नर्सको जागिर निल्नु न ओकल्नु : १५ लाख खर्च, ८ हजार तलव

नर्सहरूको पेसा बाहिरबाट जति ग्ल्यामरस देखिन्छ, भित्र त्यत्तिकै पीडादायी छ । लाखौँ खर्च गरेर पढेका नर्सहरूको चरम श्रमशोषण भइरहेको छ । सुरुमा जागिर पाउन कठिन छ, पाए पनि जीवन धान्नै नसक्ने तलब हुन्छ । नर्सहरूको उत्पादन धेरै र माग कम हुँदा हजारौँ नर्सको श्रमशोषण हुने गरेको छ । जसको प्रभाव उनीहरूले दिने स्वास्थ्य सेवामा समेत परिरहेको छ । सरला कट्टेलको रिपोर्ट :

Buddha International Hospital

Advertise with us

नेपाली समाजमा छोरीलाई नर्स बनाउने धेरै अभिभावकको चाहना हुन्छ । नर्सिङ पेसामा ठूलो आकर्षण छ । तर, बाहिरबाट हेर्दा यो पेसा जति राम्रो देखिन्छ, यसभित्रका पीडाहरू त्यति नै दर्दनाक छन् । खर्चका हिसाबले पनि नर्सिङ पढ्न निकै महँगो छ । ५ देखि ८ लाख नर्सिङ र १५ लाख रुपैयाँसम्म बिएस्सी नर्सिङ पढ्न खर्च लाग्छ । तर, जति आशा गरेर अभिभावकले छोराछोरीलाई नर्सिङ पढाउँछन् त्यो आशाको परिणाम सोचेजस्तो हुँदैन ।

५ वर्षअघि नर्सिङ सकेकी कञ्चनपुरकी गंगा चौधरीले स्वास्थ्य संस्थामा काम गरेको ४ वर्ष भयो । उनको मासिक तलब अहिले ५ हजार रुपैयाँ छ । चौधरीले कञ्चनपुरकै अस्पतालमा ८ महिना भोलेन्टियर्स गरिन् । उनी त एक उदाहरण मात्र हुन् । काम नगरे आफूमा भएको सीप बिर्सने, काम गरे पकेट खर्च नपुग्ने अवस्था नर्सहरूको छ । उनी भन्छिन्, ‘लाखौँ खर्च गरेर नर्सिङ पढियो । अहिले आफूलाई आवश्यक पर्ने खर्च पुर्‍याउन अरूको भर पर्नुपर्ने बाध्यता छ ।’

सरकारी अस्पतालमा २० हजार नर्सको कोटा छ, त्यसमा १० हजार मात्र काम गरिरहेका छन् । नर्स प्यासेन्ट रेसियोअनुसार अस्पताल, स्कुल–कलेजमा राख्ने हो भने नेपालका ७२ हजार नर्सले जागिर पाउँछन् । त्यस्तै, विराटनगरमा काम गर्दै आएकी दीपा श्रेष्ठको पनि मासिक ८ हजार रुपैयाँ पारिश्रमिक छ । श्रेष्ठले बिएस्सी नर्सिङ सकेकी छिन् । श्रेष्ठ अब विदेश जाने सोचमा छिन् । उनले भनिन्, ‘विदेशमा नर्सहरूका लागि अत्यन्तै राम्रो अवसर छ । १ हप्ता कमाउँदा १५ दिन मज्जाले खान पुग्छ । नेपालमा दिनको १२ घन्टा काम गर्दा पकेट खर्च पनि पुग्दैन । कति दिन खालीपेट काम गर्न सकिन्छ र ?’ सरकारले न्यूनतम पारिश्रमिक तोकेर अस्पतालमा नर्स प्यासेन्ट रेसियो राख्यो भने पनि नर्सहरू विदेश पलायन नहुने श्रेष्ठको तर्क छ ।

कैलाली टीकापुरकी उर्मिला चौधरीलाई त्यहाँको सरकारी स्वास्थ्य संस्थाले ६ महिनाको भोलेन्टियर्सपछि कामबाटै निकालिदियो । स्वास्थ्य चौकीका कर्मचारीले केही समय भोलेन्टियर्स गर्नुपर्ने बताएपछि उनले जागिर पाउने आशामा भोलेन्टियर्स गरिन् । ६ महिनापश्चात् जब उर्मिलाले पारिश्रमिक मागिन्, काम गर्न नसकेको भन्दै उनलाई अस्पतालबाटै निकालियो । उर्मिलाले न्यायका लागि लड्ने ठाउँ कतै भेटिनन् । सरकारी अस्पतालले अस्पताललाई कमाउने भाँडो बनाउन थालेको उर्मिलाको आरोप छ ।

