बत्तीमुनिको बालमन्दीर

आफ्नो नाममा जग्गा नहुँदा विकासबाट बन्चित, अफ्ठेरोमा बौद्धिक अपांग विद्यार्थी

दाङ, पुस । २०३२ सालमा मुमा बडामहारानीलेले स्थापना गरेको घोराहीको बालमन्दीर प्रावी ४३ वर्षपछि पनि विकास हुन सकेन । ३ देखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुको अध्ययनका लागि स्थापना भएको बालमन्दीरले त्यसको ठिक १० वर्षपछि औपचारिक रुपमा स्वीकृत प्राप्त गरी कक्षा सुरुवात गरेको थियो ।

Buddha International Hospital

Advertise with us

दिनप्रतिदिन विकसित हुँदै गैरहेको घोराही बजारको मुटुमा रहेको यो विद्यालयको विकास भने आशातित रुपमा हुन नसकेको विद्यालयको प्रधानाध्यापक विष्णु भण्डारीले बताउनुभयो । २ सय ४ जना विद्यार्थीहरुले अध्ययन गर्ने यो विद्यालय धेरैको लागि बोझ समेत बनेको छ । छेउका निजी विद्यालयहरुले रातारात प्रगती गर्दा सामुदायीक विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयको विकासका लागि नेतृत्वको अभाव खड्किएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

विद्यालयका ४ वटा भवन छन् । २०३२ सालमा निर्माण भएको एउटा पुरानो भवन छ भने बाँकी तीन वटा भवनहरु विभिन्न निकायहरुको सहयोगमा निर्माण भएका थिए । त्यसबाट ४२ वर्षसम्म विद्यालयको भौतिक विकासका लागि कुनै प्रयास भएका छैनन् । ‘बजारको विचमा विद्यालय भएर के गर्नु ? बजारका विद्यार्थीहरु यो विद्यालयमा पढ्न आउँदैनन् ।’ प्रधानाध्यापक भण्डारीले भन्नुभयो, ‘बजारका सबै बालबालिकाहरु निजी विद्यालयमा जान्छन् । यो विद्यालयमा टाढाबाट आउछन्, जति आउछन्, सबै गरिव तथा विपन्न वर्गका बालबालिकाहरु छन् ।’

सन्तानको भविष्यका लागि चासो गर्ने अभिभावकहरले गुणस्तरिय शिक्षाको नाममा आफ्ना बालबालिकालाई चर्कै शुल्क तिरेर निजी विद्यालयमा भर्ना गर्छन् । घर आँगनकै विद्यालय भएरपनि बालमन्दीर छेउका कुनै पनि बालबालिकाहरुले त्यहा पढ्दैनन् । जो निजी विद्यालयमा भर्ना हुन सक्दैनन् ति गरिवहरुको विद्यालय हो बालमन्दीर प्रावि । विहान बेलुका क्रिकेट खेल्ने ठाउँको रुपमा मात्रै बालमन्दीरको प्राङगण प्रयोग हुने गरेको छ ।

जग्गाको विवाद

विद्यालयले चर्चिदै आएको १६ कठ्ठा जग्गा आफ्नो हैन । विद्यालयको भौतिक विकास हुन नसक्नुको प्रमुख कारण जग्गा आफ्नो नहुनु हो भन्नु हुन्छ प्रधानाध्यापक भण्डारी । विद्यालय रहेको जग्गाको स्वामित्व चिराचिरा छ ।

उत्तर तर्फको जग्गा घोराही नगरपालिका समितिको रहेको छ भने पुर्वपश्चिम फैलिएको जग्गमा व्रिजलाल चौधरीले दावि गर्दै आएका छन भने । विचभागमा नगरविकास समिति र घोराही उपमहानगरपालिकाको नाममा रहेको जग्गा छ । साथै दक्षिण तर्फको पुर्वपश्चिमफैलिएको जग्गा मुरारी प्रसाद बानियाको रहेको विद्यालयले जनाउँछ । विद्यालयको नाममा जग्गा नहुँदा भौतिक विकासका लागि कुनै निकायबाट सहयोग प्राप्त हुने बाटो बन्द भएको उहाको भनाई छ ।

विद्यालय र व्रिजलाल चौधरी विच जग्गाको विवाद सर्वोच्च अदालत सम्म पुगेको छ । विद्यालयले प्रयोग गर्दै आएको जग्गा चौधरीले आफ्नो दावि गरेपछि जिल्ला अदालत हुँदै मुद्धा सर्वोच्चमा पुगेर विचाराधिन अबस्थामा छ । यस अगाडी जिल्ला अदालतले चौधरीको पक्षमा फैसला गरेको थियो भने पुनराबेदन अदालतले त्यसलाई उल्ट्याउँदै विद्यालयको पक्षमा फैसला गरेको थियो । पुनः सर्वोच्चमा मुद्धा परेपछि अहिले विचाराधिन अबस्थामा रहेको विद्यालयका प्रअ भण्डारीले बताउनुभयो ।

‘विद्यालयसँग आफ्नै नाममा जग्गा छैन, जग्गा नहुँदा भौतिक विकास नभएको भन्ने मैले बुझेँ ।’ गतअसार देखि प्रधानाध्यापकको भुमिकामा रहनु भएका भण्डारीले भन्नुभयो, ‘भौतिक पुर्वाधार नै नभएपछि कस्ले कसरी विद्यालयको विकास हुन्छ ?’

अफ्ठेरोमा बौद्धिक अपांग

बालमन्दीर प्राविमा अहिले २४ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु अध्ययन गर्छन् । १२ जना छात्रा र १२ जना छात्र गरेर २४ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु मध्य १५ जना विद्यालयमा आवासिय रुपमा अध्ययन गर्छन् । ९ छात्रा र ६ छात्र छन् ।

बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई अध्ययन गराउने शैक्षिक क्रियाकलाप भने सामान्य छ । उनीहरुलाई अध्ययन गराउन विशिष्ठ शैली र तालिम प्राप्त शिक्षक हुनुपर्ने भएपनि सामान्य शिक्षकले अध्यापन गराउँदै आएको विद्यालयले बताउछ । उनीहरुको बुझाइको स्तर अनुसार उपयुक्त कक्षा र तालिम प्राप्त शिक्षकको व्यवस्था गर्न विद्यालयले सकेको छैन । विद्यालयमा ७ वर्षदेखि पढ्दै आएका बालबालिकाहरु पनि छन् भने केहि महिनादेखि पढ्दै आएका बालबालिकाहरु पनि त्यहि कक्षामा छन् ।

त्यस्ता बालबालिकाहरुका लागि होस्टेल पनि उपयुक्त छैन । अपांगमैत्री भवन नहुँदा उनिहरु सधै जोखिम मोलेर हिड्ने गर्छन् । पुरानो भवनको माथिल्लो तलामा होस्टेलको व्यवस्था हँुदा उनीहरुलाई उक्लिन र झर्न समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनुभयो । अहिले सम्बन्धित निकायहरुबाट उनीहरुका लागि सहज शिक्षा प्राप्त गर्ने वातावरण नबनाइदा असामान्य अवस्थामा रहेका उनीहरुले सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य भएका हुन । उनीहरुको अध्ययनका लागि छुट्टै शिक्षण सिकाई प्रक्रिया लागु गर्न सकिएको छैन ।