घोराहीमा विद्युत महसुल बुझाउन घण्टौ लाइनमा सेवाग्राही

रीता लामा
घोराही, ५ कात्तिक । विद्युत कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आएका घोराही ६का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने ‘हामीले सरकारलाई पैसा बुझाउछौ भन्दा पनि यति सास्ती खेप्नुपर्ने ?’ विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घण्टौ लाइनमा बस्दा पनि पालो नआए पछि उनको आक्रोस झन् बढेको थियो ।

‘५० रुपैँया टेम्पुलाई तिरेर आएको जादा ५० तिर्ने हो । १०० रुपैँया विद्युत महसुल बुझाउन अरु १०० रुपैँया खर्च हुन्छ अझ दिनभरीको समय पनि त्यती कै खर्च गर्नुपरेको छ ।’  उनले गाउँमा किराना पसलको ढोका बन्दगरे महसुल बुझाउन आएको हुदाँ रकम भन्दा पनि एक महिनाको विद्युत महसुल बुझाउन एक दिन पुरै खर्च गर्नु पर्दा आफुजस्ता हरेक सेवाग्राहीलाई अन्याय भएको बताए ।


घोराही १ रामपुरबाट विद्युतको महसुल बुझाउन आएकी हरिमाया केसीको व्यथा पनि उस्तै थियो । गाडी चढेर १२ बजे कार्यालयमा आएकी उहाँले ३ बजे मात्रै पालो पाएकी थिइन । लगातार ३ घण्टासम्म लाईनमा बस्दा निकै थकाई महसुस भएको उनले सुनाईन ।


बंगलाचुलीबाट विद्युत महसुल तिर्न आएका रुद्रबहादुर घर्तिको समस्या झन् धेरै थियो । परिवार सहित घोराहीमा किनमेलको लागि आएका उनलाई दिनभरी महसुल बुझाउने लाईनमा बस्नुपर्दाको सकस कम्ता थिएन । दिनभरी लाईनमा बस्नु भन्दा छिटो पालो आए बरु दोब्बर पैसा बुझाउने थिए भन्ने खालको आसय उनले व्यक्त गरीरहेका थिए ।

विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घोराही उपमहानगर र बंगलाचुली गाउँपालिका गरी करिव ३६ हजार विद्युतका ग्राहक छन् । विद्युत ग्राहकको संख्याको आधारमा भन्दा पनि प्रत्येक दिन विद्युत कार्यालयमा १२ सय भन्दा बढी ग्राहकहरु महसुल बुझाउनको लागि आई पुग्छन् । तर कार्यालयमा विद्युत बुझाउने काउन्टर भने २ वटा मात्रै छ । जसको कारण महसुल तिर्नेको भिडभाड हिजोआज सधै देखिन्छ । काउन्टर देखि निकै परसम्म महिला पुरुषको छुट्टा छुट्टै लाईन लागेका हुन्छन् । तर पालो भने सितिमिती आउदैन ।


कार्यालयले दुई महिना भन्दा बढी समय विद्युत नबुझाउनेहरुको फटाफट लाईन काट्ने अभियान थालेको हुदाँ भिड बढेको हुन सक्ने जनाएको छ । विद्युत कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म समयमा विद्युत नतिर्ने घोराही १४ र १५ नम्वर वडाका करिव तीन दर्जन ग्राहकको लाइन काटिसकेको छ ।

कार्यालयका सुचना अधिकृत बमबहादुर बुढाथोकीले अव अभियान अन्तरगत नियमित महसुल नबुझाउनको लाईन काट्न सुरु गरिसकेको बताए ।

यस्तै विद्युत कार्यालयमा बढेको भिडको परिणाम पनि लाईन काट्ने अभियान भएको उनले बताए । ‘अव कार्यालयले मासिक विद्युत महसुल बुझाउन पर्ने र दुई महिना भन्दा बेसी महसुल नबुझाए लाईन काट्ने अभियान थाले पछि भिड बढेको हो ।’ उनले भने ‘हामीले नियमित विद्युत नबुझानेलाई कारवाहीको दायरामा ल्याउन थाले पछि सेवाग्राही तिर्नको लागि आउने गरेका छन् ।’


यस्तै केही समय अगाडीसम्म ४ वटा काउन्टरबाट विद्युतको महसुल उठाईरहेको कार्यालयमा अहिले दुई वटा काउन्टर बन्द भएका छन् । भने दुई वटाबाट मात्र सेवा प्रवाह भैरहेको छ । सुचना अधिकृत बुढाथोकीले दिएको जानकारी अनुसार एक जना कर्मचारीको सरुवा भए पछि र अर्का एक जना विरामी भएर उपचारको लागि गए पछि बाध्यतावस दुई वटा काउन्टर बन्द गर्नुपरेको बताए ।

पछिल्लो समय विद्युत कार्यालयले कम्युटर प्रणाली मार्फत विद्युतको महसुल काट्ने र बुझ्ने गर्न थाले पछि काउन्टरमा तालिम प्राप्त कर्मचारीले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । अहिले विद्युत कार्यालयमा ५६ जना कर्मचारी कार्यरत रहेका छन् ।