सहयोगको नाममा कर असुल्दै घोराहीको भिमसेन टोल

दाङ, २६ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित भिमसेन टोल विकास संस्थाले खुलेरै व्यापारीहरुबाट वार्षिक कर असुलेको छ । सो टोल विकास संस्थामा भाडा सटर लिएर व्यापार गर्दै आएका प्रत्येक व्यापारीहरुबाट सहयोग रकम भन्दै वार्षिक ५ सय रुपैयाँ रकम असुलेको हो ।

Blog Post Ad

Blog Post Ad

टोलको समग्र विकासका लागि भन्दै व्यापारीहरुबाट रकम उठाएको एक व्यापारीले बताए । व्यापारीहरुले टोल विकास संस्थाको यस्तो कार्यलाई गैरकानुनी कार्य भएको बताएका छन् ।

‘हामी व्यसायीले कति ठाउँ कर तिर्ने, कर कार्यालयमा, उपमहानगरपालिकामा अनि टोलमा पनि वार्षिक ५ सय कर तिर्नुपर्ने ?’, एक व्यापारीले भने, ‘सहयोग भनेपछि समय र तोकेर रकम लिन मिल्दैन, यसलाई सहयोग कर नै भन्नुपर्छ ।’ भिमसेन टोल विकास संस्थाले वार्षिक ५ सय रुपैयाँ भनेर तोकरै रकम उठाउने गरेको छ । तर उक्त टोल विकासमै घर भएर  व्यापार गरेकाबाट संस्थाले सो रकम लिएको छैन ।

टोल विकास संस्थाको निर्णय अनुसार नै रकम उठाइएको र उठाएको रकम टोलको समग्र विकासका लागि लगानी गरिने संस्थाका सचिव नवराज श्रेष्ठले बताए । ‘हामीले संस्थाको निर्णय अनुसार नै यो रकम उठाएका छौं, यो रकम टोलकै विकासका लागि खर्च हुनेछ’, सचिव श्रेष्ठले भने । टोलमा वसोवास गर्दै आएका घरबाट पहिले देखि नै रकम उठाउँदै आएको र अहिले देखि यहाँका व्यापारीहरुबाट पनि रकम उठाउन लागिएको उनको भनाइ छ ।

यता टोल विकास संस्थाले तोकेर उठाएको रकम कानु्नी रुपमा बैध नभएको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेले बताए । ‘टोल विकास संस्थाले व्यावारीलगायत त्यो सँग सरोकार राख्नेहरुको सहमतिमा टोल विकासको विकासका लागि सहयोग रकम उठाउन सक्छ तर तोकेरै वर्षको भनेर उठाउनु कानुनी रुपमा पाइदैन’, उनले भने ।

त्यस्तै व्यवसायीहरुवाट यसरी रकम लिन नहुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अधयक्ष नारायण प्रसाद भुसालको भनाइ छ । टोल विकास संस्थाहरुले आफू खुसी तोकेर रकम लिन नपाइने उनले बताए ।

 

इन्द्रेणी अन्लाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *