मानपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने

दाङ, २५ भदौ  । श्री असहाय बालविकास नेपाल दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ स्थित दीपेन्द्र माध्यामिक विद्यालय मानपुरमा आगामी शनिवार मानपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गर्ने भएको छ । मौसम परिवर्तनसँगै जिल्लामा भाइरल ज्वरो, डेंगु, पखाला, टाइफाइड, आँखा पाक्ने रोग लगायतका बिरामी बढेपछी निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गर्न थालिएको सस्थाका अध्यक्ष विष्णु चौधरीले बताए ।


उनका अनुसार शिविरमा १० जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने छन् । शिविरमा आँखा, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग लगायतका विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने छन् । शिविरमा निशुल्क रगत, पिसाब, मुत्र परिक्षण गरिने छ । शिविरमा आएका सबै बिरामीलाई निशुल्क औषधी वितरण गरिने चौधरीले जानकारी दिए । ‘हामी सामाजिक सस्थाहरुले यस्तो बेला विशेष पहल गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘नागरिकहरुको स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले थप पहल गर्नुपर्ने देखिएको छ ।’


असहाय बालविकास नेपाल दाङ २०७२ सालमा स्थापना भएको सामाजिक सस्था हो । सस्थाले हाल १७ जना असहाय बालबालिकाहरुलाई निशुल्क रुपमा संरक्षण गरिरहेको छ ।

‘बालबालिकाहरुको खाने, बस्ने, लत्ताकपडा तथा पढाईको सम्पूर्ण जिम्मेवारी हामीले लिएका छौं,’ चौधरीले भने, ‘उनीहरुलाई उच्च शिक्षा समेत प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

सस्थाले अति विपन्न परिवार तथा अभिभावक विहिन भएका अरु बालबालिकाहरुलाई पनि आवश्यकता अनुसार संरक्षण दिने बताएको छ । ‘हरेक नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी राज्यले लिनुपर्ने हो तर, राज्यको ध्यान पुग्न सकेको छैन,’ चौधरीले भने, ‘हामी सामाजिक सस्थाहरुले राज्यको सहयोगी निकाय भएर हरेक नागरिकहरुको आधारभुत अधिकार सुनिश्चित गर्न पहल गर्नुपर्छ ।’

अध्यक्ष चौधरीले शिविरमा जति सक्दो धेरै गरिव तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्य भएकाले गाउँछिमेकमा शिविर वारे जानकारी दिन सबैलाई आग्रह गरेका छन् ।