दाङको लमहीमा डायलासिस सेन्टर संचालन हुने

दाङ र प्यूठान जिल्लाका मृगौलाका बिरामीलाई डायलासिस सेवा लिन बुटवल, भैरहवा, नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लमहीमै डायलासिस सेवा संचालन गर्ने भएको हो।

Blog Post Ad

Blog Post Ad

विगत १ वर्षअगाडि लमहीमै डायलासिस सेवा सुरु गर्ने घोषणा गरेको बुटवल गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले स्थान अभावको कारण सेवा सुरु गर्न सकेको थिएन। लमही नगरपालिका वडा नं.५ को रातो डाँडामा लमही नगर बिकास समितिले डायलासिस सेन्टर संचालनका लागि भवन उपलब्ध गराउने भएपछि सेवा संचालन हुने पक्का भएको हो।

डायलासिस सेन्टर संचालनको लागि लमही नगर विकास समिति र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बीचमा सम्झौता समेत भएको छ।

सम्झौतापत्रमा लमही नगर बिकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी., लमही नगर विकास समितिका सदस्य सचिव गेहेन्द्र बहादुर डाँगी र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम र सचिव दिनेशराज रेग्मीले हस्ताक्षर गरे।

पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधि दुवै पक्षको सहमति र आवश्यकता अनुसार थपघट गर्न सकिने छ। दाङ लगायत आसपासको क्षेत्रमा मृगौलाका विरामीहरुको संख्या उच्च रहेको र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको डायलासिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै लमहीमा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको सहयोगमा सेवा संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए।

उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेसिन जडान गरी बिरामीहरुको डायलासिस सेवा सुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने छ। मेसिनहरु खरिद भइसकेकोले केही दिन भित्रै सेवा प्रदान गरिने अध्यक्ष आलमले बताए।

 

 

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *