छात्रामैत्री शौचालय नहुँदा बालिकालाई असहज

प्यूठान, पुस १० । माण्डवी गाउँपालिका–१ तिरामको गणेश माध्यमिक विद्यालयमा अध्ययनरत छात्राले महिनावारी हुँदा विद्यालय छाड्ने गर्दछन । विद्यालय गएको समयमा महिनावारी भएमा उनीहरु विद्यालय छाडेर घर जाने गरेका छन् ।

Blog Post Ad


महिनावारीको बेला विद्यालयमा ‘सेनेटरी प्याड’ नहुँदा आफूहरु घर जाने गरेको विद्यार्थीको भनाई छ । छात्राहरुको समस्यालाई मध्यनजर गरी विद्यालयमा छात्रामैत्री शौचालय बनाइएपनि त्यो प्रयोगमा आएको छैन । पानीको अभावले शौचालय प्रयोगमा आउन नसकेको विद्यालयका स्वास्थ्य सरसफाई सम्वन्धी सम्बद्ध शिक्षक इन्द्रमणी आचार्य बताउनुहुन्छ ।

Blog Post Ad


गणेश माविमा अध्ययनरत बालिकाहरुको समस्या जिल्लाका अधिकांश विद्यालयमा छ । जिल्लामा ५२ वटा आधारभुत विद्यालय र ६४ वटा माध्यमिक विद्यालय रहेका छन् । छात्राहरुलाई महिनावारीका बेला हुने समस्या समाधानका लागि तत्कालिन जिल्ला शिक्षा कार्यालय अन्र्तगत छात्रामैत्री शौचालय बनेपनि पर्याप्त हुन सकेका छैन ।

आर्थिक वर्ष २०७३÷०७४ मा ६ वटा र २०७४÷०७५ मा ८ वटा छात्रामैत्री शौचालय निर्माण भएको जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख शिवराज पण्डितले बताउनुभयो । यसवर्ष स्थानीय तह मार्फत बजेट विनियोजन हुने उहाँले जानकारी दिनुभयो । यस वर्ष जिल्लाका नगरपालिकामा ३÷३ वटा र गाउँपालिकामा २÷२ वटा कोटा परेको सम्वन्धित स्थानीय तहले जनाएका छन् ।

कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा २३ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएको केन्द्रले जनाएको छ । अहिले तीन वटा विद्यालयमा निर्माण हुदै गरेको स्वास्थ्य अधिकृत अनिता श्रेष्ठले जानकारी दिनुभयो । माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकाका २१ वटा माध्यमिक तहका विद्यालयमा कक्षा सञ्चालन गरिएको स्वास्थ्य अधिकृत अनिता श्रेष्ठले बताउनुभयो ।

प्यूठान नगरपालिका–४ टारीको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका बालिका महिनावारी भएका बेला पेट दुखेको भन्दै विदा लिएर घरमा बस्ने गर्छन् । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय भएपनि छात्रामैत्री शौचालय नहुँदा समस्या भएको प्रधानाध्यापक लक्ष्मी केसीले बताउनुभयो । छात्रामैत्री शौचालय भए सहज हुने थियो, उहाँले भन्नुभयो, बालिका, किशोरीलाई समस्या छ ।

जिल्लाका विद्यालयमा पर्याप्त छात्रामैत्री शौचालय नहुँदा किशोरीहरुले महिनावारीको समयमा विद्यालय छाड्न बाध्य भएका छन् । भौगोलिक अवस्थाले पानीको उपलब्धता नहुँदा समेत शौचालय प्रयोगमा समस्या देखिएको छ ।

बालिका तथा किशोरीका लागि महिनावारी हुँदा सरसफाई आवश्यक पर्ने भएकाले विद्यालयमा छात्रामैत्री शौचालय हुनुपर्ने जिल्ला अस्पताल प्यूठानका नर्सिङ अधिकृत राधा केसी बताउनुहुन्छ । यसले किशोरी÷बालिकालाई आफ्नो गोपनियता राख्नदेखि लिएर महिनावारी भएका बेला प्याड प्रयोग गर्न सहज हुने उहाँको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *