तपाईहरु पुग्नै पर्ने घोराही उपमहानगरका १२ पर्यटकिय स्थलहरु

यी क्षेत्रले आन्तरिक तथा बाह््य पर्यटकको ध्यान खिचेको छ

घोराही वडा नम्वर ४मा रहेको सवारीकोट डाडाँ

रीता लामा
घोराही, २७ साउन । घोराही उपमहागरपालिकाका १९ वटा वडा मध्य १२ स्थानमा निकै चर्चित पर्यटकिय स्थलहरु रहेका छन् ।
अहिले नगरका धेरै ठाउँमा ताल तलैया र पोखरी बनेका छन् भने धार्मिक स्थल पनि उत्तिकै छन् । नगर वरिपरि रहेको पहाडी क्षेत्र पनि प्राकृतिक, वातावरणीय र हावापानीको हिसावले मनोरम क्षेत्रहरु छन् । जुन ठाउँ अहिले आन्तरिक पर्यटनको ध्यान तानेको छ । बजार क्षेत्रका वेफुर्सदिला मानिसहरु शनिवार, चाडपर्व वा विदा मिलाएर त्यस्ता ठाउँमा पुगेके घुमेको, पिननिकमा रमाएको दृष्य हिजोआज सामाजिक संजालमा पनि देख्न पाइन्छ ।


पहिले सानो सिमसार क्षेत्र रहेको वडा नम्वर १३को ज्यामिरे दह अहिले सबैको आर्कषणको केन्द्र बनेको छ । जंगलको बीचमा तालभरी पानी जम्मा भए पछि र वरिपरिको हरियालीले जो कोहीलाई लोभ्याउछ । अहिले त्यहाँ पुग्ने, डुङ्गामा बस्ने, तालको वरिपरि घुम्ने फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्देहरु दैनिक बढेका छन् ।

वडा नम्वर ४मा रहेको पहाडी क्षेत्र सवारीकोट पनि अहिले आन्तरिक पर्यटकको नजरमा परेको छ । शितल हावापानी, हरियाली पहाडको थाम्कोमा रहेको सवारीकोटबाट कुनै समय प्याराग्लाइडिङको सफल परिक्षण पनि गरिएको थियो । सवारीकोटमा निर्माण गरिएको मगर होम स्टेले त्यहाँ पुग्न जो कोहीलाई प्रेरित गर्छ ।

घोराही, ५मा रहेको पाण्डवेश्वर मन्दिर, धारापानी

पछिल्लो समय तिव्र रुपमा पुर्वाधारको निर्माणको काम गरिरहेको वडा नम्वर ५ धर्नाको धारापानी क्षेत्र पनि चर्चित क्षेत्र पर्यटकिय स्थल हो । ऐतिहासिक धार्मिक आस्थाको केन्द्र धारापानी पाण्डवेश्वर महादेव मन्दिरमा भक्तजन र अवलोकनको लागि दैनिक मानिसहरुको भीड हुन्छ । जसको कारण पछिल्लो समय यो क्षेत्र पनि नेपाल कै चर्चित गन्तव्यको रुपमा परिचित भैरहेको छ ।

धार्मिक र प्राकृतिक रुप मै सुन्दर बाह्रकुनेको बराह मन्दिर पनि जिल्लामा सबै भन्दा धेरै भक्तजन र पीननिकका लागि प्रसिद्ध गन्तव्य स्थल हो । जहाँ माघे संक्रातिमा भव्य मेला समेत लाग्ने गर्दछ । करिव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको बारकुनेमा पुस, माघ र फागुन महिना विशेष भक्तजनको घुइचो लाग्ने गर्दछ ।

बारकुने क्षेत्रमा रहेको दह


रामपुरको वडा नम्वर २मा रहेको चरिङ्गे दह पनि अहिले आन्तरिक पर्यटकको लागि एउटा अवलोकन स्थलको रुपमा रहेको छ । सिँचाईको लागि भन्दै स्थानियले पानी जम्मा गरेको ताललाई अहिले व्यवस्थित गरिएको छ भने त्यसलाई पिकनिक स्थलको रुपमा पनि विकास गरिएको छ ।

