कविता : छोरी

 ( कल्पना खड्का न्योपाने )

आत्मीय दुश्मनबाट बच्नु
कल्पना खड्का
छोरी, थुप्रै छन् तिम्रा दुश्मन !


सो क्युट भनि फुक्र्याउँदा
लाग्छ होला तिमीलाई
मेरो दुश्मन कोही छैन
तर छोरी,
पाइला पाइलामा छन् तिम्रा दुश्मन ।

पोथी बासे शिर गिडेर धुरी नघाउने यो समाजले
तिमी हिड्ने पाइतलाको डायमिटर तय गरेको छ ।
तिमी हाँस्न पाउने हाँसोको स्केल तयार पारेको छ
तिमी नाँच्न र खुशी हुन पाउने केही दिन छुट्याएको छ ।

छोरी, तिमीले आत्मिय भनेकाहरुपनि
तिम्रा दुश्मन भइदिन्छन्
र भन्छन् तिम्रो दुःखको मुहार मुस्कानको नकापले छोप !

तिम्रो अंशवण्डा हुन्छ छोरी
द्रोपदीको नयाँ अवतार चाहन्छन् तिम्रा दुश्मन
हरेक अंशियारले तिमीलाई होमी दिनेछ
सतित्वको अग्नी परीक्षामा
उहिले सीताले अग्नीपरीक्षा दिएजस्तै !

र अग्नी परीक्षामा असफल भए तिमी ढुंगा बन्नेछौं ।
जुगौ जुगसम्म ढुंगा ।
तिमी त अहिल्या थियौं छोरी
पाइतालाको चोटले जिइयाएकी अहिल्या !
तिम्रा दुश्मन चाहन्छन् की–
तिमी सधै ढुंगा बनी राख
सधै अहिल्या बनिराख !छोरी,

तिमी हेलेन जस्तै अनिध्य सुन्दरी छौं !
र त ट्रोजन युद्ध दोहोरिएको उद्घोष भइरहन्छ यहाँ
र हरेक पटकको युद्धमा आफ्नै शंका संग
हारेको छ प्रत्येक पुरुष यहाँ ।
त्यसैले, तिम्रो ओठ– एउटा घडी
तिम्रो बैंश– खेतको एउटा गरो
तिम्रो स्त्रित्व– एउटा नीजि कोठा
एक नीजि सम्पत्तीमा बदलिन्छ तिम्रो दुश्मनले तिमीलाई ।

जसको आभाषसम्म तिमीलाई हुँदैन
छोरी, तिमीले अनुभूति गर्नु आफु हुनुको
आफु बाँच्नुको,
आफ्ना इच्छा चाहाना भएको ।
छोरी, तिमी आत्मिय दुश्मनबाट बच्नु !