६ बर्षदेखी अलपत्र रहेको घोराहीको मुख्य सडक

शंकर मालिका ठेकेदार पदम शर्माले लिएको ठेक्का अहिले सम्म पनि पुरा भएको छैन

दाङ, कार्तिक ४ ।  घोराहीको कटुवा खोला नजिकै निर्माणाधिन अवस्था मै अलपत्र बनेको सडकका कारण त्यस आसपासका पसल र स्थानीयबासीहरु हैरान भएपछि सडक डिभिजन कार्यालयमा आइतबार घेराउ गर्न पुगेका थिए ।छ वर्ष लामो समय देखि अलपत्र रहेको घोराहीको मुख्य सडकबाट आजित भएका स्थानीयबासीहरुले आइतबार सडक डिभिजन कार्यालय घेराउ गरे ।

शंकर माली जे भि कम्पनीले निर्माण गर्ने गरी २०७० सालमै ठेक्का सम्झौता भएको आयोजना अहिलेसम्म पनि पुरा हुन सकेको छैन । अहिले साना ठुला सम्पुर्ण सवारीका साधनहरु सञ्चालन हुने मुख्य सडकमा घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने कारणले सडक आसपासका जनताहरुले हैरानी खेप्न बाध्य भएको रब्बे स्थित स्थानीय टोल विकास संस्थाका अध्यक्ष पुनाराम गिरीले बताउनुभयो ।

तत्काल सडक निर्माण गर्नुपर्ने माग राख्दै भिडिजन सडक कार्यालय पुगेका स्थानीयबासीहरुले ठेकेदारसँग कि सडकको काम गर्नुपर्ने कि ठेक्के सम्झौता तोड्नु पर्ने आक्रोश ब्यक्त गरेका थिए । भिंगे्रली भिलेज रिसोर्टका सञ्चालक निराजन राजभण्डारीले लामो समय देखि जनतालाई दुःख दिने ठेकेदारलाई कारबाही गर्न प्रशासन डराउनुको पछाडी के छ ? भनेर प्रश्न गर्नुभयो ।

उहाँले जति डिभिजन प्रमुख आएपनि काम गर्न नसक्नुको पछाडी केही कारण रहेको उहाँको भनाई छ । सडकमा उड्ने धुलोका कारण होटल सञ्चालनमा समस्या देखिएको उहाँले बताउनुभयो ।डिभिजन सडक कार्यालयको प्रमुख जनककुमार चौधरीले ठेकेदारले काम गरेको पैसा समेत नपाएपछि उस्ले काम नगरेको बताउनुभयो । अहिले ठेक्का लिने शंकर माली जेभि कम्पनीको काम गर्ने समय सकिएको छ । ठेक्का सम्झौता सकिएपछि ठेकेदारले गरेको कामको पनि पैसा पाएको छैन ।

गरेको कामको पैसा नपाउँदा सम्म ठेकेदारले काम गर्दैन भन्नु स्वभाविक रहेको बताउँदै डिभिजन प्रमुख चौधरीले अहिले फाईल विभागमा पुगेको र कुनै निर्णय भएर आउँदा सम्म पर्खिन आग्रह गर्नुभए्को छ ।तुलसीपुर चौक देखि कटुवा खोलाको पुल सम्म निर्माण हुने सडक गुणस्तरहिन रहेको चर्चा हुने गरेको छ । तर कटुवा पुल नपुग्दै कालोपत्रेको काम रोकिएको छ ।

कालोपत्रे हुन करिव एक सय पचास मिटर मात्र बाँकी रहेको सडकका कारण त्यस वरपर अहिले ब्यापक प्रदुषण भएपछि स्थानीयहरुले सडक निर्माणमा तदारुकता दिनको लागि आग्रह गरेका छन् । तर डिभिजन प्रमुखको आलटाले कुराले तत्काल सडक निर्माण पनि नहुने र स्थानीयहरुको समस्या समाधान हुने अवस्था नरहेको स्थानीयबासी निराजन राजभण्डारीले बताउनुभयो ।