प्रदेश ५ को राजधानी दाङ की बुटवल : झन् झन् तन्कियो विवाद

दाङ, २२ असोज |जनताको अपेक्षा थियो, संघीयता कार्यान्वयनपछि देशले विकासमा फड्को मार्छ। सातवटा प्रदेश सरकार गठन भएको अढाई वर्ष बित्यो। अहिलेसम्म प्रदेश ५ ले नाम र राजधानीमै अलमल गरिराखेका छन्। सानो विषयमा ठूलो अलमल हुँदा प्रदेश सरकारको हैसियतमाथि नै प्रश्न उठ्न थालेको छ।

केन्द्रमा ठूलो पहुँच भएका नेकपाका नेता शंकर पोखरेल मुख्यमन्त्री भएको प्रदेश ५ मा नाम र राजधानीको विषय पेचिलो बन्दै गएको छ। जति समय बढ्दै जान्छ उति विवाद तन्किदै गएको छ। अहिले सबैभन्दा बढी चर्चामा गौतम बुद्ध र लुम्बीनी छन्। मगरात, थारुहट, थारुवान र स्वर्गद्वारीको चर्चा पनि कम छैन। जाती समुदाय थारुहट र थारुवानमा जानुपर्ने अडानमा छन्। धेरैले विश्वकै शान्तिका प्रतिक गौतम बुद्धको जन्मस्थल लुम्बिनी वा गौतम बुद्ध प्रदेश बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

DG Mobile Dang

प्रदेशको नाममा  ठूलो विवाद नदेखिए पनि राजधानीको विषयमा भने प्रदेश ५ विवादित छ। अस्थायी राजधानी बुटवल हो। दाङले स्थायी राजधानीका लागि विभिन्न कसरत गरिरहेको छ।

नेकपाका शीर्ष नेता नै दाङलाई स्थायी राजधानी बनाउनुपर्ने अडान लिएर हिँडिरहेका छन्। कतिपय नेताले भने बुटवल र दाङको विवाद समाधानका लागि पहल गरिराखेका छन्। दाङ र बुटवलमा विवाद हुँदा नेपालगञ्जको पक्षमासमेत आवाज उठ्न थालेको छ।

प्रदेशसभा सदस्य आईपी खरेलले बुटवललाई राजधानी बनाइए प्रदेश नै टुक्रिनेसम्मको चेतावनी दिएका छन्।  नाम र राजधानीबारे सुझाव दिन समिति बनेको एक वर्ष बितिसकेको छ। तर, प्रतिवेदनसम्म बुझाएको छैन। रोल्पाका सांसद दिपेन्द्र पुनको संयोजकत्वमा बनेको १५ सदस्यीय समितिले एक वर्षसम्म प्रतिवेदन बुझाउन नसकेको हो।