कथा : बिश्वासघात

दीपक जीएम आर्जव

समाजलाई सकारात्मक रूपले आगडि बढाउने जिम्मा एकजनाको मात्र नभई हामी सबैको दायित्व हो तसर्थ हामी आफैले यस विषयलाई गम्भीरता पूर्वक लिनु आवश्यक छ । राम केही सोच्दै थियो तर कुनै मेसो नपाएर होला ऊ आफैमा भुनभुनाउदै ”कसो गर्ने होला प्यारीलाई..आमाले सधै मिलेर बस्नु भन्नु भएको थियो तर अफसोच अहिले आएर मलाई उसको छाया सम्म हेर्नु मन छैन ।


कुरा केही समय अघिको हो,रामले भर्खर बिहे गरेर बुहारी भित्र्याएको थियो ।खुसहाल जीवनयापन बिताउँदै अघि बढ्ने क्रममा एकाएक रामकी आमा लाई रोगले ग्रस्त बनाउँछ त्यसैले कत्ति पनि ढिला नगरी राम आफ्नी आमालाई नजिकैमा भर्खर खुलेको अस्पताल लिएर जान्छ। उपचार गर्ने क्रममा ऋणले टुप्पी नाघ्न पुग्छ,जसकारण राम अनि प्यारी सारै दुखी हुन पुग्छन । करीब एक महिना पछि राम आमालाई लिएर घर पुग्छ,सामान्य अवस्था भएता पनि औषधीको चाप भने यथावत नै रहन्छ।

पैसाको अभावले रामलाई सारै चिन्तित बनाउँछ ,के गर्ने होला भन्दै राम गहिरो सोचमा डुब्न पुग्छ र अन्त्यमा बिदेशिने सोच बनाउँछ । बेलका खाना खाएर सुत्न लाग्दा प्यारी तिर हेर्दै राम बोल्छ ”ए प्यारी सुन त एउटा घर सल्लाह गर्नु पर्यो ‘ अहँ भन्नुस न सुनिराख्या छु ‘ ”ऋण धेरै लाग्यो ,आमा अझै निको भएकी छैनन,उपचारले गर्दा घरमा भएको पैसा पनि सीद्धीयो अझ नपुगेर बाहिर भएभरको ऋण लागेको छ आम्दानी केही छैन त्यसैले प्यारी म अब विदेश जान्छु” रामको कुरा सुनेर प्यारी मौन रहन्छिन ।

भोलिपल्ट राम घरमा सल्लाह गर्दै विदेशिने निर्णय गर्छ ।समयको वेगलाई चिर्दै एकदिन रामको भिसा लाग्छ अनि घर बाट बिदावारी हुदै मुगलान पुग्छ।

घरमा आमा अनि प्यारीलाई सम्झिदै दिनरात मिहिनेत गर्न थाल्छ अनि पैसाको मुठो घर पठाउन थाल्छ,घरमा आमाको सकुशल उपचार भइरहेको हुन्छ जून रामको एउटा मिठो सपना नै थियो ।छोराले गर्ने कर्तव्य उसले बखूबी पालना गरिरहेको हुन्छ,आमा अनि प्यारीलाई सुख सँग राख्ने उसको धोको बिस्तारै बिस्तारै पूरा हुदै थियो ।

यसरी घरमा दुखका दिनहरु बिलिन हुदै जान्छन भने सुखको एउटा सुमधुर बिगुल बज्न थाल्छ । ऋणहरु सबै चुक्ता गर्दै एउटा नँया घर निर्माण गर्छिन प्यारीले अनि आमा पनि पूर्णरूपले निको भई आनन्दको जीवन निर्वाह गर्न थाल्छिन । उता राम पनि निकै खुसी थियो,काम पनि सरल सजिलो थियो भने कमाई निकै सन्तुष्टपूर्ण थियो ।

समय बित्दै जान्छ,राम गएको पनि झण्डै ३ बर्ष पुग्छ । अब त फर्किँने सोच बनाउँदै प्यारीलाई आफू नेपाल आउन लागेको जानकारी गराउँछ ” आमा सँग धेरै भयो कुरा नगरेको,ए प्यारी आमा कता हुनु हुन्छ ? ” अक्मक्काउँदै प्यारी बिस्तारै बोल्छिन वजार जानु भएको छ समान किनमेल गर्न…” म आउँदै छु भन्नु है आमालाई..”हुन्छ नी भन्दै प्यारीले फोन राख्छिन । फोन राख्न साथ प्यारीलाई सारै चिन्ता हुन थाल्छ ”ला किन आउँदै होला यो राम,म के भनु आमाको बारेमा अनि कसरी उनलाई विश्वाश दिलाउ”…मनमा विभिन्न किसिमका कुराहरु खेलाउँदै प्यारी पार्लर भित्र पस्छिन ।