बिएस्सी नर्सिङ गरेकी काठमाडौं बस्ने प्रीति पोखरेलले राजधानीको पुरानो बानेश्वरमा रहेको एक अस्पतालमा १० हजारमा काम गरिरहेकी छिन् । बिएस्सी नर्सिङ गर्न कम्तीमा १५ लाखको हाराहारीमा खर्च हुन्छ । पोखरेल भन्छिन्, ‘मैले ४ हजार पारिश्रमिक लिएर काम सुरु गरेको अहिले १० हजार पुगेको छ ।

सरकारले निजी अस्पतालको नियमन नगर्दा र दरबन्दी खाली भएको अस्पतालले पनि दरबन्दी नखुलाउँदा नर्सहरू बेरोजगार भइरहेका छन् ।’
गंगा, दीपा, प्रीति र उर्मिलाको जस्तै नेपालमा नर्सिङ पढ्ने धेरै नर्सको पीडा उस्तै छ । नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलका अनुसार नर्सले आफ्नै समस्या र चुनौती हुँदाहुँदै पनि अस्पतालमा बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर, उनीहरूको समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् ।

१ नर्सको भागमा ५० बिरामी

—विश्व स्वास्थ्य संगठनले जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी, सुत्केरी वार्डमा २ नर्स १ बेड, आइसियू, सिसियूमा १ नर्स १ बिरामी, पोस्ट अपरेटिभ वार्डमा १ नर्स १ बिरामी, अपरेसन थिएटरमा १ टेबल ३ नर्स हुनुपर्ने मापदण्ड बनाएको छ । नेपाल सरकारले पनि डब्लुएचओको मापदण्डमा हस्ताक्षर गरेको छ । तर, त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो दिएको छैन । अहिले सरकारी अस्पतालमा १ नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

—तारा पोखरेलका अनुसार सरकारले नर्स र बिरामीको अनुपात कार्यान्वयनमा ल्याउने हो भने अहिलेका निजी तथा सरकारी अस्पतालले उत्पादन गरिरहेका नर्स अस्पतालमा खपत हुन्छन् । सरकारी अस्पतालमा २० हजार नर्सको कोटा छ, त्यसमा १० हजार मात्र काम गरिरहेका छन् ।

—बाहिरको प्राक्टिस हेर्ने हो भने स्कुल, कलेज, फ्याट्री सबैतिर नर्स राखिएको हुन्छ । नर्स–प्यासेन्ट रेसियोअनुसार अस्पताल, स्कुल–कलेजमा राख्ने हो भने नेपालका ७२ हजार नर्सले जागिर पाउँछन् । सरकारले अस्पतालको गुणस्तरमा ध्यान नदिँदा नर्सहरू त्यसको मारमा परेका छन् । नर्सहरूको अधिकारको क्षेत्रमा काम गर्ने संस्था एन्टी करप्सन मुभमेन्टका संयोजक पारुल क्षेत्रीले सरकारले नर्सहरूको श्रमशोषण गर्नेलाई प्रश्रय दिएर राखेको आरोप लगाए ।

वर्षमा ८ हजार नर्स उत्पादन

नेपाल नर्सिङ काउन्सिलमा हालसम्म दर्ता हुने नर्सको संख्या ७१ हजार ५ सय ५७ रहेको छ । जसमा एएनएम पढ्ने नर्सको संख्या २७ हजार ५ सय ८९, नर्सहरू ४३ हजार १ सय ३९, विदेशी नर्सको संख्या ८ सय २९ रहेको छ । करिब ३ सय नर्सिङ कलेजबाट वार्षिक ८ हजारको संख्यामा नर्सहरू उत्पादन हुन्छन् । नेपालमा त्रिभुवन युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, काठमाडौं युनिभर्सिटी, बिपिकेएच धरानबाट विद्यार्थी उत्पादन हुन्छन् । एएनएममा ५०, स्टाफ नर्स १ सय १९, बिएस्सी नर्सिङमा ४५, ब्याचलर अफ नर्सिङ, मास्टर्स अफ नर्सिङ गरेर ३ सय नर्सिङ कलेजबाट विद्यार्थी उत्पादन भइरहेका छन् ।

काउन्सिलमा दर्ता भएका नर्स कोही कामबाट बिदा भए भने कोही विदेश पलायन भएका छन् । कोही नर्स निजी अस्पतालमा विनापैसा काम गर्न बाध्य छन्, अत्यन्तै कम पारिश्रमिकमा काम गरिरहेकाहरू पनि उत्तिकै छन् । नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलका अनुसार १० हजार नर्स सरकारी अस्पतालमा काम गरिरहेका छन् । करिब २५ हजार नर्स निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन् । तीबाहेकका नर्सहरू कोही कम पारिश्रमिकमा काम गरिरहेका छन् भने कोही विदेश पुगेका छन् । पोखरेलले सरकारले निजी स्वास्थ्य संस्थालाई मनोमानी गर्न दिएर नर्सहरू श्रमशोषणमा परेको आरोप लगाइन् । स्वास्थ्यमा राजनीति हुँदा त्यसको मारमा नर्सहरू परेको उनले बताइन् ।

