दाङका होटलमा लगानी धेरै, आम्दानी थोरै


रीता लामा
करोड बढीका दर्जन बढी होटलहरु अहिले दाङमा संचालनमा रहेका छन । चुनाव आउनु धेरै अगाडीबाट दाङलाई पाँच नम्वर प्रदेशको राजधानी बनाउने हल्ला चलेसँगै ठुलो रकम खर्च गरेर खुलेका होटेलहरु पनि छन । नेता तथा सरोकारवालाईहरुले दाङलाई राजधानी बनाउने विषयमा लामो समय देखि वहस एवम आन्दोलन गर्दै आइरहेका थिए ।

Advertise with us

Buddha International Hospital

सोही अनुसार राजधानी बन्ने आशमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि दाङका खुलेका ठुला होटेलहरु मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवल तिर सरे पछि यहाँका होटलमा हुने सामान्य चहल पहल पनि अहिले घटेको छ ।


चार बर्ष पहिले भाडामा घर लिएर करिव २ करोडको लगानीमा घोराहीको मेन रोडमा होटेल सिटि प्लाजा प्रालि संचालनमा आएको थियो । घोराही मुख्य बजारमा रहेको सिटी प्लाजालाई हेर्दा आर्कषक र सेवा सुविधा राम्रो भए पनि भित्र चहलपहल कम छ । होटेल संचालक कुलदीप न्यौपाने अहिले दाङमा ठुला होटेल चलाउन हम्मेहम्मे परिरहेको बताउछन । एनजिओ र आइएनजिओले कहिलेकाही गर्ने सभा, गोष्ठीले होटल जनतन चलिरहेको उनको भनाई छ । ‘हामीले दाङ राजधानी हुन्छ भन्ने ठानेर ठुलो लगानीमा होटल खोल्यौ अहिले चलाउनै गाह्रो भएको छ ।’ उनले भने ‘यति धेरै लगानी गरेर आम्दानी गर्नु त परको कुरा कर्मचारी पाल्नै मुस्किल छ ।’ पहिले भन्दा पनि अहिले होटेलको आम्दानी खस्किदै गएको उनको अनुभव छ ।

दाङमा पर्यटकिय स्थल धेरै भए पनि ती स्थानको प्रचारप्रसार नहुदा दाङमा सोचे जस्तो पर्यटक आउन सकेका छैनन । जसको मारमा होटेल व्यवसायीहरु परेका छन । प्रदेशको राजधानी पनि नहुनु र भने जस्तो पर्यटक पनि जिल्लामा नआउदा दाङका होटेल व्यवसायीहरुले गरेको लगानी जतिको आम्दानी उठान नसकेको गुनासो गरिरहेका छन ।

दाङमा सबै भन्दा ठुलो लगानीमा खुलेको भनिएको होटेल माला इन प्रालिका संचालक समितीका अध्यक्ष ओविन्द्र महरा होटलको आम्दानीबाट बैङ्कको व्याज तिर्न पनि मुस्किल भैरहेको बताउछन । बैङ्कबाट कर्जा लिएर सुरु गरिएको होटलबाट कर्मचारी पाल्न र बैङ्कको व्याज तिर्न पनि नसकिएको गुनासो छ । मासिक १६ लाख खर्च हुने होटेलमा आम्दानी निकै न्युन रहेको उनी बताउछन । ‘राजधानी आउने आशमा होटलमा लगानी गर्यौ, राजधानी पनि आएन, आम्दानी पनि गर्न सकिएको छैन ।

’ उनले भने ‘अहिले हामीले मासिक खर्च पनि आफ्नो गोजिबाट हालिरहेका छौ ।’ अहिले होटल व्यवसायीहरुले आफ्नो व्यवसायमा ठुलो लगानी गरिरहेको अवस्थामा सरकारले त्यसलाई प्रमोट गर्न नसकेको उनी बताउछन । तर पनि पछि केही हुन्छ की भन्ने आशमा आफुहरुले जेनतेन होटल संचालन गरिरहेको उनको भनाई छ ।

दाङ देउखुरी होटेल व्यवायी समितीका अध्यक्ष रुद्रबहादुर डागी पनि सरकारले वेवास्ता गर्दा होटेलमा गरेको लगानी डुव्ने अवस्थामा व्यवसायी पुगेको बताउछन । दाङ पर्यटनका हिसावले सम्भावना बोकेको जिल्ला भए पनि सरकारको गतिलो पोलिसी नहुदा सबै क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको उनको भनाई छ ।

