घोराहीमा पनि कपडा बैंक

नवीन अभिलाषी
दाङ, साउन २३ । दाङको घोराहीमा पनि कपडा बैंक स्थापना गरिएको छ । गरिव, असहाय तथा विपन्न ब्यक्तिहरुको लागि आवस्यक पर्ने लत्ता कपडा तथा जुत्ता चप्पल निःशुल्क रुपमा वितरण गर्नका लागि कपडा बैंक स्थापना गरिएको हो । घरमा रहेका पुराना, राम्रा र लगाउन मिल्ने कपडाहरु त्यहाँ जम्मा गर्ने र विपन्न परिवारलाई वितरण गर्ने गरी पछिल्लो पटक देशका विभिन्न स्थानमा यो काम सुरु गरिएको छ ।

त्यसैक्रममा सामाजिक सञ्जाल फेसबुकको दारीबाको कटेज हाम्रो अड्डा नामक ग्रुपले घोराहीको तुलसीपुर चौकमा कपडा बैंक स्थापना गरेको हो । फेसबुक ग्रपमा रहेका युवाहरुले विभिन्न ब्यक्तिहरुको सौजन्यमा कपडा बैंकको स्थापना गरेको बताएका छन् । कपडा बैंकको घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे र विशिष्ठ आतिथी पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले घरका दराजहरुमा त्यतिकै थन्किाएर राखिएका राम्रा कपडाहरु बैंकमा राख्दा गरिव तथा विपन्न परिवारका लागि ठुलो राहत हुने बताउनुभयो । कपडा बैंकलाई जिल्लाका अन्य स्थानमा पनि विस्तार गर्न उहाँले सुझाव दिनुभएको छ । त्यसको लागि सबैको पहल हुनुपर्ने बताउनुभयो ।

एमएसअटो सुजुकी, ट्रष्ट सप्लायर्स, गोल्ड स्टार शोरुम, दियान फोटो स्टुडियो, युवराज पाण्डे, विनय ग्रिल एण्ड आल्मुनियम, निरज श्रेष्ठ र संजोक श्रेष्ठको विशेष सहयोगमा कपडा बैंक स्थापना भएको हो । यसअगाडी दाङको तुलसीपुरमा समेत कपडा बैंक स्थापना भैसकेको छ ।