धर्मविज्ञानमा नागपञ्चमी : जान्नुहोस् अर्थ र महत्व

पौराणिक कालदेखि नै मानव जातिको पशुपंक्षीसित घनिष्ट सम्बन्ध रहदैं आएको छ। उड्ने पंक्षीहरुदेखि लिएर हिंडने, घ्रि्रने(सरीसृप) जीवहरुसँग हाम्रो अन्तरसम्बन्ध निकै नै छ। हजारौं जंगली जनावरहरुमध्ये केही घरपालुवा (कुखुरा, परेवा, हात्ती, घोडा, कुकुर आदि) बनिसकेका छन्। यतिसम्म कि हिंस्रक जनावरहरुलाई पनि आफ्नो अधीनमा राखेर मान्छेले फाइदा लिइरहेका छन्। कतिपय जीवहरुलाई चिडियाखानामा राखेर, केहीलाई घरमै पालेर पनि आफ्नो सोख मेटाएका छन्। आफ्नो बुद्धिमताको कारण हात्तीजस्तो भीमकाय शरीर भएकालाई पनि वशमा राखेर मानव जाति मनोरञ्जनमा रमाइ रहेको छ। चाहे जल-स्थलमा बस्ने गोहीका कुरा गरौं या सर्पका। यसबाट विभिन्न प्रकारले फाइदा लिइराखिएको कयौं उदाहरणहरु पाइन्छन्। सर्प तीमध्ये एक हो।

विश्वमा पाइने धेरै प्रकारका जीवलगायत सर्प पनि मानव जातिकै नियन्त्रणमा छ। शरद ऋतुमा कुकुर, काग, गाईजस्ता यी प्राणीहरुको महिमा बेग्लै छ। त्यसरी नै सर्पलाई पनि सनातन धर्माबलम्बीहरुले उत्तिकै महत्व दिएका छन्। तिहार पर्वमा नाम जोडिएजस्तै सर्प (नाग) पनि यस्तै चार्डपर्वसित सम्बद्ध छ।

अन्य जीवभन्दा सर्पको शरीर फरक खालको छ। मांसाहारी अन्तर्गत पर्ने यो जीवका शरीर लठ्ठाकारका हुन्छन्। सामान्यतः यिनीहरुको शरीर एक मिटरसम्मको हुन्छ। तर अजिंगर भने धेरै लामो हुन्छ। विश्वमा करीब ९ सय प्रजातिका सर्पको अभिलेख राखिएको छ। यसमध्ये ७ सय ५० प्रजातिका सर्प विषालु मानिएका छन्। सर्प सामाजिक, धार्मिक र साँस्कृतिक रुपमा विभिन्न पक्षसित जोडिएको छ। सबै प्रकार मानव जाति एकै प्रकार हुँदैनन्। कोही सन्तमहन्त, कोही दानवीय स्वभाव, कोही दयालु प्रकृतिका मानव हुन्छन् भनेझैं सर्पहरु पनि त्यस्तै हुन्छन्। यिनीहरुको स्वभाव लज्जालु प्रकृतिको हुन्छ। एकाथरी सर्प यस्ता छन्, जसलाई नाग भनेर सम्बोधन गरिन्छ र यिनीहरुलाई श्रावण शुक्ल पञ्चमीमा पूजा गरिन्छ। यसै दिनलाई नागपञ्चमी भनिन्छ। नाग जीव हो भने पञ्चमी चन्द्रमाको कला। चन्द्रमाले पृथ्वीलाई फन्को मार्ने क्रममा केही अंशमात्र  हँसियाकारमा चन्द्रमा देखापर्दछ। यो खगोल विज्ञान हो।

वर्ष दिनको एकपटक घरघरमा नागको चित्र टाँसेर होस् या नागअंकित शीलामा पूजाआजा गरेर होस् नागपञ्चमी मनाइने गरिन्छ। कलश, दही, दूबो, कुश, सिन्दूर, ध्वजा, गन्धादिले मूलद्वारमा नागको पूजाअर्चना गरिन्छ। चित्रमा ८ प्रकारको एकापसमा बटारिएका अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा हुन्छ। धार्मिक मत अनुसार ढोकामा चित्र टाँस्दा सर्पको भय नहुने, चट्याङ्ग नपर्ने र बाढीपहिरो जाँदैन भन्ने विश्वास छ।

