प्रशासन कार्यालय नपुगी नागरिकता प्राप्त

Advertise with us

प्यूठान, पुस १४  । नेपाली नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय पुग्नुपर्ने भएपनि सरुमारानी गाउँपालिकाका सर्वसाधारणले गाउँपालिकाबाटै नागरिकता प्राप्त गरेका छन् । गाउँपालिका र जिल्ला प्रशासन कार्यालय प्यूठानले संयुक्त रुपमा एकीकृत घुम्ति शिविर सञ्चालन गरेपछि गाउँपालिकाका स्थानीयले उक्त सुविधा प्राप्त गरेका हुन ।

Buddha International Hospital


Advertise with us
शुक्रबार र शनिबार दुई दिन शिविर सञ्चालन गरिएको हो । शिविरमा नागरिकता वितरण, आँखा जाँच, फोटो सहितको मतदाता नामावली दर्ता, स्वास्थ्य जाँच, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय पत्र वितरण, उद्योग व्यवसाय दर्ता, कृषि तथा पशु सम्वन्धि सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।


दुई दिनमा एक सय ४९ जनाले नागरिकता प्राप्त गरेका छन् । अपाङ्गता परिचय पत्र वितरण सम्वन्धि कार्यविधि पास गरेर पहिलो पटक शिविरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाटै सेवा पाउँदा सहज भएको सेवाग्राहीले बताएका छन् ।
दुरदराजमा सहज रुपमा सरकारी सेवा पु¥याउने उदेश्यले घुम्ति शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको सेवाबाट टाढा रहेका जनतालाई सहज रुपमा सेवा दिन प्रशासनले आगामी दिनमा समेत शिविर आयोजना गर्ने उहाँले बताउनुभयो । घुम्ति शिविरबाट जनताले सदरमुकामको सेवा पालिकास्तरमा प्राप्त गरेका छन्, उहाँले भन्नुभयो,शिविरबाट एकै स्थानमा धेरै सुविधा प्राप्त गरेका छन् ।