दाङमा मतदान गर्न जनता उत्साहित (फोटोफिचर)

तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजार भन्दा बढि सुरक्षाकर्मीहरु खटाईएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

नवीन अभिलाषी

दाङ, मंसिर १४ । आज मंसिर १४ गते । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ को अध्यक्षका लागि मतदान हुँदैछ । मतदान विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । उपनिर्वाचनका लागि सम्पुर्ण तयारी सकिएको छ । जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई मतपेटिका, मतपत्र, मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाएर सम्पुर्ण तयारी सिध्याएको अधिकृत थापाले बताउनुभयो ।

निर्वाचनका लागि ३ सय ३८ पुरुष र ७२ जना महिला गरी ४ सय १० जना कर्मचारी खटिएका छन् भने ३ सय २६ जना स्वयम सेवक नियुक्त भएका छन् । ३४ मतदान स्थल, ८२ मतदान केन्द्रका लागि ८२ मतदान अधिकृत र त्यति नै सहायक मतदान अधिकृतले काम गर्दैछन् ।

निर्वाचनको तयारी सकिएको बारेमा शुक्रबार पत्रकारलाईहरु जानकारी दिदै मुख्य निर्वाचन अधिकृत थापाले प्रदेशसभा निर्वाचनका लागि ६८ हजार ७ सय १९ मतदाताहरुको लागि प्राप्त भएको ७६ हजार मतपत्र प्राप्त भएकोमा ७० हजार ९ सय मतपत्र पठाईएको बताउनुभयो । प्रदेश सभाको निर्वाचनमा ३४ हजार ९ सय ४० महिला र ३६ हजार ७ सय ७८ जना पुरुष सहभागी हुनेछन् भने एक जना तेस्रो लिंगी समुदायका मतदाता समेत सहभागी हुनेछन् । घोराही उपमहानगरपालिका वडा नं. १६ को निर्वाचनमा ४ हजार ४ सय ५३ मतदाताका लागि प्राप्त भएको ४ हजार ९ सय मतपत्र मध्य ४ हजार ४ सय ८२ मतपत्र बुथहरुमा पठाईएको उहाँले बताउनुभयो । वडा अध्यक्ष निर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा २ हजार ३ सय ६५ जना महिला र २ हजार ८८ जना पुरुष सहभागी हुने निर्वाचन कार्यालयले बताएको छ ।

मुख्य निर्वाचन अधिकृत थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ अन्र्तगत आधारभुत विद्यालय बाहुनडाँडा (क) मतदान केन्द्रलाई नमुना केन्द्र बनाईएको छ । त्यहाँ सम्पुर्ण महिला कर्मचारीहरु खटाईएको छ ।

सुरक्षा व्यवस्था कडा

तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजार भन्दा बढि सुरक्षाकर्मीहरु खटाईएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । उहाँले जिल्लाको सुरक्षाकर्मीको साथसाथै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उहाँको भनाई थियो । मनोनयन दर्ता भएसँगै सुरक्षा व्यवस्थालाई कडा बनाईएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले अस्थायी बेस राख्ने, गस्ती गर्ने र पेट्रोलियम टोली समेत व्यवस्था गरिएको छ । यस अगाडी सम्पुर्ण निर्वाचन स्थलको अध्ययन अवलोकन गरेर सुरक्षालाइृ भरपर्दो बनाईएको भन्दै उहाँले मलैखोला, बाघखोर र गंगटे क्षेत्रलाई थप सुरक्षा टोली समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।