कथा – एम्बुलेन्स

दिपक जिएम

जे देख्छौ हामी र जून कुरा महसुस गर्छौ, सायद् नै त्यसलाई निरन्तरता दिएका पनि हुँदैनांै हामीले । दिनरातको भागदौड अनि संघर्षशील यो जिन्दगी त्यस माथि फरक–फरक सोचाइहरु । मानव जीवनका अति प्रज्ज्वनशील संघर्ष र अनभिज्ञ यात्राहरु जसमा आफूलाई धकेलिन बाध्य भएका अधुरा सपनाहरु ।
मनमा कति कुरा खेलाउनु र टटोल्नु, किन यो जीवन मलाई अधुरो अपुरो लाग्दैछ । सायद् मैले जीवनका तीता मिठा यादहरुलाई अँगाल्न सकिरहेको छैन र खै कुन मोडमा गएर टुंगिने हो यो अनभिज्ञ यात्रा अनि गन्तव्यहिनका सपनाहरु…। जीवन भोगाइमा धेरै कुराहरु सिकियो र भोगियो पनि, खै बुझेको जस्तो त लाग्दैन । तर, पनि अनुभव बटुलेर होला मनमा काउकुती भने लगिरहेको हुन्छ र तिम्रो स्पर्श अनि स्पन्दन जसलाई म सहर्ष आफूमा महसुस गरिरहेको हुन्छु । यस्ता कुराहरु सोच्दै रीमन स्कूल पुग्छ र रीमन स्कूलमा अध्यापकहरुको लोकप्रिय थियो र दसको परीक्षाफल हेर्न स्कूल पुगेको थियो । आफू फष्ट डिविजनमा पास भएको र सञ्जु पनि पास भएको थाहा पाउँछ अनि खुसी हुँदै घरतिर लाग्छ । सञ्जुसँग प्रेम सम्बन्ध बाँधिएको पनि २ वर्ष भइसक्यो । तर, पनि उनीहरू बीच प्रेम झन्–झन् गाडा हँुदै गइरहेको थियो ।
उनीहरूको एक अर्काप्रतिको चाहना लगाव अनौठो किसिमको थियो । कुनै समयमा सञ्जुले रीमनलाई पटक्कै मन पराउँदैन थिन् । तर, समयसँगसँगै रीमनप्रतिको शिष्टता, मिठो बोली अनि इमन्दारिताले सञ्जुलाई रीमनतिर आकर्षित तुल्याएको थियो । रीमन घर पुग्छ अनि पास भएको खबर बाआमालाई सुनाउँछ । सबैजना हर्षित हुन्छन् । हत्त न पत्त रीमनले सञ्जुको घरमा फोन हान्छ, ‘उताबाट सञ्जु ले हेलो भन्छिन्, अनि रीमनले उनी पास भएको भनेर जानकारी गराउँछ । सञ्जुको खुसीको सीमा हँुदैन अनि एक छिनपछि भेटौला भनेर फोन राख्छिन् । केही समयपछि उनीहरूको भेट नजिकैमा रहेको मन्दिर पछाडि हुन्छ, सञ्जु ले शायद म अब पढ्न सहर जान्छु होला किनकि घरमा आमा बाबाले पढ्न सहर जानुपर्छ नानी भन्नुभएको छ । तर, मलाई जान नै मन छैन रीमन, म के गरुँ भन न भन्दै प्रश्न गर्छिन् ।
तर, रीमन भने मौन भएर बसिरहेको हुन्छ अनि सञ्जुले के भयो बोल न रीमन किन चुप छांै तिमी भन्दै झर्किन्छिन..। तर, मन्द मुस्कान लिँदै रीमन आकाशतिर हेर्दै भन्छ, ‘आहा हेर न सञ्जु ती चराहरु कति आनन्दले आकाशमा उडिरहेका छन् । सायद् अर्को देश जाँदै छन् होला हे..।’ सञ्जु के तिमी पनि मलाई यसरी नै छोडेर अर्को नौलो ठाउँ मा जाँदैछौ । किन तिमीले मेरो बारेमा केही नसोची यति ठूलो निर्णय लियौं । सञ्जु भने एकटकसँग रीमनको आँखामा हेरिरहेकी हुन्छिन् । ‘मलाई कति माया गर्छौ, रीमन प्लीज भन न ?’ भनेर प्रश्न गर्छिन् । मलाई भन्दा पनि आफैलाई सोध सञ्जु । किनकी मायाको वास्तविकताको गहिराई मैले तिमीबाट नै सिकेको हुँ र माया कति गर्छु सायद् तिमीले कल्पना पनि गर्न सक्दैनौं र मेरो मायाको गहिराई नाप्न पनि सायद् असम्भव नै होला तिमीलाई सञ्जु । मैले मेरो जीवनको अन्तिम सास पनि तिम्रै नाम गरिदिएको छु । त्यसैले सञ्जु मलाई छिटोभन्दा छिटो तिम्रो हुनु छ र तिमीसँगको हरेक पलहरुलाई मुल्यवान बनाउनु छ । मात्र तिमी अनि तिम्रा भावुकताको कदर म आफू भन्दा पनि बढी गर्न चाहन्छु । यस्ता कारुणीक शब्द सुनेर सञ्जुका आँखा रसाउँछन् । तर, उनको मुखबाट बोली भने फुटिरहेको हुँदैन । रिमनले एक्कासी सञ्जुलाई अंगालो हाल्छ । र एकछिन उनीहरु एक अर्काको अंगालोमा हराउन बाँध्य हुन्छ । केही समयपछि उनीहरु छुट्टिन्छन् ।
आखिर त्यो दिन पनि आयो । सञ्जुलाई सहर जानु नै पर्ने भयो । बाबा आमाको अगाडि सञ्जुको केही लागेन । रुँदारुँदा सञ्जुका आँखा सुन्निएका हुन्छन् । रीमन भने एक कुनाबाट सञ्जु चढेको गाडीलाई टोलाइरहेको हुन्छ । गरोस् पनि के । उसको हातमा के नै थियो र । झ्यालबाट सञ्जुले हात हल्लाउँदै बिदा हुन्छिन् । अनि मन भारी गराउँदै रुदै रिमन पनि घरतिर फर्किन्छ । समय बित्दै गयो । सहर गएदेखि रीमनसँग सञ्जु सम्पर्कविहीन भइन् । यता रिमन आत्तिएर सञ्जुलाई बारम्बार पत्र पठाइरह्यो । तर, सञ्जुबाट कुनै जवाफ नआएपछि रीमन साह्रै दुःखी र चिन्तित भयो । यसरी समयको चालसँँँगै तिन वर्षपनि वित्यो । सञ्जु आफ्नो पढाइ सिध्याएर गाउँ फर्किइन् । रीमनले सञ्जु आएको खबरले खुसी हुन्छ । अनि भेट्न भनि घरबाट निस्किन्छ । ऊ अलि पर पुगेको मात्र के हुन्छ कि सन्जुलाई आइरहेको देख्छ । रिमनको आँखा खुसीले गर्दा रसाउन बाध्य हुन्छन् । एकटकसँग रीमन सञ्जुलाई हेरिरहन्छ । तर, सञ्जुले रीमनलाई नदेखे झै गरी अघि बढ्छिन् । रीमन उदास मन लिएर फर्कन बाध्य हुन्छ । अनि मनमनै कति निर्दयी सञ्जु तिमी भन्दै उनी गएतिर हेरिरहन्छ ।
रीमन सधैँ सञ्जुको घर नजिकै गई उनलाई हेरिरहन्थ्यो । र एकदिन त सञ्जुको मन कसो नफर्केला भनेर एउटा आशाको दियो मनमा बालेको थियो । नयाँ वर्ष लाग्दै थियो । सञ्जुले बजारमा किनमेल गरेको देखेर रीमन सञ्जुको नजिक जान्छ र हेलो ! सञ्जु भन्दै सम्बोधन गर्छ । सञ्जुले पनि के छ रीमन र कस्तो छ तिमीलाई भनेर सोध्छे । खुसीले रीमन अतालिन्छ । र हतार हतार उनीसँग मनमा लागेका कुराहरु गर्न थाल्छ । सन्जुपनि मजाले बोल्न थाल्छिन् र यसरी गफ गर्दागर्दै उनीहरु घर पुगेको पत्तै पाउँदैनन् । भोलिपल्ट रीमन सञ्जुको घर पुग्छ जहाँ मान्छेहरुको घुुइचो देख्छ । के रहेछ भनेर बुझ्न खोज्दा सञ्जुको इन्गेजमेन्ट हुन लागेको कुरा सुन्छ । रीमन अचम्म मान्दै सञ्जुलाई भेट्न उनको कोठामा पुग्छ । जहाँ उनी सिंगारिदै थिइन् । रीमनलाई यसरी एक्कासी आफ्नो अगाडि देखेर के भयो भनेर सोध्छिन् । यो सब के हुँदै छ । बाहिर के को भिड हो सञ्जु । अनि मैले सुनेको तिम्रो इन्गेजमेन्ट हुँदै छ रे । अनि मसँगको माया के हो त ? उसको कुरा भुइँमा खस्न नपाउँदै, हो मेरो इन्गेजमेन्ट हुँदैछ र छिटै नै म विहे गर्दै छु । मसँग बिहे गर्ने केटा डाक्टर हो । ……. तिमीसँग के नै छ र ? अनि तिम्रो औकात के नै छ ? मायाले मात्र पुग्दैन रीमन बाँच्नलाई पैसा चाहिन्छ पैसा । तिमीसँग न त पैसा छ न त जागिर नै । तिमीसँग म कसरी आफ्नो जीवन बिताउन सक्छु र । भनेर ठाँडो जवाफ दिन्छिन् ।
रीमन अक्क न बक्क हुन्छ र चुपचाप घरतिर फर्कन्छ । मनमा अनेकांै कुराहरु खेलाउँदै रीमन गहभरि आँसु ल्याउँछ । समयसँगै सञ्जुको विवाहको अघिल्लो दिन रीमन सञ्जुसामु धेरैबेर रुन्छ र सञ्जुसँग भन्दै थियो कि सञ्जु तिमीविना मेरो जीवन कसरी कट्ला । म तिमीविना अधुरो छु । प्लीज मलाई छोडेर नजाऊ । यसरी रीसमको अन्तरआत्माबाट निस्किएका कारुणीक सुस्केराहरुको वेवास्ता गरी सन्जुले नव दाम्पत्यको सुरुवात गरी सहर पस्छिन् । यता रीमनको हालत हेर्ने जस्तो थिएन । खान पिउन छोडीसकेको थियो । रीमनले रुदा रुदा उसका आँसुका दानापनि सुकिसकेका थिए । दुई वर्षपछि सन्जु गाउँ फकिन्छिन् । माइत बस्नका निम्ति सधैका लागि किनकी उनीबाट कुनै सन्तान नभएपछि उनको श्रीमानले अर्को श्रीमती भित्र्याएर सन्जुलाई घरबाट निकालिदिएका थिए । बाटोमा भिडले गर्दा गाडीहरु रोकिएका थिए । बाटोमा गाडीले एकजनालाई ठक्कर दिइ गाडी छोडेर चालक भागेको रहेछ । के रहेछ भनेर सन्जु गाडीबाट ओर्लन्छिन् र भिडलाई चिर्दै घटनास्थलमा पुग्छिन् । जहाँ रगतमा लडबडिएको लास देख्छिन् । को रहेछ भनेर नजिकबाट नियाल्दा उनी झसंग हुन्छिन् । किनकी त्यो मरेको मान्छे अरु कोही नभएर रिमन नै थियो । सन्जुका आखाबाट आँसुको वर्षा हुन थाल्छ ।
र उनी भक्कानो फुटाएर रुन्छिन् । अनि मनमनै रिमनसंग माफी माग्छिन् । तर समय बितेपछि कसको के लाग्छ र । पश्चातापका ज्वारभाटाहरु उर्लिरहेको थियो उनको मनमा नयनबाट बगिरहेका एकएक आँसुका थोपाहरु रिमनप्रति समर्पित थिए भने मनमनै आफुलाई धिक्कारीरहेकी थिइन् । केही क्षणमा एम्बुलेन्स आउँछ र लासलाई गाडीमा हाल्छ । सन्जुपनि बसमा गई बस्छिन् । घरीघरी मनका बेदनाहरुले छट्पटाईरहेकी सन्जुले अतितमा रिमनसंग खाएको कसमहरु संगै जिउने संगै मर्ने र देउराली भाकेका वाचाहरु सम्झिन्छिन् । एक्कासी गाडी गुड्छ । सन्जु संसारको सोचाईबाट बाहिर निस्किन्छिन् । रिमनको लास बोकेको एम्बुलेन्स तिर हेर्छिन् । र एक्कासी चिच्याउछिन्…‘रिमन’ भनेर तर अफसोच एम्बुलेन्स उनको नजरदेखि धेरै टाढा गइसकेको हुन्छ ।