दाङका तीन स्थानीय तहमा आर्थिक विकास परियोजना

जीतसागर जी.एम.

तुलसीपुर, २२ असोज | दाङका तीन स्थानीय तहमा आर्थिक विकास परियोजना लागु हुने भएको भएको छ । सरकारी, नीजि र सहकारीसंग सहकार्य गरी उद्यम तथा व्यवसायको प्रवद्र्धन गरी स्थानीय तहलाई आर्थिक रुपमा सक्षम बनाउन आर्थिक विकास परियोजना संचालन हुने भएको हो ।

DG Mobile Dang

जर्मन सरकार (जीआइजेट) को प्राविधिक सहयोग तथा सम्बन्धित स्थानिय सरकारको लगानी तथा समन्वयमा आर्थिक विकास परियोजना संचालन हुन लागेको जिआइजेटका उपप्रमुख तथा प्राविधिक सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए । ‘आर्थिक विकासमा दिगो लक्ष्य प्राप्तीका लागि स्थानीय तहमा आर्थिक विकास कार्यक्रम संचालन हुन लागेको छ, उनले भने –‘दाङका तीन स्थानीय तहसहित तीन वटा प्रदेशका ११ वटा नगर तथा उपमहानगरपालिकामा अहिले सन् २०२२ सम्मका लागि यो कार्यक्रम संचालन हुन लागेको छ ।

’ दाङको तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम संचालन हुन लागेको हो । महिला, पिछडिएको समुह, गरिब तथा विपन्नलाई लक्षित गरेर कार्यक्रम संचालन हुने सल्लाहकार श्रेष्ठले बताए । ‘हामीले उत्पादन देखि बजार प्रवद्र्धनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधिक सहयोग उपलब्ध गराउने छौँ, उनले भने–‘स्थानिय सरकारले व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्नेछन् ।’

कार्यक्रममार्फत साना तथा मझौला उद्योगको प्रवद्र्धन, उद्यमशिलताको प्रवद्र्धन, लगानी प्रवद्र्धन, निर्यात प्रर्वद्धन, सिप प्रवद्र्धन, रोजगार प्रवद्र्धन र कृषि तथा व्यापारको प्रवद्र्धन हुने र आर्थिक विकासको लक्ष्य प्राप्त गर्न सकिने सल्लाहकार श्रेष्ठले बताए । कार्यक्रम कार्यन्वयनका लागि सरकारी, निजि र सहकारीसंग समन्वय गरिने उनको भनाई छ ।

जर्मन सरकारको सहयोगमा संचालन हुन लागेको उक्त परियोजना सन् २०२२ सम्म संचालन हुने भएको हो ।