजिक, राजनैतिक र पहिचानको सवाल लेख्दै नलेखेको । तर कम लेखेको छु सामाजिक, राजनैतिक पहिचान माथि लेखिएका रचनाहरुको जति ओजन हुन्छ प्रेमील लेखनको सैद्धान्तिक हैसियत त्यति धेरै हुदैन । अब उप्रान्त अलि बढी सामाजिक र पहिचानको विषय तिर केन्द्रित हुने कोसिस गर्दैछु ।

अहिलेको नयाँ पुस्ताले आफ्नो सिर्जनामा कस्ता विषयहरु उठाउनुपर्छ ?

अहिलेका नयाँ पुस्ताले आफ्नो सृजनामा विषेश गरेर सामाजिक, पहिचान, राजनैतिक र सिमान्तकृत समुदायको पक्षमा बढी केन्द्रित हुनुपर्छ । एउटा सर्जक जहिले पनि सत्ताको र शक्तिको प्रभाव भन्दा बाहिर रहेर कलम चलाउनुपर्छ ।

अन्त्यमा केहि भन्नु छ कि ?

अन्तमा नेपाली समुदायले आफ्नो राज्य व्यावस्था र राजनेता प्रति विस्वास नगरी रहेको बेला समाजप्रति सबै लेखक र सृजना कर्मामा लाग्ने जति पनि छन् छौ ईमानदारी पुर्वक आफ्ना सृजनाहरु समाज परिवर्तनको निम्ति योगदान पुराउने हेतुले सृजना गरौं भन्न चाहन्छु ।