एचआईभीबाट दाङमा एक सय ८५ जनाको मृत्यु

नवीन अभिलाषी
दाङ, मंसिर १५ । दाङमा अहिलेसम्म ४ सय १८ जनामा एचआईभीको संक्रमण देखा परेको छ । एचआईभीको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपालीले दाङमा अहिले सम्म ४ सय १८ जना मध्य १ सय ८५ जनाको मृत्यु भईसकेको छ भने २ सय ३३ जना जिवित रहेको बताउनुभयो ।


३२ औँ विश्व एड्स दिवस २०७६ को अबसरमा घोराहीमा आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा संक्रमित रहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा ५२, राप्ती गाउँपालिका २४, लमही नगरपालिकामा २१, राजपुर गाउँपालिकामा १५, बंगलाचुली गाउँपालिकामा १३, बबई गाउँपालिकामा १०, दंगीशरण गाउँपालिकामा ९ र शान्तिनगर गाउँपालिकामा ८ जनामा एचआईभीको संक्रमण देखा परेको नेपालीले बताउनुभयो ।

संक्रमितहरु मध्य एक सय १९ जना पुरुष र १ सय १४ जना महिलाहरु रहेका छन् । त्यसमध्य २४ जना बालबालिकाहरुमा रोग देखा परेको छ । संक्रमित मध्य वितेको एक वर्षमा ३ जनाले ज्यान गुमाए ।

एचआईभी संक्रमित भएकाहरुलाई माया र सहयोगको आवस्यकता रहेको अधिकारकर्मीहरुले बताए । अहिले पनि समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताउँदै उनीहरुले राज्यबाट समेत उनीहरुले सहयोग नपाएको बताए ।