घोराही १४ मा डेंगु नियन्त्रण अभियान सुरु

दाङ, २५ भदौ  । घोराहीमा डेंगु रोग देखा परेपछि घोराही उप–महानगरपालिका वडा नं. १४ ले डेंगुरोग अभियान सुरु गरेको छ । घोराही १४ स्थित शुभप्रभात माविबाट अभियानको सुरु गरिएको हो । अभियानको वडा अध्यक्ष शक्तिराम डाँगीले औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो ।

अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घर वरपर रहेका खाल्डा खुल्डी पर्नुपर्ने,झुलभित्र सुत्नुपर्ने लगाएतका कुरामा ध्यान दिन विद्यार्थीलाई आग्रह गर्नुभयो । बालबालिका विद्यालय आउँदा अनिवार्य लामा बाउला भएको कपडा लगाउँन पनि सुझाव दिनुभयो । पछिलो समय दाङमा १५ जना डेंगुका बिरामी फेला परेका छन् । घोराही, तुलसीपुर बंबई गाउँपालिकामा गरी १५ जना विरामी फेला परेका हुन ।

घोराही उप–महानगरपालिका ७, तुलसीपुर ६ र बबईगाउँपालिकामा २ जना बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । विरामीहरुको घोराही स्थित गोर्खा दीपज्योति बुद्ध र तुलसीपुरमा राप्ती लाईफ कियर र तुलसी हस्पिटलमा उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग नियन्त्रण शाखाका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । दश बिरामी मध्य तीन जनालाई थप उपचारका काठमाडौ स्थित टेकु हस्पिटलमा पठाईएको उहाँले जानकारी दिनुभयो ।

डेंगुका बिरामी खुल्न नचाहने भएका कारण समस्या बल्झीदै गएको छ । डेंगुका कारण हाल सम्म एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । २०७२ मा दाङ र नेपालमै पहिलो पटक सन् २००४ मा चितवनमा यो रोग देखा परेको थियो ।