नर्सको गन्तव्य विदेश

विदेशमा नर्सहरूको डिमान्ड धेरै हुन्छ । डाक्टर पढेर जानेले भन्दा नर्स पढेर जानेले विदेशमा राम्रो काम र पैसा कमाउने हुनाले नर्सहरू विदेश जाने गरेको नेपाल नर्सिङ संघका अध्यक्ष तारा पोखरेलले बताइन् । यसरी अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतलगायतका देश नर्सको प्रमुख गन्तव्य बन्ने गरेको छ । नेपालबाट बिडिएस, एमबिबिएस, इन्जिनियरिङ, इकोनोमिक्स पढेर विदेश जानेकोभन्दा नर्सिङ पढेर जानेलाई विदेशमा राम्रो अवसर छ । नर्सिङ पढेर विदेश जानेले त्यहाँ गएर नर्सिङको लाइसेन्स लिएर नर्सिङकै काम गर्न पाउँछन्, तर अरू पढेर जानेले बिरामीको केयर गर्ने, बिरामी सार्ने, डुलाउने, औषधि दिने, इन्जेक्सन मिलाउने काम गर्छन् । विदेशमा बस्ने नेपालीले नेपाली नर्स विवाह गर्न रुचाउँछन् । नर्सिङ गरेकाले सजिलै काम पाउने भएकाले विदेशमा बस्ने युवाले नेपाली नर्स विवाह गर्ने गर्दछन् । विदेशमा नेपाली नर्सले कम्तीमा मासिक २ देखि ५–७ लाख रुपैयाँसम्म कमाउने गर्छन् । त्रिवि शिक्षण अस्पतालकी पूर्वक्याम्पसप्रमुखसमेत रहेकी पोखरेलले महिनामा औसतमा ४ जनासम्म पढाइ छाडेर विदेश पलायन हुने गरेको बताइन् ।

राजधानीका चर्चित अस्पतालले नर्सलाई दिँदै आएको पारिश्रमिक

वीर अस्पतालले अनमीलाई मासिक २२ हजार १, पाँचौँ तहका स्टाफ नर्सलाई २३ हजार ५००, छैटौँ तहका स्टाफ नर्सलाई ३०,५००, नर्सिङ अधिकृत वा नर्सिङमा ब्याचलर गरेकोलाई ४० हजार १५०, नर्सिङ प्रशासन नवौँ तह ४०,१५० र नर्सिङ प्रमुखलाई ४२,८,८० तलब दिने गरेको छ ।

पाटन विज्ञान प्रतिष्ठान पाटन अस्पतालले पाँचौँ तहका स्टाफ नर्सलाई २५,९६९, नर्सिङ अधिकृतलाई ३३ हजार २ सय ७, नर्सिङ प्रशासकलाई ४३ हजार ६ सय ५५ रुपैयाँ दिँदै आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनमीलाई १६ हजार ८ सय, स्टाफ नर्स पाँचौँ तह २२ हजार ९००, स्टाफ नर्स छैटौँ तह २६ हजार ४००, नर्सिङ अधिकृत २८ हजार ८००, नर्सिङ प्रशासन पाँचौँ तह ३२ हजार ३०० र नर्सिङ प्रमुखलाई ५५ हजार ६०० रुपैयाँ दिँदै आएको छ ।

काठमाडौं मोडल कलेज अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १३ हजार, नर्सिङ अधिकृत सातौँ तहलाई १७ हजार, नर्सिङ प्रशासन नवौँ तहलाई २० हजार ५०० र नर्सिङ प्रमुखलाई ३० हजार रुपैयाँ दिँदै आएको छ । बी एन्ड बी अस्पतालले नर्सिङ पाँचौँ तहलाई १३ हजार १ सय, स्टाफ नर्स छैटौँ तहलाई १५ हजार ६ सय, अधिकृत सातौँ तहलाई २३ हजार, नर्सिङ प्रशासनिक नवौँ तहलाई ३० हजार र नर्सिङ प्रमुखलाई ५१ हजार दिँदै आएको छ ।

नर्भिक अस्पतालले अनमीलाई १० हजार ६ सय ५०, नर्सिङ पाँचौँ तहलाई १० हजार ६ सय ५० र स्टाफ नर्स छैटौँ तहलाई ११ हजार ८५, नर्सिङ अधिकृत सातौँ तहलाई २३ हजार, नर्सिङ प्रमुखलाई १ लाख रुपैयाँ दिँदै आएको छ ।

त्यस्तै ग्रान्डी इन्टरनेसनल अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १६ हजार, नर्सिङ अधिकृत सातौँ तहलाई ४० हजार, नर्सिङ प्रशासक नवौँ तहलाई ७५ हजार, नर्सिङ प्रमुखलाई १ लाख ५१ हजार रुपैयाँ दिँदै आएको छ ।

(नर्सिङ सुधार समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा आधारित)