राम गएको एक बर्ष पछि प्यारीले घरमा आमा सँग अनि विदेशमा रहेको पति राम सँग कुनै सरसल्लाह नगरी बियुटीपार्लर खोल्छीन।समय सँगै प्यारीको लगाई खुवाईमा भिन्नता अनि हाउभाउमा परीवर्तन आउन थाल्छ ।

गाउँ देखि सहर सम्म प्यारी सबैको कुरा गर्ने बहाना बनेकी थिइन ।” हिजो सम्म लाउना-खान धौ धौ हुने गर्दथ्यो तर यसको पोइ राम विदेश गए देखि यसका पखेटा उम्रेका छन..आँखा ठूला ठूला बनाउँदै बोल्दै थिई राधा। कुरा थप्दै पार्लर तिर नजर लगाउँदै मिना बोल्छे ” ए राधा मैले त सुनेको थिए के साचो हो र..! आँखा तर्दै राधा बोल्छे ” के सुन्यौ र मिना हामीलाई पनि भन न..” जवाफमा मिना बोल्छिन ”नाठो खेलाउँदै हिडेकी छे र त त्यो नकचरीले अनि त्यो तल प्रहरी चौकीको हवल्दार सँग यसको ठ्याकतठुक पनि परेको छ रे ..।

” मैले पनि त्यस्तै सुनेकी थिए घर पनि रात पारेर मात्रै जान्छि रे” भन्दै राधा बिस्तारै मिना सँग कानाखुसी गर्न थाल्छे ” अलिक बिचार पुर्याउनु पर्छ हामीले पनि कतै हाम्रो बुडाहरुलाई पनि आफ्नो जवानीको जालमा फसाउन के बेर लगाउँली र यस्ले ” हो हो भन्दै मिना सहमति जनाउँछिन ।

घरमा आमाको चिन्ताको विषय प्यारी नै बनेकी थिइन ,रोग बाट मुक्त भएपनि घरायसी चिन्ताले आमालाई दिनदिनै भित्रभित्रै खान थाल्छ ।सधै रात पारेर घर आउन थाले पछि आमाले सहन नसकी एकदिन प्यारीलाई ढिला आउनको कारण सोध्छिन तर नमिठो जवाफ दिदै प्यारीले आमाको मुखमा बुझो लगाइदिन्छिन जसकारण स्वरुप आमा निशब्द हुन्छिन । यसरी दिनहूं प्यारीको रहनसहन बदलिदै जान्छ ।

एकदिन रातको १० बजिसक्दा पनि बुहारी घर नआउँदा आमा निकै चिन्तित हुन पुग्छिन ,कहा गई होली भन्दै आमा प्यारीलाई खोज्न निस्किन्छिन । चारैतिर सुनसान भइसकेको हुन्छ,रातको अन्धकारमा सकीनसकी आमा पार्लर पुग्छिन।पार्लरमा बत्ती बलेको हुन्छ ,यतिबेला के काम गर्दै होली भनी आमाले झ्याल बाट भित्र हेर्न थाल्दा आफ्नी बुहारीलाई प्रहरी नौजवानको अँगालोमा बाधिएको प्रष्टै देख्छिन ।” हे भगवान यो के अनर्थ हो भनी पुर्पुरोमा हात राख्दै त्यही भुइँमा थचक्कै बस्छिन अनि छोरालाई सम्झिदै रुन थाल्छिन ।

भोलिपल्ट प्यारी घर पुग्छिन अनि सासू आमालाई नदेखेपछि यता उता खोज्न थाल्छिन तर आमाको कतै कुनै भेउ नपाएपछि बेवास्ता गर्दै पार्लर तिर कदम बढाउछिन । यसरी एक दिन होइन दुई दिन होइन महिनौ बित्दा पनि आमाको कुनै अत्तोपत्तो हुदैन । वरपरका छिमेकीहरूले प्रहरीचौकीमा उजुरी गर्ने सल्लाह दिदा पनि प्यारीले कुनै मतलब गर्दैनिन । गरोस पनि किन..!प्यारीले खोजेको अनि चाहेको भित्री इछ्या नै त्यही थियो । राम आउन लागेको कुराले प्यारीलाई निकै चिन्तित बनाएको थियो ।

