राप्ती गाउँपालिकामा मदिरा विक्रिमा रोक

ओमप्रकाश गुप्ता

भालुवाङ २५ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ मा खुल्ला मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । बढ्दो झै–झगडा, हत्याहिंसा र अपराधिक क्रियाकलापका साथै स्वास्थ्यलाई समेत नराम्रो असर पुग्ने र होटल, पसलवालाले दिउसै खुल्ला मदिरा विक्री वितरण सेवन गरेको पाइएकोले खुल्ला मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाउन थालिएको हो ।

राप्ती गाउँपालिकाको २ नम्बर वडा कार्यालयले खुल्ला मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो । जसका लागि वडा अध्यक्ष जगतबहादुर थापाको अगुवाईमा महिला समुह, निगरानी समुह, वडा समिति, टोल विकास संस्था, प्रहरी प्रशासन, पत्रकार सहितको टोलीले घर, पसल, होटलमा अनुगमन तथा नियमन सुरु गरेको छ । अभियानको क्रममा घर पसल, होटलहरुलाई खुल्ला मदिरा विक्री वितरण तथा सेवन नगर्न अनुरोध समेत गरिएको छ ।