निःशुल्क वितरण गर्ने भनिएका औषधि नै पाइँदैनन्

प्रशान्त वली

Buddha International Hospital

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकास्थित स्वास्थ्य चौकीको नागरिक बडापत्रमा ३५ प्रकारका औषधि निःशुल्क पाइने उल्लेख छ । निःशुल्क वितरण हुने औषधि खरिदका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ । तर, बिरामीले ती औषधि पाउँदैनन् ।

Advertise with us

जनशक्ति समायोजनका कारण तोकिएका सबै औषधि निःशुल्क रूपमा उपलब्ध गराउन नसकेकको बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद पोख्रेल स्विकार्छन् ।

काठमाडौंकै  चन्द्रागिरि नगरपालिकाको अवस्था पनि उस्तै छ । चन्दागिरि–१ ले पनि निःशुल्क उपलब्ध गराउनुपर्ने ४२ थरीका औषधिमध्ये २५ थरीका औषधी मात्र निःशुल्क वितरण गर्ने गरेको छ ।

दहचोक स्वास्थ्य चौकीका प्रमुख ताराप्रसाद पोख्रेलका अनुसार नगरपालिकाले औषधि खरिदका लागि २ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । बजेट अभाव र नयाँ संरचनाका कारण औषधिको अभाव खड्किएको प्रमुख पोख्रेलले गुनासो पोखे ।

यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । काठमाडौंकै स्वास्थ्य चौकीहरूको यो अवस्थाले पनि दूरदराजको अवस्था झन् कति कमजोर होला भने आँकलन सजिलै गर्न सकिन्छ ।

अधिकांश जिल्लास्थित अस्पताल र स्वास्थ्य चौकीमा निःशुल्क पाइनुपर्ने औषधि चरम अभाव हुने गरेको छ । सरकारले ७२ प्रकारका औषधि निःशुल्क रूपमा अस्पताल र स्वास्थ्य चौकीमा ४२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको छ ।

जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा २५ देखि ३० प्रकृतिका औषधि मात्रै पाइने गरेका छन् । बिरामी रोगअनुसारको औषधि नपाउँदा रित्तै हात फर्कने गरेको बूढानीलकण्ठका स्थानीय रमेश श्रेष्ठ बताउँछन् । ‘निःशुल्क औषधिको सूची मात्र छ । लिन गएको पाइँदैन,’ उनले गुनासो गरे ।

निःशुल्क उपलब्ध गराइने भनिएका औषधिमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक पर्छन् । हाल स्वास्थ्य चौकीमा ग्यास्ट्रिक, लुतोसम्बन्धी, चोटपटकलगायत प्राथमिक उपचारका औषधि पनि निःशुल्क उपलब्ध गराउने उल्लेख छ । निःशुल्क पाउनुपर्ने औषधि भने स्वास्थ्य चौकीमा उपलब्ध हुँदैनन् ।

निःशुल्क वितरण गरिने औषधि खरिदका लागि स्वास्थ्य सेवा विभागले प्रदेश र स्थानीय तहलाई बजेट उपलब्ध गराउने गरेको छ । गत आर्थिक वर्ष औषधि खरिदका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक गुणराज लोहनी बताउँछन् ।

अहिले केन्द्र मातहत भ्याक्सिन, महामारी र परिवार नियोजनका साधन मात्रै उपलब्ध छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक लोहनीका अनुसार औषधि खरिदका लागि पालिका र स्थानीय तहअनुसार बजेट फरक फरक छ । औषधि खरिद प्रक्रिया झन्झटिलो हुँदा स्थानीय तहमा औषधिको अभाव खड्किएको स्वास्थ्य सेवा विभाग स्रोत बताउँछ ।

विभागका महानिर्देशक लोहनीले भने, ‘औषधि किन्नलाई खरिद प्रक्रिया सजिलो हुनुपर्छ भन्नेमा हामी पनि छौं । र, खरिद प्रक्रियामा बदमासी गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’