‘कमान्डो ३’ फिल्म समीक्षा : शानदार एक्सन, कमजोर कथा

आतंकवादसम्बन्धी विषयमा थुप्रै फिल्म बनिसकेका छन् तैपनि फिल्म बनाउनेहरूले यसमा आसक्ति कायम राखेका छन् ।

निर्देशक आदित्य दत्तलाई पनि यही विषयमा फिल्म बनाउन मन लागेछ र उनले यसका लागि विद्युत् जामवाल जस्तो शानदार एक्सन हिरोलाई लिएर फिल्म बनाए ।

फिल्ममा देशभक्तिको कथा छ अनि हिन्दू मुसलमानबीचको संघर्ष पनि । फिल्मको कथा अघि बढ्दै जाँदा रोमाञ्चित गर्ने याक्सन बाहेक सम्झन लायक अरू कुनै कुरा छैन । भारत सरकारले देशमा ठूलै आतंकवादी आक्रमण हुन लागेको थाहा पाएपछि आफ्नो नम्बर १ कमान्डो करन सिंह डोगरा (विद्युत् जामवाल) लाई बोलाउँछ । डोगरा पनि देशका लागि कुनै पनि हालतमा आक्रमणका मास्टरमाइन्ड

बुराक अन्सारी (गुलशन देवइया) लाई समात्न लागिपर्छन् । अन्सारी लन्डनमा बसेर भिडियो टेप बनाउँदै युवाहरूको ब्रेन वाश गरिरहेका हुन्छन् ।

मिसनमा डोगरासँग इन्काउन्टर स्पेसलिस्ट भावना रेड्डी (अदा शर्मा) पनि नियुक्त गरिन्छिन् । उनीहरूसँग ब्रिटिश इन्टेलिजेन्सकी मल्लिका सूद (अंगिरा धार) र अरमान (सुमित ठाकुर) पनि जोडिन्छन् ।

तर बुराक अन्सारीलाई समात्न त्यति सजिलो छैन । इन्डियन इन्टेलिजेन्स र कमान्डोहरूको टीमलाई चकमा दिन अन्सारी तम्तयार छन् ।

एक्सन फिल्महरूमा प्रायः कथालाई त्यति वास्ता गरिँदैन र रोमाञ्चकारी एक्सनमै जोड दिइन्छ । यो फिल्ममा पनि यही समस्या छ । कमान्डोका स्टन्टहरू देखाउन फिल्म सफल छ तर कथा र पटकथामा अझै मेहनत गरेको भए फिल्मको स्तर बढ्ने थियो ।

फिल्मका केही सिनहरू बेतुकका छन् । तर प्राविधिक रूपमा फिल्म अब्बल छ । एक्सन कोरियोग्राफीले कतैकतै त दर्शकलाई सासै रोकेर हेर्न बाध्य बनाइदिन्छ । द्वन्द्व निर्देशक एन्डी लोंग, आलन अमीन र रवि वर्माले प्रशंसनीय काम गरेका छन् ।

एक्सन फिल्ममा जबर्जस्ती संगीत नघुसाइकन फिल्म मेकरहरूले सुझबुझ अपनाएका छन् । केही दृश्यमा भीएफएक्समा कमजोरी छन् ।

विद्युत् फिल्मका मजबूत खम्बा हुन् । उनको याक्सन निकै उम्दा छ र यसमा उनले कुनै सम्झौता गरेका छन् । द्वन्द्व दृश्यहरू विश्वसनीय लाग्छन् । उनको डायलग डेलिभरी अलि सुध्रिएको छ ।

अदा शर्माले फिल्ममा आश्चर्यजनक रूपमा राम्रो काम गरेकी छन् । उनले हैदराबादी शैलीमा हिन्दी बोलेको रमाइलो सुनिन्छ । अंगीरा धारले पनि भूमिकाअनुसारकै काम गरेकी छन् ।

पर्दामा अभिनेत्रीहरूको एक्सन राम्रो देखिएको छ । बुराक अन्सारीका रूपमा गुलशन क्रूर लाग्छन् ।

एक्सन फिल्मको सोख तपाईंलाई छ भने अवश्य हेर्नुहोला ।

फिल्म :कमान्डो ३
कलाकार  : विद्युत् जामवाल, अदा शर्मा, अंगीरा बेदी, गुलशन देवइया आदि
निर्देशक :आदित्य दत्त
विधा : याक्सन
अवधि : २ घन्टा १३ मिनेट
रेटिङ : २/५