अपाङ्ग संघ दाङको अध्यक्षमा अधिकारी

घोराही, १ भदौ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाको शनिबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले शरद अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको सदस्यहरुमा भुमा चौधरी, समिरमणि गौतम, बसन्त भट्ट, चिन्तामणि पौडेल, शंभु गौतम, महेश रिजाल, रेश्मीराज पाण्डे, विवेक खड्का, निशान्त आचार्य, पम्फा नेपाली भगवती बुढाथोकी र सीता पौडेल हुनुहुन्छ । कार्यसमितिका निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था अनुसार श्रीमन न्यौपाने पनि सदस्यमा हुनुहुन्छ भने चार जना पछि मनोनित गर्ने व्यवस्था विभानमा रहेको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभयो ।

यस अघि भएको अधिवेशनको उद्घाटन प्रदेश सांसद अमरबहादुर डाँगीले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै सांसद अमरबहादुर डाँगीले अपाङ्ता भएकाहरुको हक अधिकारको कुरा संविधानमा सुनिश्चित भएकाले त्यसको रक्षाका लागि अपाङ्गता भएकाहरुले नै भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमा अपाङ्गता भएकाहरुको अधिकार सुनिश्चित गरिएको जानकारी गराउनुभयो । प्रदेश सरकारले अपाङ्ग पुनःस्थापना केन्द्र संचालनका लागि सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि त्यस्तो सहयोगलाई निरन्तरता दिइने कुरामा उहाँले जोड दिनुभयो ।

उहाँले अपाङ्ता भएकाहरुमा अथाह सम्भावना रहने भन्दै अपाङ्गता भएकाहरुलाई विभिन्न खालका सिपहरु प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले श्रमको उचित सम्मान गर्ने बातावरण बनेको खण्डमा मात्रै कुनै पनि मानिसले गर्ने कामप्रति मानिसको लगाव बढ्न सक्ने धारणा राख्नुभयो । अपाङ्गहरुको संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो भन्दै सरकारले सामाजिक संघ संस्थाका माध्यमबाट अपाङ्गताको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो । विगतमा अपाङ्गता प्रति रहेको दृष्टिकोणमा परिवर्तन आएको भन्दै अपाङ्गता भएकाहरु एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका महासचिव यज्ञप्रसाद उप्रेतीले अपाङ्गता भएकाहरुलाई पुनःस्थापना गर्नका लागि केन्द्रले योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले केन्द्रीय समिति शाखाहरुलाई अघि बढाउनका लागि जस्तोसुकै सहयोगका लागि तयार रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकाले आवश्यकता अनुसार सहयोग लिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल अपाङ्ग संघका केन्द्रीय सदस्य साम्देन लामा, जिल्ला शाखाका पूर्व अध्यक्ष भोलानाथ योगी, सल्लाहकार सुष्मा गिरी लगायतले बोल्नुभएको थियो । शाखा उपसभापति शरद अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव भुमा चौधरीले गर्नुभएको थियो ।

शाखाको बन्द सत्रमा सचिव भुमा चौधरीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपा वलीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । साधारण सभाले अपाङ्ग पुनःस्थापना केन्द्रलाई निरन्तरता दिने, अपाङ्ग पुनःस्थापना केन्द्रका लागि भवन निर्माण गर्ने, अपाङ्गता भएका व्यक्तिहरुका लागि आय मुलक कार्यक्रम संचालन गर्ने, सहायक सामग्रीहरु वितरण गर्ने, व्यवसायका लागि सहयोग गर्ने लगायतका प्रस्तावहरु पारित गरेको थियो ।