ऐतिहासिक, राजनीतिक र धार्मिक आस्थाको कन्द्र गोरक्ष रत्ननाथ मन्दिर पनि घोराहीको एउटा चर्चित धार्मिक पर्यटकिय स्थल हो ।
वडा नम्वर १४मा रहेको लखनपार्क पनि भेटघाट घुमघामको लागि राम्रा ठाउँ बनेको छ । प्रदेश, स्थानिय र वडा सरकारले समेत त्यसको विकासको लागि २०७६÷७७मा बजेट विनियोजन गरेका छन् ।

वडा नम्वर १४ले ंंसमेत पार्क व्यवस्थित, आर्कषक बनाउने प्रयास स्वरुप बजेट विनियोजन गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । उनले लखन पार्कलाई पहिले भन्दा पनि धेरै राम्रो बनाउनको लागि आफुहरुले प्रयास गरेको बताए । साथै आएको बजेको पनि पुर्ण उपयोग गरिने उनको भनाई छ ।

घोराही १८मा रहेको अम्विकेश्वरी मन्दिर पनि धार्मिक पर्यटकिय स्थल हो । हरेक चाड पर्वमा त्यहाँ भक्तजनको घुइचो लाग्ने गर्दछ । भने पुजाआजा गर्नेहरु पनि उत्तिकै हुन्छन् ।

गोरक्षरत्ननाथ मन्दिर चौघेरा

पुर्ननिर्माणको चरणमा अम्विकेश्वरी मन्दिर

पछिल्लो समय वडा नम्वर १७ गुुलरियामा रहेको नेत्रलाल पार्क, वडा नम्वर १७मा रहेको थारु संग्राहलय पनि भेटघाट अवलोकनको लागि चर्चित हुदै गएको छ । यस्तै सिस्नेखोलाको पालुथान, पहाडको थाम्कोमा पर्ने घोरदौरा पनि घुमघाम, पिकनिक, मनोरञ्जन गर्ने थलो बनेका छन् । पछिल्लो समय उपमहानगरले बनाएका ताल तलैया पनि राम्रो पर्यटकिय स्थ बनेका छन् । केही समय अगाडी तयार भएको चेपे दहमा हेर्न जानको घुइचो नै लागेको छ ।

वडा नम्वर १४मा रहेको लखन पार्क

थारु संग्राहलय, पनौरा

उपमहानगरले आर्थिक बर्ष २०७६÷७७मा पर्यटन प्रवर्धनको लागि विभिन्न कार्यक्रम समेत अगाडी सारेको छ । जसमा पर्यटकिय क्षेत्रको प्रचारप्रसारको लागि पर्यटन सुचना केन्द्र स्थापना गर्ने, पर्यटन उद्योगलाई आय आर्जन र रोजगारीसँग जोड्ने, पर्यटकिय क्षेत्रलाई वातावरण मैत्रि बनाउनको लागि सिमसार क्षेत्रको संरक्षण गर्ने जस्ता कार्यक्रम रहेका छन् । यस्तै कृतिम जलायस निर्माण गर्ने, जैविक विविधताको अध्यययन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

जसका लागि उपमहानगरपालिकाले पर्यटकिय क्षेत्रको पहिचान, संरक्षण, प्रवद्र्धन एवम् विकासका लागि चालु आर्थिक बर्षमा ७७ लाख रुपैँया विनियोजन गरेको छ । भने प्रदेश सरकारबाट पनि अम्विकेश्वरी, धारापानी, ज्यामिरे लगायतको क्षेत्रको विकासको लागि प्रति क्षेत्र दुई करोड रुपैँया विनियोजन भएका छन् । वडाहरुले पनि आफ्नो क्षेत्रको पर्यटकिय क्षेत्रको प्रर्वधनको लागि काम गरिरहेका छन् ।