प्राचीनकालमा नागनागिनी यक्ष (धनको रक्षा गर्ने देवता), गर्न्धव (गानबजान गर्ने व्यक्ति), किन्नर ( सुन्दर आकृति भएका व्यक्ति ) को चर्चा हुने गर्दथ्यो। महाभारत, पुराण, स्वस्थानीजस्ता धार्मिक ग्रन्थमा पनि यिनीहरुको छुट्टाछुट्टै भूमिका भएको बताइएको छ। नागपञ्चमी, शिवरात्रि, अक्षयतृतीया, तीज आदि चार्डपर्व यही परम्परागत नियमका धार्मिक संस्कार हुन्। चार्डपर्वले अध्यात्मिक शरीरको वृद्धि र विकास गर्न सहयोग पुर्‍याउँछ। पञ्चमी तिथिमा नागको पूजाआजा गरिने भएकोले नागपञ्चमी भनिएको हो। नाग शब्दले धेरै अर्थ बुझाउँछ। माथिल्लो अंग महिला र तल्लो अंग नागको शरीर भएकोलाई धर्मशास्त्रमा नागनागिनी भनिन्छ। संस्कृत-नेपाली शब्दकोशमा उल्लेख गरिए अनुसार मूगाझैं रातो वा हल्का बदामी रंगको शरीर, कालो टाउको, एक आँखादेखि अर्को आँखासम्म सेतो धर्को हुने अति विषालु सर्प हो। यी गोमन, राजगोमन, करेत भन्दा पनि अति विषालु हुन्छन्। तर यिनीहरुलाई कुल्चदा पनि झट्ट टोक्दैनन्। नाग शब्द विभिन्न वनस्पतिमा उपसर्गका रुपमा जोडिएको पाइन्छ, जस्तो कि नागकन्द (तरुल), नागकुमारिका (गुजो, मजिठो), नागकेशर (नायसर), नागदन्ती (कुकुरडाहिनो, तीतेपाती), नागफल -परवल)।

इन्द्रियहरुद्वारा पनि जान्ने बुझ्न नसकिने, ब्रमाण्डका उत्पत्ति र लयकर्ता, सबैका अभिभावक इश्वर हो। इश्वर समष्टि र व्याष्टिरुपमा छ, व्यक्त र अव्यक्त स्वरुपमा छ। ऊ सर्वशक्तिमान सबैलाई जान्ने, जगतकै मालिक हो। हरेक धर्म सम्प्रदायका मानिसले आआाफ्नै मान्यता अनुसारर्र् इश्वरको पूजा, उपासना र ध्यान गर्दछन्र्। इश्वरको आराधना, पूजाकर्म र सनातन संस्कार पूरा शरीरसित सम्बद्ध छ। बिहानबेलुकी गरिने कर्महरु बिहानै उठ्नु, प्रातःस्नान गर्नु, ध्वनि निकालेर आराधाना गर्नु वा प्रार्थना गर्नु, शंखघण्टा बजाउनु, धूपदीप बालेर सुगन्धित बनाउनु यी सबै स्वस्थ्य रहने उपाय हुन्। नाग पूजा पनि पूरापूर विज्ञानमा आधारित छ।

सर्प अर्थात् नाग खानेपानीका मुहान जस्तैः कुवा, पँधेरो, धारो, इनार आदिमा तथा जलयुक्त धापिलो, ओसिलो, रसिलो स्थानमा (सीमसार) देखिन्छन्। पूजा यिनै ठाउँमा गरिन्छ, जहाँ यिनीहरुको वासस्थान हो। पूजा गर्नु मन प्रसन्न पार्नु एक पक्ष हो भने सरसफाई आरोग्य, अनुशासन र दार्शनिकता अर्को पक्ष हो। नागस्थानमा फोहोर गर्नु हुन्न, दिसापिसाब गर्नु हुन्न, पाप लाग्छ भन्नुको अर्थ रोग लाग्छ भनिएको हो। खानेपानीका मुहानहरु सधैँ सफा रहनु आवश्यक छ। यी पानीका स्रोत प्रदूषित भएमा महामारी फैलन सक्ने खतरा हुन्छ। त्यसरी नै नागस्थान वरपर रुखहरु पनि काट्न हुन्न भन्नुको अर्थ वनजंगल जोगाउने, पानीका स्रोत सदाबहार राख्ने उपाय पनि हुन्। यसैले पनि हाम्रा ऋषिमुनिहरुले परापूर्वकालदेखि नै नागपूजाको प्रचलन चलाएका हुन्। जति पनि रुखबिरुवाका पूजाका प्रसंग छन्, यी सबै पर्यावरणीय संरक्षणसित जोडिएका छन्। रुख पानी अड्याउने प्रमुख स्रोत हो। खेत, जंगल, चिसो भूमि, तालतलैया, पोखरी चट्टान, खाली जमीन, निर्माणाधीन भवन आदि स्थानमा सर्पहरु बस्ने गर्दछन्। यिनीहरु दुलोमा बसे पनि आफूले दुलो भने बनाउँदैनन्। सर्पको शारीरिक तापक्रम मानिसको जस्तो जाडो या गर्मी क्षेत्र जहाँ रहे पनि बराबर रहने खालको हुँदैन। वर्षायाम सर्पको लागि उपयुक्त समय हो किनकि यस समयमा किरा, भ्यागुताजस्ता खानेकुरा प्रशस्त मात्रामा पाउँदछन्।