समयको चाल सँगै रामको आगमन हुन्छ अनि बस बाट ओर्लदै कत्ति पनि ढिला नगरी राम घर पुग्छ अनि ढोकामा रहेको घण्टी बजाउछ ।ढोका खोल्दै एकजना अधबैसे महिला बोल्नु हुन्छ ” कसलाई खोज्नु भयो ? राम अचम्म पर्छ अनि मनमनै ”पक्कै पनि यो आइमाई डेरामा बस्ने हुनु पर्छ”।” घरबेटी कोही हुनुहुन्न र..!जवाफमा ” म नै हो यो घरको मालिक,शायद तपाईले यो घरको पहिलेको घरबेटीलाई खोज्दै हुनु हुन्छ होला, उँहा त यो घर मलाई बेचेर अन्तै जानुभयो”। यो सब सुनेर राम छांगा बाट खसे झै हुन्छ र दुखी हुदै वरपर हेर्न थाल्छ । मनको भावलाई ओकल्दै ”समय सँगै सबथोक बदलिसकेको रहेछ भनी मनलाई सान्त्वना दिन थाल्छ ।

फर्किदै नजिकैको पसल नेर पुग्छ अनि पसलेको दाईलाई नमस्ते भनी सम्बोधन गर्छ ”ओह हो राम भाई कहिले आयौ विदेश देखि..? भर्खर झर्दै छु दाई गाडी बाट..।पसलेवाला दाई एकोहोरो रामको निन्याउरो मुहार निहारीरहेका हुन्छ,” सुन न राम भाई तिमी घर गएनौ..!”घर मै पुगेर फर्किए दाई तर त्यहा त कोही पनि बस्दा रहेनछन ”।

पसले दाई अकमकाउदै बोल्छन ” सानो मुख देखि यति ठूलो कुरा कसरी गर्नु भाई तिमी सामु । ” भन्नुस न भन्नुस दाई खासमा कुरा के हो” पसले दाई बोल्न न पाउँदै त्यतिकैमा राधा र मिना पसलमा आइपुग्छन । राम तिर हेर्दै दुवैजनाले” ए राम दाई पो आउनु भएछ, ‘नमस्ते छ है दाईलाई ”हजुर नमस्ते भनी रामले जवाफ दिन्छ ।” अलिकति लच्कीलो स्वभावमा राधा बोल्छिन ”गारो नमान्नुस है दाई तर भाउजुले त यस ठाउँको नाक नै काटिन,तपाईको इज्जत अनि पैसा भरी सबै त्यो हवल्दार सँग कुम्लो बोली कुलेलाम ठोकेछीन ”।

राधा बोल्दै जान्छिन। त्यो सब सुनेर रामको आश्चर्यको सीमा रहँदैन ,मुटु नै चसक्क हुन पुग्छ ।रामको दिमागले काम नै गर्न छाड्छ ।
” लौ हामी लाग्यौ है दाजु ” भन्दै राधा र मिना गन्तव्य तिर लाग्छन । राम मौन भई नानाथरी सोच्न थाल्छ ,आफूले गरेका दुख अनि पीडाहरू लाई सम्झिदै मनमनै आफूलाई धिक्कार्न थाल्छ । जीवनमा नसोचेको घटना यसरी आफू माथी घट्दा रामले चारैतिर अन्धकार देख्न थाल्छ ।

भोलिपल्ट चौतारामा मानिसहरुको भीड जम्मा हुन थाल्छ ।क्षणभरमै प्रहरीको गाडी आइपुग्छ अनि गाडी बाट प्रहरी नौजवान ओर्लदै पिपल रुखमा झुण्डिएको लाश लाई हेर्दै आफ्ना सिपाहीहरुलाई लाश तल झार्न लगाउनु हुन्छन’। भीड माझ बाट एक मनुवा बोल्दै ” होइन के भएछ यो राम लाई किन यस्तो गरेको होला..!

भीडलाई चिर्दै मिना अनि राधाले एकै स्वरमा बोल्छन ” के हुनु नि राम दाईले विदेशमा दुख गरी कमाएको पैसा जति घर पठाउनु भयो तर यहा भँने प्यारी भाउजुले घरबार बेची अनि भएभरको पैसा कुम्लो पारेर आफ्नो नाठो भनाउँदो हवल्दार सँग पोइल हिडिन ,त्यसैले होला नि बिचरा राम दाईले आत्महत्या गरेको”।

लाशलाई पोस्टमार्टमको लागि गाडीमा हाल्दै गाडी अस्पताल तिर दौडाउछ्न। सबैजना ”बिचरा राम भनि चुकचुकाउँदै आफ्ना आफ्ना घर तिर पाइला चाल्छन ।