उपनिर्वाचन २०७६ः दाङमा आज वेलुकाबाट मतगणना सुरु गरिने

रीता लामा
घोराही, १४ मङ्सिर .

दाङमा उपनिर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ को वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।
आज विहान ७ बजेबाट सुरु भएको मतदान साझ ५ बजेसम्म जारीरहने छ । मतदान सकिए लगत्तै आज वेलुकीबाटै मतगणना गरिने मुख्य निर्वाचनको कार्यालय जनाएको छ ।
मतगणनाको लागि पनि सम्पुर्ण तयारी पुरा गरिसकेको हुदाँ दलसँगको सहमतिमा दाङ देउखुरी जिल्ला अदालतको कार्यालयमा आज वेलुका ६÷७ बजेबाटै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्वर १६ को मतदान निर्वाचन कार्यालयको नजिक भएको हुदाँ पनि छिट्टै मतगणनाको लागि कुनै समस्या नभएको उहाँको भनाई छ ।
‘राजनीतिक दलका बीच दलिय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजबाटै सुरु हुन्छ ।’ उहाँले भन्नुभयो ‘तत्काल गणना सुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजबाटै मतगणना सुरु गर्ने तयारीमा रहेका छौ ।’
मतगणनाका विषयमा दलहरूबीचमा कस्तो सहमति हुन्छ, त्यसमा निर्भर पर्ने उहाँको भनाई छ । घोराही उपमहानगरपालिका वडा नं. १६ सदरमुकाम नजिकै भएकाले मतपेटिका समयमै संकलन हुने हुँदा तत्काल गणना सम्भव भएको निर्वाचन अधिकृतले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ । उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेको मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतबार गर्ने व्यवस्था मिलाइएको रिजालले बताउनुभयो । प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभा हलमा गरिने भएको छ ।
उपनिर्वाचनका लागि जिल्लाका ३४ निर्वाचनस्थल तथा ८२ मतदानकेन्द्र तोकिएका छन् । निर्वाचनका लागि ७ सय ३६ कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं ३ (ख) मा ६८ हजार सात सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं १६ मा ४ हजार ४ सय ५३ जना मतदाता छन्