ज्योतिषविज्ञानमा पनि नाग शब्द निकै प्रयोग भएको पाइन्छ। पञ्चाङ्गको एक अंग करण हो। नाग करणमा जन्मेको व्यक्ति दुष्ट स्वभाव, कुलद्रोही हुन्छ। त्यसरी नै प्रत्येक वर्ष १२ वटा नागमध्ये एउटाको पालो परेको हुन्छ। कुन वर्ष कति मात्रामा वर्षा हुन्छ भन्ने कुरा कुन नागको पालो परेको त्यसको आधारमा हुन्छ। गृह निर्माण गर्दा नागको शिर हेरेर जग खन्ने काम हुन्छ। जग खन्दा नागको शिरमा पारेर खन्नु हुँदैन्। भदौ, असोज, कार्तिकमा पूर्व, मंसिर, पुस, माघमा दक्षिण, फागुन, चैत र वैशाखमा पश्चिम र जेठ, असार, श्रावणमा नागको शीर उत्तर दिशामा रहन्छ। त्यसरी नै नागपञ्चमी साउनमा पर्ने भएको नागको पूजा गर्दा उत्तरतर्फ फर्केर गर्नुपर्ने धर्मशास्त्रले बताएको छ। कालसर्प योग परेका व्यक्तिले नागको लकेट धारण गर्ने र नागपञ्चमीको दिनमा नागपूजा गर्ने परम्परा पनि रहेको छ। शास्त्रअनुसार श्रावण महिनामा शिवको पूजा आराधना र सोमबारको व्रतको महत्व छ। यसबाट धर्म, अर्थ, काम र मोक्ष पाइने मान्यता छ। कर्कट राशिको सूर्य भएका बेला श्रावण शुक्ल तृतीया र सोमबार परेमा त्रिवेणी योग हुन्छ। यस अवस्थामा शिवपूजन, रुद्री आदि गरेमा गौरीशंकर प्रसन्न हुन्छन् भन्ने कुरा पञ्चाङ्गमा उल्लेख छ।

सर्प पर्यावरणका एक अभिन्न अंग हुन्। पर्यावरणविद् गिबोसले भनेका छन्, सर्पहरु स्वच्छ वातावरणका प्रतीक हुन्। यिनीहरु स्वयम् इकोसिस्टमका महत्त्वपूर्ण पूरक तत्त्व हुन्। खाद्यशृंखला अन्तर्गत यिनीहरु एक अर्काका शिकारी र आहारा दुवै हुन्, जस्तो कि मूसाहरुलाई सर्पहरुले खाइदिन्छन् र यिनीहरुलाई बाज, न्याउरीमूसा, गरुड आदिले खाइ दिन्छन्।’ हाम्रा धानखेतमा धान खाएर नोक्सान गरिदिने मूसा र किरा नियन्त्रणमा सर्पको भूमिका प्रभावकारी छ। यी खाद्य शृंखलाका एक सदस्य हुन्। सर्पबाट मूसा र किरा नियन्त्रण गर्ने विधि सजिलो, भरपदो, कम खर्चिलो र प्राकृतिक उपाय पनि हो। उब्जनी बढाउन सर्प खेतबारीमा हुनु आवश्यक हुन्छ। यसको लोप भएमा मूसा, छेपाराजस्ता जीवहरुको संख्यात्मक रुपले वृद्धिहुछ , साथसाथै सर्पमा निर्भर रहने पंक्षीहरुको संख्या घट्न जान्छ। अन्तमा खाद्य शृंखलामा गभ्भीर रुपले असर पर्न जान्छ। तसर्थ वातारणीय अवस्था सन्तुलन राख्न सर्पको ठूलो भूमिका रहदैं आएको छ। त्यसकारण भन्न सकिन्छ : नागपञ्चमी पर्यावरणीय विज्ञानसित जोडिएको छ।