प्रधानमन्त्री अस्पतालमा भर्ना

 

प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ। पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार विहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।

डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिराखेका छन्। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने निर्णयमा चिकित्सकहरू पुगेका थिए। यो सामान्य शल्यक्रियामात्र हो।

के हो एपेन्डिसाइटिस?

हाम्रो शरिरको ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ।

यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानले पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन्।

कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’  भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन्।

त्यही एपेन्डिस संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ। एपेन्डिसमा घाउ हुँदा त्यो सुनिन्छ। कतिपय अवस्थामा फुट्न पनि सक्छ।

सामान्य शल्यक्रिया गरेर एपेन्डिस काटेर फालिन्छ। आजकाल डाक्टरहरूले अरू नै कारणले बिरामीको पेटको शल्यक्रिया गर्नु परेका बेला पनि एपेन्डिस काटेर फाल्दिने गर्छन्।