दाङ प्रहरीले रोक्यो बालविवाह

दाङ, मंसिर १६ । दाङको प्रहरीले वालविवाह रोकेको छ । घोराही बजारबाट १४ वर्षीय बालिकाको विवाह गरेर कलिपबस्तु लैजान थालेको अवस्थामा प्रहरीले रोकेको हो । पाल्पा घर भएकी ती बालिकाको घोराही स्थित मामाको घरबाट विवाह गरेर कपिलबस्तुको चन्द्रौटा लैजान लागेको अवस्थामा सोमबार उनीहरुलाई रोकेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

बालिकाको बुवा नभएको, आर्थिक अवस्था कमजोर भएको र आफन्तहरुले विवाह गरिदिन लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेको रोहवरमा केटा पक्ष र केटी पक्षका आफन्तहरुलाई छलफलमा राखेर उमेर पुगेपछि मात्र विवाह गरिदिने सहमतीमा छोडीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले बताउनुभयो ।

घोराही उपमहानगरपालिकालाई बालमैत्री बनाउने अभियान सञ्चालन भैरहेको अवस्थामा बालविवाह चुनौतीको रुपमा देखा परेको छ । ‘केटा र केटी दुबै जिल्ला बाहिरको भएपनि बालविवाह निषेध गरिएको छ ।

’ वडा अध्यक्ष पाण्डेले भन्नुभयो, ‘घोराहीलाई बालमैत्री बनाउनका लागि धेरै नै लगानी भएको छ, तर लुकिछिपी हुने बालविवाहले समस्यामा पार्ने गरेको छ ।’ कानुनले बर्जित गरेको बालविवाह गर्ने र गराउनेहरु पनि दोषी हुने भएकाले आफुहरुले बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक गौतमले बताउनुभयो ।