‘दैलाको तस्बिर छातीमा राखी आँशु बगाउनेछिन्…’


पाल्पा । मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउनेछिन्,
दैलाको तस्बिर छातीमा राखी आँशु बगाउनेछिन् …………

कृष्ण राईको स्वर रहेको याे गीत पाल्पाली कलाकार स्वर्गीय लक्ष्मण रायमाझीको शब्द हो  । लाहुरमा जीवन गुमाएकाहरूकाे घटनामा आधारित यो गीत दशैं र तिहारमा सबैतिर गुन्जिन्छ ।

पाल्पाको रामपुर फाँटमा यतिखेर धान झुलिरहेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । लुम्बिनी र गण्डकीभेगमा तिहारको बेला प्राय: दिदीबहिनी नै दाजुभाइको घरमा आउने चलन छ । दिदीबहिनीहरु तिहारको लागि आफ्ना दाजुभाइका घरमा आउने तरखरमा छन् । तर तिहारकै बेला रामपुर नगरपालिका वडानम्बर ४ सदावर्तमा एउटा घर भने गीतकाे बाेल जस्तै भएको छ ।

कश्मिरमा आइतबार राति भएकाे भारतीय र पाकिस्तानी सेनाबीचको भीडन्तमा रामपुर नगरपालिका वडानम्बर ४ सदावर्तका गमिलकुमार श्रेष्ठले जीवन गुमाएका छन् । गमिल २७ महिना अघिमात्रै भारतीय सेनामा भर्ती भएका थिए । भारतीय सैनिक बनेर पटक छुट्टीमा घर आएर फर्केपछि भने उनी सदाको लागि बिदा भएका छन् ।

२४ वर्षीय गमिल गएको वैशाखमा १५ दिनको छुट्टी दिएर घर आएका थिए । गाउँ आएपछि उनले भर्ती हुनको लागि आफूले गरेको भाकल पूरा गरे । त्यसको केहीदिनमा उनी लाहुर फर्किए । दैवको लीला पनि कस्तो ! उनको त्यो फर्काइ नै परिवारको लागि अन्तिम बन्न पुग्यो ।

गमिल अविवाहित थिए । तर उनको घरमा ९६ वर्षीय हजुरबा धनबहादुर, बुवा रुद्रनारायण, आमा सीता, दाजु गणेश र भाउजु हुनुहुन्छ । दुखद् खबर आए लगत्तै परिवार शोकमा डुबेका छन् ।