बक्स अफिसमा दयनीय ‘ठग्स अफ हिन्दोस्तान

कात्तिक २८ | विजयकृष्ण आचार्य निर्देशित बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’लाई रिलिजपूर्व निकै प्रतीक्षित फिल्मका रूपमा हेरिएको थियो। धेरैले यस फिल्मको व्यापार उच्च हुने अनुमान गरेका थिए। अमिताभ बच्चन, आमिर खान, कैटरिना कैफलगायतका कलाकार फिल्ममा भएका कारण पनि फिल्मको व्यापार उच्च हुने अनुमान सबैको थियो तर धेरैको अनुमान गलत भएको छ।

Buddha International Hospital

Advertise with us

तीन स्टार अभिनित फिल्मको बक्स अफिस रिपोर्ट निकै दयनीय छ। प्रदर्शनको पहिलो दिन सुखद व्यापार गरेको फिल्मले पछिका दिनमा उक्त गतिलाई कायम राख्न सकेन। समीक्षात्कम रूपमा पनि धेरै आलोचना खेपेको उक्त फिल्मको ‘वर्ड अफ माउथ’ एकदमै नराम्रो बन्यो। त्यसैले पनि फिल्मको व्यापारमा गिरावट आएको थियो। प्रदर्शनको पहिलो दिन फिल्मले ५० करोड ७५ लाख, दोस्रो दिन २८ करोड २५ लाख, तेस्रो दिन २२ करोड ७५, चौथो दिन १७ करोड २५ लाख र पाँचौँ दिन पाँच करोड ५० लाख र छैटौँ दिन जम्मा चार करोड ३५ लाख रुपैयाँ कमाएको छ।

फिल्मले हिन्दीबाट जम्मा १२८ करोड ८५ लाख रुपैयाँ कमाएको छ भने तेलगु र तमिल गरेर फिल्मले चार करोड ९० लाख रुपैयाँ बढी कमाएको छ। सबै व्यापारिक आँकडा जोड्दा फिल्मले जम्मा १३३ करोड ७५ लाख रुपैयाँ कमाउन सफल देखिन्छ। फिल्ममा प्रविधिको प्रयोग निकै राम्रो तवरबाट गरिएको छ। फिल्ममा स्टार कलाकारको उपस्थिति पनि छ तर समीक्षकहरूले फिल्ममा कथावस्तु र प्रस्तुति कमजोर भएको बताएका छन्। २०० करोड रुपैयाँ लगानीमा बनेको फिल्मले घरेलु बजार र ओभरसिज गरेर लगानी भने सुरक्षित गर्ने देखिन्छ।