‘दाङमा पर्यटक भित्रयाउने थुपै क्षेत्रहरु छन ।’ उनले भने ‘तर ती क्षेत्रको पुर्वाधार विकासमा समेत राज्यले चासो दिन सकेको छैन ।’ राज्यले नै भएको क्षेत्रको विकास गर्न नसक्दा दाङमा पर्यटक भित्रिन नसकेको उनको भनाई छ ।

घोराहीमा करोड बढीका होटेलहरुमा होटेल माला इन, होटेल सिटि प्लाजासँगै होटेल भिङ्ग्रेली भिलेज, थ्री स्टार, राप्ती सुपरलज, होटल माउन्ट भ्यु, होटेल ग्रीन भ्याली लगायका छन । त्यस्तै तुलसीपुरमा होटलहरु एकान्तलाई पनि करोड बढीको लगानीमा बनेको अनुमान गर्न सकिन्छन भने । लमहीमा देउखुरी दरवार होटल पनि ठुलो धनराशीमा बनेको होटल हो । यी होटलहरुमा विशेष गरि भिआइपी सहितको सुवाधीहरुको व्यवस्था गरिएको छ । जसमा एसि, एटेज वाथरुम, प्याकेज सहितको खानाको व्यवस्था गरिएको पाइन्छ । दाङ देउखुरी होटल व्यवसायी समितीका अनुसार भिआइपी सुविधा सहित अहिले घोराहीमा मात्रै एकै दिनमा एक हजार मान्छे राख्न सक्ने ठुला होटेलहरु संचालनमा आइसकेका छन । त्यस्तै तुलसीपुर र लमही सहित जोडेर थप ५ सय मान्छेहरु राख्न सक्ने क्षमता दाङका होटेलहरुमा छ । तर जति धेरै सुविधा भए पनि होटलमा सेवा लिन आउने ग्राहक प्रयाप्त नहुदा व्यवसायी मारमा परेका छन ।

होटेल व्यवायी समितीका अध्यक्ष डाँगीका अनुसार अहिले जिल्लाका होटेलहरुले सरकारलाई अन्त शुल्क कर, घरेलु कर, व्यवसायीक कर, सरसफाई कर, मदिरा बेच्नेहरुले मदिरा कर लगायतका विभिन्न प्रकारका करहरु तिरिरहेका छन । तर व्यवसायीले जति धेरै कर तिरे पनि सरकारको तर्फबाट कुनै पनि सेवा सुविधा आफुहरुले नपाएको अध्यक्ष डागीले बताउछन । व्यवसायीबाट असुलेको करको आधारमा सरकारले व्यवसायीहरुलाई विभिन्न प्रकारका सचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने, सिप सिकाउ पर्ने भए पनि त्यसो नगरेको उनको गुनासो छ । ‘विभिन्न वाहानामा व्यवसायीहरुबाट कर असुली गरे पनि उनीहरुलाई भने जस्तो सेवा सुविधा दिएको छैन ।

’ उनले गुनासो गरे । दाङमा अहिले ११ सय जति साना ठुला होटेलहरु दर्ता भएका छन । त्यस बाहेक पनि सयौ होटेलहरु विना दर्ता संचालन भएको अनुमान गर्न सकिन्छ । सरकारी निकायले नियमित अनुगमन नगर्नु र कर छलि कै उद्देश्यले साना होटेलहरु दर्ता विना संचालन भैरहेको स्वयम होटल व्यवसायीहरु बताउछन ।

यस्तै पछिल्लो समय सुरक्षाको कारण देखाउदै प्रहरीहरुले साना होटलहरुलाई ९ बजे बन्द गर्दै हिडे आफुहरु झन पिडामा परेको बताउछन दाङ देउखुरी होटल व्यवसायी समितीका सचिव इश्वर बुढा मगर । बजारमा अरु व्यवसायीहरुले आफ्नो व्यापार गरिरहेका हुन्छन तर होटलहरुलाई भने बन्द गर भन्दै गाली गलौचमा प्रहरी उत्रिरहेकोप्रति उनले आपत्ती जनाए ।

छिट्टै होटल बन्द गर्दै हिड्दा बाहिरबाट आउने पाहुना र थोरै मुल्यमा होटलमा बस्न चाहानेहरुको लागि समस्या भएको भएको उनले बताए । यसले होटल व्यवसायीहरु धरासायी बन्ने अवस्था आएको उनले गुनासो गरे ।