प्रदेश ५ का जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने

प्रदेश नम्बर ५ सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुले दोहोरो सुविधा लिन पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनको दफा नै संशोधन गरेर जनप्रतिनिधि हुनुअघि निवृत्तिभरण लिइरहेकाहरुले दोहोरो सुविधा लिन पाउने निर्णय गरेको हो ।

२८ जेठ २०७५ देखि कार्यान्वयनमा आएको ‘प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन’ को दफा ८ मा निवृत्तिभरण पाउनेको हकमा उपलब्ध सुविधा अन्तर्गत भनिएको थियो– ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारको सेवाबाट अवकाश लिई त्यस्तो सरकार वा तहबाट निवृत्तिभरण पाइरहेको कुनै व्यक्ति पदाधिकारी, सदस्य वा सभा सदस्य निर्वाचित भएमा त्यस्तो व्यक्तिले मासिक सुविधा वा निवृत्तिभरण मध्ये एक मात्र पाइनेछ ।’

तर, त्यसमा निवृत्तिभरण लिइरहेका जनप्रतिनिधिहरुले दोहोरो सुविधा नै पाउनुपर्ने भन्दै कानुन संशोधनको माग गर्दै आएका थिए । सोही माग बमोजिम मंगलबारको बैठकले जनप्रतिनिधिले दोहोरो सुविधा पाउने गरी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन संशोधन गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सीप विकास तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई १ भदौदेखि अवकास दिने दिने निर्णय गरेको छ । प्रदेश ५ अन्तर्गत बुटवल, दाङ र नेपालगञ्जमा केन्द्रमा कार्यालय रहेका छन् । केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियम अनुसार सुबिधा दिई अवकास दिइने मन्त्री चौधरीले बताए ।